|

पोखरा : आगामी चैत १५ र १६ गते हुने दुई दिने लगानी सम्मेलनमा ४० वटा देशबाट ६२० विदेशी लगानीकर्ताले आउने प्रतिबद्धता जनाइसकेका छन्। नेपाल सरकारले राष्ट्रियस्तरमै महत्त्व राख्ने विभिन्न योजनाहरूमा लगानी गर्न लगानीकर्तालाई आग्रहसमेत गर्नेछ। उक्त लगानी सम्मेलनमा सरकारको तर्फबाट र निजी क्षेत्रको तर्फबाट गरेर गण्डकी प्रदेशबाट १० वटा योजनाहरू प्रस्तुत हुने भएका छन्।

सम्मेलनका लागि गण्डकी सरकार र निजी क्षेत्रबाट पेश हुन लागेका योजनामा मनाङको स्की रिसोर्टदेखि कालीगण्डकी जलविद्युत् परियोजना हुँदै पोखरा-काठमाडौं-लुम्बिनी रेल मार्ग रहेको लगानी बोर्डका सूचना अधिकारी राजु गुरागाईंले जानकारी दिए। 

यी हुन्, सरकारको तर्फबाट पेस हुने योजना

लगानी सम्मेलनमा सरकारको तर्फबाट गण्डकी प्रदेशका ६ वटा योजनाहरू प्राथमिकतामा परेका छन्। गण्डकी सरकारले नै आफ्नो नीति तथा कार्यक्रममै समावेश गरेको गण्डकी प्राविधिक विश्व विद्यालय, मनाङमा स्की रिसोर्ट सञ्चालन, कास्कीको हेम्जामा एकीकृत कृषि परियोजना, पोखरा–काठमाडौं–लुम्बिनी रेल, ताल तलैया पर्यटन परियोजना, तनहुँको दमौलीमा बहुउद्देश्यीय पर्यटन परियोजना गण्डकी प्रदेशलाई लक्षित गरेर पेश हुन लागेका योजना रहेको गुरागाईंले जानकारी दिए। 

यी हुन्, नीजी क्षेत्रबाट पेश हुने योजना 

निजी क्षेत्रले पनि लगानी सम्मेलनको लागि महत्वपूर्ण केहि योजनाहरू अघि सारेको छ। निजी क्षेत्रले गण्डकी प्रदेश लक्षित गर्दै मध्य कालीगण्डकी, कालीगण्डकी गर्ज र म्याग्दीखोला जलविद्युत परियोजना अघि सारेको छ। त्यस्तै अन्नपूर्ण सिक्लेस केवलकार परियोजना पनि अघि सारेको छ। 

प्रदेश र स्थानीय सरकारको प्राथमिकतामा रहेका योजनाहरू  

लगानी सम्मेलनमा प्रदेश सरकार र स्थानीय सरकारले प्राथमिकतामा राखेका तर, ठूलो पूँजी आवश्यक भएका बहुउद्देश्यीय परियोजनाहरू पेश हुन लागेका हुन्। सरकारको तर्फबाट पेश हुने परियोजनामध्ये गण्डकी प्राविधिक विश्वविद्यालय स्थापना गर्न प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममै समावेश गरिसकेको छ। सरकारले विभिन्न ७१ परियोजनामार्फत ३५ खर्बको लगानीको प्रस्ताव गर्न लागेकोमा गण्डकीका यी परियोजना लगानी सम्मेलनमा लगानीको लागि तयार भएको हो। 

चुच्चे रेल १० वर्षे अनुभवी कम्पनीलाई 

लगानी बोर्डले रेल परियोजनाको आह्वान पत्रमा चुच्चे रेलको तस्वीर राख्दै १० वर्षे अनुभवीलाई परियोजना निर्माणको जिम्मा दिन सकिने जनाएको छ। नेपाल सरकारले रेल मन्त्रालयमार्फत अघि सारेको काठमाडाैं–पोखरा रेलमार्गको लागि २८ सय ३० मिलियन अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ। सार्वजनिक निजी साझेदारी मोडलमा बन्ने यो रेलमार्ग १८७ किलोमिटर लामो हुने बताइएको छ। काठमाडौंदेखि पोखरासम्मका विभिन्न ४४ वटा भूमिगत सुरुङसहितको रेल परियोजनामा तनहुँको मादी नदीमा सबैभन्दा लामो १२९५ मिटर लामो पुल बन्ने बताइएको छ।  

