स्थानियले नै पैसा उठाउने?

|

काठमाडौं : २०७३ मंसिर ५ गते बारा, पर्सा, रौतहट र मकवानपुरका एक सय ५८ युवा बाराको निजगढमा भेला भए। वर्षौदेखि चर्चामात्रै हुने तर काममा सिन्को नभाँचिने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौं तराई द्रुर्तमार्ग आयोजना निर्माणका लागि दबाव दिन उनीहरुले संघर्ष समिति बनाए। 

रविराज दंगलाको संयोजकत्वमा ५१ सदस्यीय काठमाडौं तराई दुर्तमार्ग मार्ग र निजगढ विमान स्थल निर्माण संघर्ष समित गठन भयो। समितिको बैठकमा संयोजक दंगालले आफ्नो योजना सुनाए। 

'फाष्ट ट्रयाक र दुर्तमार्ग निर्माणको लागि स्थानियको हस्ताक्षर अभियान चलाउने, सांकेतिक रुपमा स्थानियसँगबाट नै पैसा उठाउने र त्यो पैसा र हस्ताक्षर दुर्तमार्गको बाटो हुदै काठमाडौं गएर प्रधानमन्त्रीलाई बुझाउने'

'फाष्ट ट्रयाक र द्रुर्तमार्ग निर्माणको लागि स्थानीयस्तरमा हस्ताक्षर अभियान चलाउने, सांकेतिक रुपमा स्थानियसँगबाट नै पैसा उठाउने र त्यो पैसा र हस्ताक्षर द्रुतमार्गको बाटो पैदल नै काठमाडौं गएर प्रधानमन्त्रीलाई बुझाउने।' सबैले यसमा सहमति जनाए। 

अनि सुरु भयो कार्यतालिका कसरी बनाउने र सहयोग कति उठाउने भन्ने छलफल। मंसिर ७ देखि १५ गतेसम्म बारा, पर्सा, रौतहट र मकवानपुरका बिभिन्न ठाउँमा घरदैलो गरेर एक घर, एक हस्ताक्षर उठाउने अनि द्रुर्तमा मार्ग र विमानस्थल निर्माणको लागि १ रुपैयाँ सहयोग उठाउने निश्कर्षमा उनीहरु पुगे। आठ दिनसम्म चलाइएको अभियानपछि १० हजार हस्ताक्षर र १ लाख १ रुपैयाँ रकम संकलन भयो। 

भैसेपाटि

Posted by खड्गराज मैनाली on Sunday, December 4, 2016

अनि मंसिर १६ गते चारै जिल्लामा माइकिङ गरियो र मंसिर १७ गतेदेखि ७६ किलोमिटरको फाष्ट ट्रयाकको बाटो पैदल यात्रा गर्ने योजना बन्यो। बाटोमा प्राथमिक उपचारको लागि दुईजना स्वास्थ्यकर्मीसहित ६१ जना काठमाडौं जाने निर्णय भयो।

चार दिनको पैदल यात्रापछि काठमाडौं

पूर्व निर्धारित कार्यक्रम अनुसार मंसिर १७ गते बिहान १० बजे निजगढमा काठमाडौंका लागि पैदल यात्रा गर्ने ६१ जना र विदाइका लागि स्थानीयको भेला भयो। बाटोमा आवश्‍यक सामान सहितको झोला बोकेर पैदल यात्रामा तम्सिएका ६१ जना अबीर र माला लगाएर विदाई भए।

टोली बेलुका ७ बजे मकवानपुरको छतिवनमा बास बस्न आइपुगे। मंसिर १८ गते विहानै उठे स्थानीयलाई जम्मा गरे र आफ्नो यात्रा र उद्देश्यको विषयमा स्थानीयसँग अन्तर्क्रिया गरेपछि ९ बजे पुन सुरु भयो पैदल यात्रा। दोश्रो दिन बेलुका ८ बजे मकवानपुरकै ठिंगनसम्म आइपुगे। तेश्लरो दिनमा लितपुरको बुङ्मती आए। 'विहान ८ बजे हिँडेका हामी बेलुका ११ बजेसम्म नै यात्रा गर्‍यौं र ललितपुरको बुङमतीमा आएर बास बस्यौ' पैदल यात्रामा सहभागी पत्रकार श्याम गुप्ताले थाहाखबरसँग भने। 

बुङमतीबाट बिहानै हिँडेका उनीहरु दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थानीयको १० हजार हस्ताक्षर र १ लाख १ रुपैयाँ लिएर आइपुगे। 

शीर्ष नेतालाई ज्ञापन र दबाव?

