'सरकार ढाल्छौँ भन्‍दै हिँडे बुढाबढीले लौरा र केटाकेटीले ढुंगाले हिर्काउलान्'

|
फोटो : रासस

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले जनताले राजनीतिक आन्दोलन नचाहेको बताएका छन्। ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीका लागि बैंक खाता खोल्ने अभियानको सुरुवात गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताले निर्वाचित गरेको स्थिर सरकार भएको बेला आन्दोलनका कुरा नगर्न सुझाव पनि दिए।

केही दिन पहिले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायतका १३ दलहरूको राजधानीमा आयोजित भेलाले आन्दोलन गर्ने चेतावनी दिएकोप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले भने, 'केही केही मान्छेहरू, १३ विभिन्न आकार प्रकारका मान्छेहरू भेला भएर आन्दोलन गर्छौ भने। म अरू केही भन्दिन, नगर्नुस। यत्ति भन्छु, नगर्नुस्। मैले त्यत्ति भन्ने हो।'

प्रधानमन्त्री ओलीको प्रश्न थियो, 'नेपाली जनता जसले आन्दोलन भनेर सिट्टी फेरेर फुक्छ त्यतै कुद्ने हो? कुद्छन् नेपाली जनता? सम्भव छ त्यो?' उनले थपे, 'नेपाली जनताले स्थिरता, स्थायित्व, विकास र शान्तिका लागि मतदान गरेका छन्। त्यसअनुसारको सरकार बनेको छ। ठिक छनोटको सरकार बनेको छ, नेपाली जनताको। यसले नेपालको विकास हेर्छ, नेपाली जनताको सुख हेर्छ। यसकारण यसको मूल मन्त्र छ- सुखी नेपाल, समृद्ध नेपाली।'

आफ्ना मान्छेलाई मात्रै अवसर दिन सरकार नबनेको भन्दै प्रधानमन्त्री ओलीले सबै जनताका लागि अवसर सिर्जना गर्ने काम भइरहेको बताए। उनले भने, 'आफू बनूँ, आफ्ना मान्छेलाई अवसर दिऊँ भन्ने होइन। आफ्ना मान्छेलाई जागिर लगाऊँ भन्ने होइन। आफ्ना-आफ्नाका निम्ति काम गरौँ भन्ने होइन, जनताका निम्ति काम गरौँ भन्ने हो। मेरा मान्छे सुखी भन्ने होइन सुखी नेपाली हो।'

सरकारले मुलुकका निम्ति काम गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले सरकार ढाल्न षड्यन्त्र नगर्न चेतावनी दिए। विगतमा गरिएका षड्यन्त्र पनि असफल पारिएको उनको भनाइ थियो। 'धमिलो पानीमा माछा मार्ने होइन, पानी नै धमिल्याउने काम गरिएका थिए, त्यो अवस्थाको अन्त्य भएको छ। पानी धमिलिन दिइएन।'

प्रधानमन्त्री ओलीले व्यंग गर्दै भने, 'यो सरकार यतिमा ढाल्छौँ र उतिमा ढाल्छौ भनेर कतिले भनिरहेका छन्। बुढाबुढीको नजिक गएर नभन्नुहोला लौरा खानुहोला, परपरै गएर भन्नू। केटाकेटीले सुन्नेगरी नभन्नुहोला, कस्तो फटाहा मान्छे रहेछ भनेर ढुंगा टिपेर हिर्काइदेलान्।'

प्रधानमन्त्रीले संचारमाध्यममा सरकारले केही काम गरेन भनेर आइरहेका आलोचनाप्रति असन्तुष्टि जनाए। उनले ती आलोचना अनावश्यक भएको बताए। उनले अर्को वर्ष गर्ने काम पनि सरकारले यसै वर्ष गरेकाले सरकारको आलोचना नगर्न सुझाब दिएका थिए।

थप समाचारः 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.