प्रादेशिक विश्वविद्यालय 

विभिन्न प्राविधिक क्षेत्रमा जनशक्ति उत्पादन गर्ने उद्देश्यले गण्डकी सरकारले प्रादेशिक विश्व विद्यालय तनहुँको शुक्लागण्डकी नगरपालिकामा बनाउने टुंगो लगाइसकेको छ। उक्त परियोजना पूरा गर्नका लागि ६१ मिलियन अमेरिकी डलरको प्रस्ताव गरिएको छ।   

हेम्जामा बृहत कृषि परियोजना

कास्कीको पोखरा महानगर २५ हेम्जामा निर्माण गर्ने गरी एकीकृत कृषि परियोजना पनि लगानी सम्मेलनको प्राथमिकतामा परेको छ। गण्डकी सरकारले जग्गा उपलब्ध गराउने र ५.५३ मिलियन अमेरिकी डलर लागत अनुमान गरिएको परियोजना बहुउद्देश्यीय रहेको छ। कोल्ड स्टोर, कृषि उत्पादनको प्रशोधन केन्द्रदेखि बिक्री केन्द्रसम्मको कल्पना गरिएको छ। त्यहाँ बन्ने कोल्डस्टोर ४ हजार मेट्रिक टन क्षमताको हुनेछ। कोल्ड स्टोरसँगै फलफूलको प्रशोधन, प्याकेजिङ तथा बिक्री केन्द्र बनाइनेछ। मनाङ-मुस्ताङको स्याउ, पोखरेली जेठो बूढो, बागलुङ र म्याग्दीमा पाइने सिमीलाई ब्राण्डिङ गर्ने बताइएको छ। सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार संंचालन हुने परियोजनामा बढीमा ३० वर्षको हुने छ। ३० वर्षपछि यो परियोजना निर्माण कम्पनीले सरकारर्ला बुझाउनु पर्नेछ।

मनाङमा स्की रिसोर्ट 

लगानी सम्मेलनको महत्वपूर्ण योजना मध्येको एक योजना हो मनाङको स्की रिसोर्ट। बाह्रै महिना हिमालको मनोरम वातावरणमा पर्यटकलाई सेवा प्रदान गर्न र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्की रिसोर्ट सञ्चालन गर्ने बताइएको छ। उक्त रिसोर्टले स्की प्रतियोगिता पनि गर्ने उल्लेख छ। ४० कोठा हुने रिसोर्ट र स्की प्रतियोगिता स्थल निर्माणको लागि १०० मिलियन अमेरिकी डलर अनुमान गरिएको छ। नेपालमा खासै महत्व र ध्यान नदिइएको हिउँमा चिप्लेर खेलिने स्की प्रतियोगिता मनाङमै गर्न लागिएको हो। 

जलविद्युत्तर्फ 

जलविद्युततर्फ प्रेस गर्न लागिएको एक परियोजना हो कालीगण्डकी ५३ मेगावाट। हाइड्रो सपोर्ट प्रालिले दिएको अध्ययन प्रतिवेदनअनुसार उक्त आयोजना म्याग्दी जिल्लाको तातोपानीमा बन्ने छ। यो परियोजनाका लागि ८५ मिलियन डलर प्रस्ताव गरिएको छ। उक्त विद्युत परियोजना सन् २०२३ मै सम्पन्न हुने छ। त्यस्तै कालिगण्डकी गर्ज जलविद्युत परियोजना मुस्ताङको थसाङमा बन्ने परियोजना हो। हिमाली क्षेत्रमा बन्ने यो परियोजना २६० मिलियन लागतमा बन्ने छ। हाइड्रो सोलुसन प्रालिका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानका अनुसार यो परियोजनाबाट उत्पादित बिजुली दाना सब स्टेसनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ। रकम संकलन सुरु हुनेबित्तिकै आयोजना निर्माणको काम सुरु हुनेछ।  

केबलरका परियोजना 

लगानी सम्मेलनको अर्को महत्त्वको योजना हो सिक्लेस केबरकार परियोजना। केवलकारसँगै होटल, रेष्टुरेण्ट, पार्किङ सहितका मनोरञ्जनात्मक ठाउँसमेत निर्माण हुने परियोजना ३१ मिलियन अमेरिकी डलरको हुनेछ। केबरकारको दूरी ६ हजार ८५० मिटर लामो हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.