|

कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका १३ की बालिका निर्मला पन्तको हत्या प्रकरणमा बरर्खास्तमा परेका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्ट मंगलबार कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका छन्।  सार्वजनिक न्याय तथा यातनविरुद्धको कसुर मुद्दामा फारार रहेका अभियुक्त विष्ट निवेदनसहित अदालतमा उपस्थित भएका हुन्।

अदालतको ३५ दिने सूचना जारी भएका बेला बरर्खास्त प्रहरी उपरीक्षक विष्ट उपस्थित भएको अदालतका श्रेस्तेदार हरिकृष्ण अबस्थीले बताए। 'विष्टको बयान लिने तयारी भइरहेको छ' उनले भने, ‘बयान सकिए पछि थुनछेक बहस हुने छ।’

 बरर्खास्त प्रहरी उपरीक्षक विष्टसहित आठ जनाविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसुर र दिलीप सिंह विष्टका दाजु खड्क विष्टले यातनाविरुद्धको कसुरमा मुद्दा दायर गरेका थिए।

मुद्दा दायर भएका मध्ये तत्कालीन प्रहरी उपरीक्षक ज्ञानबहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खडका नौ/नौ लाख रुपैयाँ र प्रहरी निरीक्षक जगदिश भट्ट चार लाख रुपैयाँ धरौटी रकम बुझाएर रिहा भएका छन्। यसैगरी, प्रहरी नायब निरीक्षक रामसिंह धामी, तीन लाख, हरिसिंह धामी तीन लाख ५० हजार, प्रहरी जवान चाँदनी साउद दुई लाख ५० हजार रुपैयाँ धरौटी रकम अदालतमा बुझाएर रिहा भएका थिए। 

विष्ट अदालतमा उपस्थित भए पनि केन्द्रीय अनुसन्धान व्युरोका प्रहरी नायब उपरीक्षक अंगुर जिसी भने अदालतमा उपस्थित भएका छैनन्। यता, अदालतमा उपस्थित भएका विष्टले फरार रहेको अफवाह फैलाइएका कारण अदालतमा उपस्थित भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.