|

भद्रपुर, (झापा) : एक १४ वर्षीया किशारीलाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। बलात्कारको घटना मिलाउने आर्थिक चलखेल गरेका जनप्रतिनिधिसहित अन्य तीन जना फरार रहेको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा हल्दिवारी गाउँपालिका २ बस्ने ६५ वर्षीय राजेन्द्र अधिकारी रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। आरोपी अधिकारीलाई आइतबार राति साढे ९ बजे हल्दिवारी प्रहरी चौकीले पक्राउ गरेको हो। प्रहरीका अनुसार चैत ३ गते अधिकारीले ती बालिकालाई जबरजस्ती बलात्कार गरेका थिए। बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक हुने नदिन पीडितका परिवारजनलाई आर्थिक प्रलोभनमा पार्न समेत चलखेल भएको थियो।

हल्दिवारी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) कुमार खड्का अनुसार पीडित परिवारलाई दवावसहितको आर्थिक चलखेलमा पारी घटना मिलाउन खोजिएको स्थानीयले थाहा पाएपछि घटना बाहिर आएको हो। बलात्कारका घटना मिलाउन हल्दिवारी २ का वडा सदस्य खगेन्द्र राजवंशी, स्थानीय डिकेन राजवंशी र विजय राजवंशीले पीडक अधिकारीबाट सात लाख रुपैयाँ लिएको र पीडितलाई एक लाख दिएर घटना मिलाउन खोजेको  प्रहरी अनुसन्धानबाट खुलेको असई खड्काले बताए। 

घटना मिलाउने तीन जना हाल फरार रहेको उनको भनाई छ। पक्राउ परेका अधिकारीसहित पीडित बालिकाका परिवारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइसकेको उनले बताए। ‘बालिका बलात्कार घटनाको बारेमा प्रहरीले अनुसन्धान थालिसकेको छ’, डिएसपी श्रेष्ठले भने, ‘घटना मिलाउने आर्थिक चलखेलको विषयमा पनि अनुसन्धान हुनेछ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.