|

हेटौंडाः यसै साताबाट सुरु हुने दोस्रो भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ मा दश टोली सहभागी हुने भएको छ। 

प्रतियोगितामा आयोजक, एक विदेशी र आठवटा नेपालका चर्चित ‘ए’ डिभिजन क्लबको सहभागिता रहने भएको हो। प्रतियोगितामा आयोजक, दाफिन्स र थ्रीस्टार, आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, मच्छिन्द्र, हिमालयन शेर्पा, सरस्वती र च्यासल युथ क्लब सहभागी हुने भएको हो। चैत ७ गतेबाट १६ गतेसम्म हेटौंडा–१० स्थित वनविज्ञान मैदानमा हुने प्रतियोगिताको खेल तालिका समेत आयोजक मकवानपुर जिल्ला फुटबल संघले सार्वजनिक गरेको छ। प्रतियोगिताको उद्घाटन खेल आयोजक र मच्छिन्द्र क्लबबीच हुने आयोजकले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। 

प्रतियोगिताका विजेता तथा उपविजेताले नगद क्रमशः आठलाख रुपैयाँर चारलाख रुपैयाँप्राप्त गर्नेछ। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार रुपैयाँर विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही २०/२० हजार रुपियाँको व्यवस्था गरिएको आयोजक समितिका अध्यक्ष टीकाराम लामाले जानकारी दिए। प्रतियोगितामा करिब ८५ लाख खर्च अनुमान गरिएको छ। 

प्रतियोगिता संयोजक प्रताप विष्टका अनुसार प्रतियोगिताका लागि भूगर्भ सिमेन्टले मुख्य प्रायोजन गरेको छ। हेटौंडा उपमहानगरपालिकाले प्रतियोगिताका लागि आठलाख रुपैयाँ सहयोग गरेको पत्रकार सम्मेलनमा बताइएको छ। प्रतियोगिताका लागि मकवानपुरका स्थानीय निकाय थाहानगरपालिकासहित आठवटा गाउँपालिकाले समेत नगद सहयोग उपलब्ध गराएका छन्। २०६४ सालमा आयोजना गरिएको शहीद स्मृति राष्ट्रिय खेलकुद प्रतियोगितालाई निरन्तरता दिनका लागि यसवर्षबाट प्रतियोगितालाई अगाडि बढाइएको हो । उक्त समयमा थ्रीस्टार क्लबले उपाधि जितेको थियो। 

हेटौंडामा प्रत्येक वर्ष आयोजना भइरहेको सुमन भोम्जन स्मृति हेटौंडा गोल्डकप प्रतियोगिता यसवर्ष प्राविधिक कारण नहुने भएसँगै फुटबल संघले यस प्रतियोगिता गरेको हो। प्रतियोगिताका लागि मैदानको स्तरोन्नति र अस्थायी प्याराफिट बनाउने काम भइरहेको संयोजक विष्टले जानकारी दिए। उनका अनुसार फलाम र बाँसको प्याराफिटमा बसेर दैनिक पाँचहजार जनाले खेलको अवलोकन गर्न सक्नेछ। ‘प्रतियोगिताको तयारी लगभग सकिएको छ।

अब प्रतियोगितामा सहभागी हुन आउने टोलीको स्वागत गर्न मात्रै बाँकी रहेको छ। हामीले प्रतियोगितालाई भव्यरुपमा सञ्चालन गर्नका लागि विभिन्न उपसमिति समेत बनाएर अगाडि बढिरहेका छौं।’ उनले भने । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.