|

काठमाडौं : नेपालमा ठगी गरी जापान भागेका खोटाङका लाक्पा तेम्बा शेर्पा जापानमा पनि ठगी गरी नेपाल आई लुकेर बसेको अवस्थामा पक्राउ परेका छन्। आकर्षक तलबमा दक्षिण कोरिया पठाइदिन्छु भन्दै ५४ लाख रुपैयाँ ठगी गर्ने खोटाङ बाकाचोल घर भई बौद्ध बस्दै आएका ३५ वर्षीय लाक्पा तेम्बा शेर्पालाई प्रहरीले बौद्ध तीनचुलीबाट पक्राउ गरेको हो। 

शेर्पाले दक्षिण कोरियामा राम्रो कम्पनीमा काम लगाइदिन्छु भन्दै दोलखा श्यामाका साङ्गे शेर्पासहित चार जनाबाट रकम उठाएर जापान भागेका थिए। शेर्पाले पाँच जनाबाट ११ लाख ५० हजार रुपैयाँ लाग्ने भन्दै ४६ लाख रुपैयाँ लिई जापान भागेका थिए।

जापान पुगेर पनि शेर्पाले नर्वु छिरिङ गुरुङमार्फत अन्य चार जनाबाट दक्षिण कोरिया नै पठाइदिन्छु भनी आठ लाख रुपैयाँ ठगी गरेका थिए। पर्यटक भिसामा जापान पुगेका चार जनाको भिसा सकिएपछि जापानको जेलमा नौ महिना सजाय काटेर नेपाल फर्किएपछि गरेको उजुरीको आधारमा शेर्पालाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए।

‘दक्षिण कोरियाको लागि भन्दै ४६ लाख उठाएर जापान गएका शेर्पाले जापानमा पनि आठ लाख ठगी गरेका रहेछन्’, एसएसपी खनालले भने ‘नेपाल र जापान दुबै ठाउँमा ठगी गरी नेपालमा नै आई लुकिछिपी बसेको अवस्थामा हामीले पक्राउ गरेका हौं।’

गैरकानुनी रुपमा दक्षिण कोरिया पठाउने भन्दै ठगी गर्ने र जापानमा लगी अलपत्र पार्ने काम गरेकोले विभिन्न व्यक्तिहरुको पासपोर्टहरुसहित शेर्पालाई पक्राउ गरिएको उनले बताए। शेर्पाले रोयल स्टार ट्राभल्स प्रालिको नाममा काम गर्दै आएको पनि प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

गाइडको काम गर्ने शेर्पाले विदेशीहरुसँग सम्पर्क बढाई विदेशीहरुको स्पोन्सरमार्फत जापानको भिजिट भिसा लगाई जापान लगी अलपत्र बनाउदै ठगी गर्दै आएको पनि खुलेको एसएसपी खनालले जानकारी दिए। उनलाई ठगी मुद्दा अन्तर्गत कारवाहीको प्रक्रिया अघि बढिसकेको पनि उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.