|

काठमाडौं : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूमाथि कामै गर्न नसकेको आरोप लाग्ने भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

प्रहरी महानिरीक्षक खनालले निर्मला पन्त हत्याकाण्डमा कमजोरी गर्ने प्रहरीमाथि कारवाही गर्दा पनि आफूले सुख नपाएको गुनासो पनि गरेका छन्।

आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्न सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो हत्याकाण्डको अनुसन्धान भइरहेको स्पष्ट पारेका छन्। प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीले आफ्नो अनुसन्धानको कामलाई इमान्दारिताका साथ अघि बढाएको दावी पनि गरेका छन्। उनले आफूमाथि कामै गर्न नसकेको गुनासो आउनु न्यायोचित र तर्कसम्मत नहुने दावी पनि गरेका छन्।

प्रहरी महानिरीक्षक खनालले विध्वंसात्मक गतिविधिमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जोकोहीलाई पनि कारवाही गर्ने चेतावनी दिएका छन्। उनले सो समूहका ३२६ जनालाई नियन्त्रणमा लिइएको र अन्यलाई पनि नियन्त्रणमा लिई कानुनी कारवाही हुने पनि स्पष्ट गरेका छन्।

प्रहरी महानिरीक्षक खनालले हत्या र यौन शोषणको आरोप लागेका रामबहादुर बम्जनविरुद्ध प्रमाण नपुगेको कारण कारवाही गर्न नसकिएको पनि स्पष्ट पारेका छन्। उनले बम्जनविरुद्ध परेको उजुरीमाथि अनुसन्धान जारी रहेको र प्रमाण पुग्यो भने उनीमाथि कारवाही हुने पनि बताएका छन्।

प्रहरी महानिरीक्षक खनालले अपराध नियन्त्रणका लागि सहकार्य गर्न नागरिक समाजलाई पनि पुनः अपिल गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.