|

प्यूठान :  नर्सरीदेखि कक्षा १० कक्षासम्म पढाइ हुने प्यूठान नगरपालिका ८ बाग्दुलास्थित जनता माध्यमिक विद्यालयमा अहिले निजी विद्यालय छाडेर पढ्न आउने विद्यार्थीको लहर चलेको छ। निजी विद्यालयबाट आएका विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण भएपछि मात्रै भर्ना लिने गरेको छ।

जिल्लाको नमुना मानिने यस सामुदायिक विद्यालयले बोर्डिङबाट आएका विद्यार्थीहरूको प्रवेश परीक्षा लिई विद्यार्थी भर्ना गर्ने तयारी गरेको छ। शुक्रबार १०० भन्दा बढी विद्यार्थी प्रवेश परीक्षामा सामेल भए भने वैशाख १० नयाँ विद्यार्थीले प्रवेश परीक्षा दिने विद्यालयले जनाएको छ। प्रवेश परीक्षा दिने विद्यार्थीमा अधिकांश बोर्डिङ स्कुलबाट आएको  प्रधानाध्यापक इन्द्रमणि पोख्रेलले जानकारी दिए। 'विगत वर्षदेखि नै अंग्रेजी माध्यमबाट पढ्न चाहने विद्यार्थीहरुलाई मध्यनजर गरी पढाइ सुरु गरेका छौँ', उनले भने, 'अंग्रेजी माध्यमबाट पढाइ सुरु भएपछि जनता माध्यमिक विद्यालयमा बोर्डिङका विद्यार्थीहरूको आकर्षण बढेको हो।' 

विद्यालयले विगत वर्षदेखि अंग्रेजी र नेपाली दुवै माध्यमबाट नर्सरीदेखि कक्षा १० सम्म अध्यापन गर्दै आएको छ। अंग्रेजी माध्यमबाट पढाइ सुरु गरे पछि बोर्डिङमा पढ्ने विद्यार्थीहरू सामुदायिक विद्यालयमा आउन थालेका हुन्।

प्यूठान नगरपालिका ७ पुण्यखोलाकी लक्ष्मी नेपालीले सरकारी विद्यालयमा पढेका विद्यार्थीलाई सरकारले विभिन्न छात्रवृति र उच्च शिक्षामा सहुलियत दिने भएकाले छोरालाई सरकारी विद्यालयमा भर्ना गर्न लागेको बताइन्। प्यूठान भ्याली एकेडेमी वाग्दुलाबाट कक्षा ७ पास गरी जनता माध्यमिक विद्यालय वाग्दुलाको प्रवेश परीक्षा दिएकी प्यूठान नगरपालिका ८ धर्मावतीकी सुरक्षा थापाले सरकारी विद्यालयबाटै एसईई पास गर्ने चाहना  रहेको बताइन्। 

विगतमा सामुदायिक विद्यालयबाट बोर्डिङमा जाने विद्यार्थीहरूको संख्या बढ्दो थियो। तर अहिले अंग्रजी माध्यमवाट शिक्षण शुरु भए पछि बोर्डिङ छोडेर सरकारी विद्यालयमा आउने संख्या बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गेहराज शर्माले बताए। उनका अनुसार अंग्रेजी माध्यमको साथमा विद्यालयको भौतिक, मानवस्राेत लगायत उचित शैक्षिक वातावरण तयार गरिएको छ। तालिमप्राप्त शिक्षक, उचित शैक्षिक सामग्री, सुविधासम्पन्न भवन, प्राविधिक शिक्षासहितको शैक्षिक वातावरण बने सामुदायिक विद्यालयहरू विद्यार्थीको आकर्षणको केन्द्र बन्ने सरोकारवालाहरू बताउँछन्।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.