|

काठमाडौं : राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौं जिल्लाका मालपोत तथा नापी कार्यालयमा छड्के अनुगमन गरेको छ।  चावहिल र डिल्लीबजार स्थिति मालपोत कार्यालय र मैतीदेवीस्थित नापी कार्यालयमा आज छड्के अनुगमन गरिएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए। उनका अनुसार अनुगमनमा डिल्लीबजारस्थित मालपोत कार्यालयका तीन कर्मचारी समय पालना नगरेका र १० जना कर्मचारी तोकिएको पोशाक नलगाएका भेटिएका छन्। 

यस्तै चावहिलस्थित मालपोत कार्यालयमा तीन कर्मचारी समय पालना नगर्ने, एक कर्मचारी तोकिएको पोशाक नलगाउने, मैतीदेवीस्थित नापी कार्यालयमा तीन कर्मचारी समय पालना नगर्ने तथा तीन जना पोशाक नलगाउने भेटिएका छन्। उनले सेवाग्राहीले समयमा कर्मचारी नआउने र पोशाक नलगाउने गर्नाले कर्मचारी हो वा विचौलिया हो भनेर छुट्याउन नसकिएको गुनासो आएपछि अनुगमन गरिएको बताए। 

'कर्मचारीले पोशाक नलगाउँदा कर्मचारी हो वा विचौलिया हो भनेर सेवाग्राहीले छुट्याउन सक्दैनन्,' उहाँले भन्नुभयो, 'अनि कर्मचारीबाट पनि विचौलियाको काम हुन सक्दछ।' प्रवक्ता लामिछानेले ती समय पालना र पोशाक नलगाउने कर्मचारीलाई विभागीय कारवाहीका लागि सम्बन्धित कार्यालयमा पत्र पठाइने बताउनुभयो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.