सोमबार चार दिन लगाएर निजगढबाट पैदाल यात्रा गरेको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालका साथै अन्य तीन दलका प्रमुखलाई पनि भेटे।

प्रधानमन्त्रीलाई भेटेपछि पैदल यात्राको कार्यक्रम सकिएपनि उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपाका अध्यक्ष कमल थापालाई पनि ज्ञापन पत्र बुझाए। 'स्थिर सरकार छैन, सरकार परिवर्तन हुनासाथै नीति पनि परिवर्तन गरिन्छ त्यसैले हामीले ठूला दलका नेताहरु सबैलाई दबाव दिनको लागि ज्ञापन बुझाएका हौं' संघर्ष समितिका संयोजक रविराज दंगालले भने 'नेतृत्व परिवर्तन होस् नीति परिवर्तन हुनुभएन, अब द्रुत मार्ग र विमानस्थल बनाउनुपर्‍यो।' 

'ढुंगो आएर लाग्ने हो कि ढुंगो बनेर खसिने हो'

दिनमा बढीमा एक/दुई घण्टा मात्रै हिँडेका मधेसका युवालाई पहाडको बाटो पैदल यात्रा सुरु गर्नुअघि केही डर लागेको थियो। मकवानपुरसम्मको यात्रा ठिकठिकै भएता पनि मकवानपुरबाट काठमाडौंसम्मको यात्रा भने उनीहरुलाई निकै मुश्किल भएको थियो। 'यात्राको क्रममा दर्जनौ खोला तरियो होला, कहिले माथि पहाडमा पुग्‍यो, कहिले खोलामा झर्‍यो, तल बस्दा ढुङ्गो आएर लाग्ने हो कि जस्तो लाग्ने माथि जाँदा ढुङगो बनेर खसिने हो कि भन्ने जस्तो लाग्ने' यात्रामा सहभागी श्याम गुप्ताले भने। 

ढुङगा उछुट्टिएर गोडामा लाग्ने, गोडामा फोका उठ्ने जस्ता समस्या पैदल यात्रुहरुले भोग्नुपर्‍यो। तर संगै मेडिकल टीम र आवश्यक औषधि पनि भएको कारण धेरै समस्या भएन। 

किन गरिएको थियो पैदल यात्रा?

दबाव दिने बिभिन्न तरिका हुन्छन्। स्थानीय युवाहरुको सक्रियतामा हस्ताक्षर अभियान र निर्माणमा दबाव दिनको लागि सहयोग रकम पनि उठाइएको थियो। केही प्रतिनिधिहरु आएर प्रधानमन्त्रीलाई बुझाएको भएपनि दबाव पुग्थ्यो होला।  संघर्ष समितिका संयोजक दंगाल भन्छन् 'हिडेर जादा थप दबाव पुग्ने भएकैले यस्तो कार्यक्रम तय गरेका हौं। 'वर्षो देखि चर्चामा रहेको फाष्टट्रयाक कस्तो रहेछ, के काम भएको छ, कति समयमा पुगिन्छ लगायतका विषयमा बुझ्नको लागि र हिँडेर जाँदा दबाव पुग्छ भनेर नै यस्तो कार्यक्रम तय गरेका हौं' दंगालले थाहाखबरसँग भने।  

स्थानीयले नै पैसा उठाउने

सरकारले द्रुतमार्ग र विमानस्थलमा स्वदेशी लगानी जुटाउन नसकेकोको खण्डमा स्थानीय बाट नै पैसा उठाउने योजना समेत संघर्ष समितिले बनाएको छ।

विमानस्थल र फाष्ट ट्रयाक निर्माणमा रु.१ सहयोग गरौं अभियान चलाई १ लाख १ रुपैयाँ जम्मा गरेको संघर्ष समितिले जनता थप सहयोग गर्न पनि तयार हुने बुझेको छ।

'यदि सरकारले सहयोग निर्माणमा रकम जुटाउन सकेन भने हामी स्थानीय आफै पनि निर्माण रकम उठाउन तयार हुनेछन्' संयोजक दंगालले भने। अहिले १ रुपैया मात्रै उठाउदा १ लाख १ रुपैयाँ भयो पर्‍यो भने यसै गरी सय रुपैयाँ उठाउछौं दंगालले भने। उनले विमानस्थल र द्रुर्त मार्ग दुवै स्वदेशी लगानीमा बनाउनुपर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.