|

बागलुङ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकास निर्माणका काम गर्दा खुट्टा तान्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए। विकास निर्माणका काममा राजनीतिक पूर्वाग्रहका कारण खुट्टा तान्ने प्रवृति रहेको भन्दै तिमिल्सिनाले त्यसले देशको विकासमा अवरोध भइरहेको बताए। निर्वाचनका समयमा आ-आफना एजेण्डा लिएर जनताका बीचमा मत माग्न जाने सबै दलहरू विकास र समृद्धिको मुद्दामा हातेमालो गरेर अघि बढ्नु पर्नेमा जोड दिए।

‘हामी सत्तामा रहेको पार्टीले काम गर्दा आफ्नो पार्टीको शाख गुम्ने त्रासले खुट्टा तान्ने प्रवृत्तिले ग्रस्त भएका छौं। पार्टीभित्रै पनि एक अर्काले गरेको काममा जस दिनुभन्दा आलोचना बढी गर्छौं’, तिमिल्सिनाले भने, ‘चुनावका बेला एजेण्डा दिएर मत माग्ने र अरु समयमा सत्ताधारी र सत्ता बाहिरका सबै मिलेर विकासमा काम गर्ने प्रवृतिकाे विकास गर्न आवश्यक छ।’

बागलुङ र पर्वत जोड्ने गरी निर्माण गर्न थालिएको झोलुङ्गे पुलको शनिवार बागलुङतर्फ शिलान्यास गर्दै तिमिल्सिनाले पुललाई आउजाउका रुपमा मात्र प्रयोग नगरेर उत्पादन आयात–निर्यातसँग जोड्नुपर्ने बताए। उनले थानीय उत्पादनलाई उद्यमशीलतामार्फत बजारीकरण गर्दा समृद्धि आउने बताए। तिमिल्सिनाले हरेक विकास निर्माणका काम गर्दा उत्पादन के र कति हुने भन्ने विषयमा प्रस्ताव तयार गरेर मात्रै कामको थालनी गर्नुपर्ने बेला आएको बताए।

‘जागिर खाँदा एक व्यक्तिले मात्रै आफ्नो जीविको चलाउँछ। तर उद्यमले हजारौं व्यक्तिलाई रोजारी दिलाउँछ’ तिमिल्सिनाले भने, ‘राजनीति गर्नेले पनि जागिरे होइन उद्यमी उत्पादन गर्ने सोचको विकास गरौं।’ उनले वर्तमान सरकारले नयाँ संरचना अनुसारका पूर्वाधार निर्माणमा समय खर्चेको भन्दै अवको एक वर्षभित्रमा विकासका कमले गति लिने बताए।

पूर्वाधार निर्माणका काम अन्तिम चरणमा रहेकाले जनताले महसुस गर्ने गरी काम गर्न सरकार तयार भइसकेको उनको दावी थियो। तिमिल्सिनाले पुल निर्माणको काम पाएको हिमशिखर कन्स्ट्रक्सन का प्रमुखलाई समयमा काम सक्नका लागि कार्यक्रम स्थलमानै प्रतिवद्धता जाहेर गर्न लगाएका थिए। निर्माण कम्पनीले काम गर्ने क्रममा प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका नेताहरू, पेटी ठेकेदारका चुल्ठे मुन्द्रेहरूले अनावश्यक अवरोध गर्ने र पैसा माग्ने गरेका उदाहरण रहेको भन्दै कुनै पनि अवरोध नगर्न निर्देशन समेत दिए।

कार्यक्रममा गण्डकी प्रदेशका सभामुख नेत्र अधिकारीले महत्वकांक्षी योजनाहरले सर्वसाधारणको माग अनुसारको विकास निर्माणको कामको प्रतिनिधित्व गर्ने वताए। प्रदेश सरकारले योजनाबद्ध विकासका कामलाई गति दिने भन्दै अधिकारीले सबैको सहभागितामा आधारित प्रदेशको उन्नति हुने बताए। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्यटन र उत्पादनसँग जोडेर हरेक क्षेत्रको विकास गरिने बताए।

बागलुङ नगरपालिका १ रामरेखादेखि पर्वतको कुश्मा नगरपालिका–१ पाङको अदुवारी जोड्ने गरी निर्माण थालिएको झोलुङ्गेपुल ५६७ मिटर लामो र १३८ मिटर उचाइको हुने सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका महानिर्देशक रामचन्द्र श्रेष्ठले बताए। कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको उक्त पुल दुई वर्षभित्र सक्ने गरी हिमशिखर-बिएलटी-थानी जेभी कन्स्ट्रक्सनले सात करोड ९७ लाख ८६ हजारमा ठेक्का सम्झौता गरेको गरेका छन्। पुलमा चाहिने लठ्ठाको व्यवस्था भने सस्पेन्सन ब्रिज कार्यालयले उपलब्ध गराउने छ। 

पुलको सबै निर्माण सम्पन्न गर्दा १२ करोड २२ लाख १८ हजार ९५७ खर्च लाग्ने छ। निर्माण कम्पनीका नरहरि खड्काका अनुसार नेपालमा पहिलोपटक यस किसिमको लामो पुल बन्न लागेकाले केही चुनौती भए पनि दक्ष प्राविधिक प्रयोग गरेर काम सम्पन्न गरिनेछ। श्रेष्ठका अनुसार अहिलेसम्म ३६५ मिटरसम्मको लामा झोलुङ्गे पुल निर्माण भएका कारण दुई जिल्लालाई जोड्ने गरी बन्न लागेको यो देशकै एक लामो झोलुङ्गे पुल हुने छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.