|

काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी वैशाखदेखि नयाँ सडक आसपासका पाँच स्थानमा ‘स्मार्ट पार्किङ’ शुरु गर्ने भएको छ। महानगरले ब्हिल्स ट्रलीयोर्स प्रालिसँगको सहकार्यमा यो सेवा शुरु गर्न लागेको हो।

सवारीको अत्यधिक चाप व्यवस्थापन हुन नसक्दा सो क्षेत्रमा समस्या भएपछि यस किसिमको व्यवस्था गर्न लागिएको हो। वैशाखदेखि नयाँ सडकको रामेश्वर मिठाई पछाडिको भाग, विशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङ शुरु हुनेछ। ती स्थानमा एक पटकमा करीब ८०० मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिन्छ।

प्रालिका सूचना प्रविधि इञ्जिनियर हरिश अग्रवालका अनुसार ती ठाउँमा स्मार्ट अटोमेटेड पार्किङ प्रणाली शुरु हुनेछ।

नयाँ सडक जानुअघि उपभोक्ताले मोबाइलबाटै कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ सुनिश्चित गर्न सक्छन्। त्यस ठाउँको व्यवस्थापनका लागि ‘गोप्रो’ क्यामरासहितका पार्किङ सहयोगी राखिनेछन्। उनीहरूसँग भएको क्यामराले त्यस क्षेत्रमा भएका गतिविधि आवाजसहित अभिलेख गरेर राख्छन्। ती क्षेत्रमा पार्किङ गर्दा दुई पाङ्गे सवारीकालागि प्रतिघण्टा कर बाहेक रु २०, चार पाङ्ग्रेका लागि प्रतिघण्टा रु ५० र ६ पाङ्ग्रे वा सोभन्दा माथिका लागि प्रतिघण्टा रु २०० शुल्क लाग्नेछ।

यसरी संकलन गरिएको रकमबाट सञ्चालकले महानगरलाई राजश्व बुझाउनेछन्। काठमाडौंमा भएका सवारी साधनमध्ये औसतमा १० प्रतिशत समय मात्र सडकमा गुड्छन्। बाँकी समय पार्किङ गरिएका हुन्छन्। त्यसैले पार्किङको समस्या बढेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.