|

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुरु हुन गइरहेको दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपिएल) मा प्रतिस्पर्धा गर्ने आठ टिम र कप्तानको नाम सार्वजनिक गरिएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले  प्रतियोगिता यही वैशाख १२ देखि २१ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो।

कर्णाली प्रिमियर लिगका संयोजक रेशम शाहीका अनुसार प्रतियोगितामा राष्ट्रिय स्तरमा ख्याति कमाएका खेलाडीहरूको सहभागिता रहने छ। प्रतियोगितामा देशभरका ८ वटा क्लबहरूको सहभागिता हुने भएको छ।

वसन्त रेग्मीको कप्तानीमा एपिएफ क्लब, विनोद भण्डारीको कप्तानीमा त्रिभुवन आर्मी क्लब, मन्जित श्रेष्ठको कप्तानीमा पुलिस क्लब, मेहवु आलमको कप्तानीमा लालीगुराँस क्रिकेट क्लब झापा, सुशिल खड्काको कप्तानीमा महेन्द्रनगर क्रिकेट क्लब, अजय शाहनीको कप्तानीमा मध्यपश्चिम क्रिकेट क्लब बाँके, सुरेन्द्र चन्द के कप्तानीमा हिमालयन क्रिकेट एकेडेमी काठमाडौं र रवीन्द्रजंग शाहीको कप्तानीमा कर्णाली ११ ले प्रतिस्पर्धा गर्ने छन्।

प्रतियोगितामा प्रथम पुरस्कार ५ लाख, द्वितीय पुरस्कार २ लाख हुने छ भने म्यान अफ द सिरिजलाई पचास हजार पुरस्कार दिइने आयोजकले जनाएको छ। साथै वेष्ट वलरलाई २० हजार, व्याट्सम्यानलाई २० हजार र प्रत्येक खेलमा म्यान अफ द म्याचमा एक जनालाई ३५०० पुरस्कार दिइने छ।

प्रतियोगिता झण्डै ६० लाख खर्च हुने अनुमान आयोजकले गरेको छ। साथै, खेलमा सहभागी हुने क्लबहरूले प्रत्येक टिममा २ जना विदेशी खेलाडी सहभागी गराउन सक्ने छन्।

प्रतियोगितामा ८ टिमलाई २ वटा समूहमा विभाजन गरि प्रत्येकले एक–अर्कासँग १–१ खेल खेलेपछि समूहको उत्कृष्ट दुई टिमले सेमिफाइनलमा खेल्न पाउने छन्।

लिग–कम नक–आउट फर्ममा आयोजना हुने प्रतियोगिता आइसिसीको नियमअनुसार खेलाइने संयोजक शाहीको भनाइ छ। प्रतियोगितामा सहभागी हुने प्रत्येक खेलाडीको आवास र खानाको व्यवस्था आयोजकले नै गर्ने अध्यक्ष शाहीले बताए।

दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपीएल) को सिजी फोर्स नेपाल प्रालिको उत्कृष्ट उत्पादन वाइवाइ चाउचाउको मुख्य प्रायोजन रहेको आयोजकले जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.