|

संखुवासभा : गुराँसको राजधानी तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा हुने लागेको म्युजिक फेस्टिवललाई जिल्ला प्रशासन कार्यालय संखुवासभाले रोक लगाउने भएको छ। शुक्रबारदेखि बैशाख ७ गतेसम्म हुन लागेको म्युजिक फेस्टिवल कार्यक्रममा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए।

काठमाडौंमा रहेको शक्ति पिक नेपाल संस्था र स्थानीय तीनजुरे गुराँस क्लवले संयुक्त रूपमा गर्न लागेको म्युजिक फेस्टिवल कार्यक्रम रोकिने भएको छ। संखुवासभामा म्युजिक फेस्टिभल नामको ट्रान्सपार्टीमाथि रोक लगाइएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अनैतिक, असामाजिक एवं गैरकानुनी यस्ता पार्टी हुन नदिन सबैको सहयोगका लागि अनुरोधसमेत गरेका छन्। म्युजिकल फेस्टिवलका नामका गैरकानुनी काम गर्न खोजेकाले त्यसलाई रोक लगाइको उनले बताए। ट्रान्सपार्टीमा लागुऔषध तथा अल्कोहलको नशामा लट्टिएकाहरूलाई चर्को संगीतको धुनले मस्त बनाउने भएकाले यस्तो कार्यक्रम रोक्न बाध्य भएको उनले बताए।

ट्रान्सपार्टीको विशेषता पेय पदार्थ अथवा लागुऔषध लिँदै नाच्ने अनि अश्लील कार्यसमेत हुने गरेको पोखरा प्रहरीको उदाहरण दिँदै यो कार्यक्रम रोक्नु परेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए। नयाँ वर्षको अवसरमा टिएमजे क्षेत्रमा अत्याधिक पर्यटकको आगमन हुने भएकाले यस्तो कार्यक्रमले पर्यटकमा नकारात्मक असर पुग्ने उनको भनाइ। यसले युवा पुस्तामा नकारत्मक असर पुर्‍याउने, लतमा फस्ने सम्भावना बढी हुने उनले बताए।

मादी नगरपालिकाको सहयोगमा काठमाडौंमा रहेको शक्ति पिक नेपाल नामक संस्थाले स्थानीय तीनजुरे गुराँस क्लवको संयोजनमा एक साता लामो अन्तर्राष्ट्रिय स्तरको संगीत महोत्सवको आयोजना गर्न लागेको हो। कार्यक्रमा विश्वभरका २५ हजारभन्दा बढी पर्यटक र संगीतका पारखीहरू चौकी बजारमा भेला हुने आयोजकको दाबी छ। कार्यक्रमका लागि चौकी र मंगलबारे क्षेत्रमा धुमाधम पूर्वाधार निर्माण निर्माण गरिएका थिए। मादी नगरपालिका १ राँकेधार डाँडामा हुने कार्यक्रममा विश्वका ख्याती प्राप्त संगीत ब्यान्डमा आबद्ध संगीतकर्मीहरूको सहभागिता हुने आयोजक संस्थाले जनाएको थियो।

गत वर्ष पनि गुफापोखरीकै एकान्त जंगलमा ट्रान्स पार्टी भएको बताइन्छ।  मादी नगरपालिकाले भने एक साताका लागि मात्र दैनिक १ हजार राजस्व जम्मा गर्न लगाएर आयोजकलाई महोत्सवका लागि स्वीकृति दिएको थियो। कार्यक्रम गर्नका लागि जिल्ला प्रशासन कार्यालयले समेत अनुमति दिइएको थियो। म्युजिक फेस्टिवलको नाममा ट्रान्सपार्टी हुन लागेको जानकारी प्राप्त गरेपछि कार्यक्रममा रोक लगाएको  जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.