|

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका–३ डोटी खोलानजिकै रहेको सुदूरपश्चिमको प्रमुख धार्मिक शक्तिपीठ घटालथानमा वैशाख २ गते लाग्ने विसु जाँत (मेला)को तयारी पूरा भएको छ। घटाल क्षेत्रमा रंग रोगन तथा गेट निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको घटाल क्षेत्र विकास समाज डडेल्धुराले जनाएको छ।

बर्सनि नयाँ वर्षको दोस्रो दिन घटाल थानमा विसु जाँत धुमधामसंग धार्मिक आस्थाका साथ मनाइने गरिन्छ। डोटीखोला आसपासका गाउँबस्ती संगै सदरमुकाम खलंगा र छिमेकी जिल्लाबाट पनि ठूलो संख्यामा भक्तजनहरु बिसु जाँतका बेला घटाल बाबाको पूजाआजासँगै यो विशेष अवसरमा काम्ने घटालका धामीबाट आशिषसहित अक्षता र प्रसाद ग्रहण गरेर घर फर्कने गर्छन्। मेला भर्न सुदूरपश्चिमका पहाडी जिल्लाका साथै तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरबाट समेत भक्तजनहरु आउने गर्दछन्।

मनोकामना पूरा हुने जनविश्‍वास

बिसु जातमा धामीले निहुरिएर मुखभरी बालुवा लिएर खाने गर्दछन्। धामीहरूले पहिले पहिले ६० घडा बालुवा र ६० घडा पानी खाने गर्थे भने अहिले पनि १०÷१२ मुठि जति  मुखभरीको बालुवा पानीसँगै घुटुघुटु खाने गरेको स्थानीयहरुले बताउने गरेका छन्। घटाल बाबासँग कसैले केही मागेमा मनोकामना पूरा हुने जनविस्वास रहँदै आएको छ।  यहाँ मनोकामना पूरा भएपछि बोकाको बलि दिने चलन अहिले पनि रहिआएको छ।

किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ। पश्चिमी क्षेत्रमा आस्तिकहरू माझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहँदै आएको छ।

बिसु जाँतको ९ दिन अघि चम्सालमा रहेको देवघरबाट देउताको देउरो घटालस्थान नजिकै अशिग्राम मन्दिरमा र्पुयाइने र दोस्रो दिन बिहानै अशिग्राम मन्दिरबाट देउरो घटालस्थानमा आएपछि विशुजात सुरु हुने घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णप्रसाद बोहराले जानकारी दिए। उनले भने, ‘देउरोसहित बाजागाजा बजाएर एक विशेष ठाउँमा सवै भेला भएपछि घटालका धामी कामेर जिल्लाको र देशकै वर्ष दिनभरीको अवस्था बताएर भक्तजनहरुका पीरमर्का सुनेर भाका दिने गर्छन्। धामीले दिएको भाका पुग्ने आमजनतामा विश्वास छ।’

बिसु मनाउन गाउँघर फर्कन्छन्

त्यसैले बिसु जाँतका बेला आफ्नो थातथलो छोडेर टाढा पुगेकाहरु पनि जाँतका बखत एकै दिनका लागि भए पनि घर फर्कने गरेका स्थानीय निरज विष्टले जानकारी दिए। द्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव र पाण्डव बिचको धर्मयुद्धमा भीमपुत्र घटोत्कचले ठूलो पराक्रम प्रदर्शन गरेका थिए। उनले कौरव सेना माथी धावा बोलेर ठूलो क्षति पुर्‍याएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ।

लडाइ मैदान मैवीरगति प्राप्त गरेका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उनलाई कलियुगमा ख्याति प्राप्त भगवानका रुपमा मान्यता पाउने वरदान दिएको परापूर्वकाल देखिको भनाइ रहेको छ। ‘सदियौ.देखि त्यही मान्यताअनुरुप घटाल बाबालाइ यसक्षेत्रका बासिन्दाले ठूलो धार्मिक आस्था र सम्मानका साथ पुज्ने गरेका स्थानीय बताउँछन्।

घटाल बाबालाई अनिकाल, रोगव्याधी र प्राकृतिक प्रकोपबाट जोगाउने देउताका रुपमा पनि लिइन्छ। विगतमा जव जव खडेरी परेर अनिकालको अवस्था आयो, त्यतिवेला पानी माग्न खलंगा समेत विभिन्न गाउँबस्तीका किसान यही घटाल थानमा भेला हुन्थे’, ‘घटालका धामी कमाएर पानी माग्ने गरिन्थ्यो, घटाल प्रसन्न भएर पानी दिन्थे अर्थात् खेतीपातीलाई पुग्ने वर्षा हुन्थ्यो।’ यो चलन अझै पनि कायमै छ।

यो पनि पढ्नुस्

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.