क्षमताभन्दा बढी यात्रु र सामान बोक्दा दुर्घटना

|

डडेल्धुरा : डडेल्धुराको गन्यपाधुरा गाउँपालिका–१ साहुखर्कमा यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। एकजना भारतीय नागरिकको उपचारका क्रम निधन भएपछि मृतकको संख्या ६ पुगेको हो।

मृत्यु हुनेमा बझाङको केदारस्यूका–४ का २५ वर्षीय नरेन्द्र गुरधामी, सोही ठाउँकी ५५ वर्षीय कल्सीदेवि गुरधामी, हरुली बोहरा, तल्कोट–४ का ४४ वर्षीय धनबहादुर घर्ती, २५ वर्षीय भारतीय नागरिक मोहोमद नासिर र १८ वर्षीय मोहमद गुल्जार रहेको डडेल्धुरा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। मोहमद गुल्जारको उपचारका क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको हो।

भीमदत्त राजमार्गअन्तर्गत गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजे बस दुर्घटना भएको हो। धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्बरको बस दुर्घटनामा परेको हो।

दुर्घटनामा ३३ जना घाइते भएका छन्। जसमध्ये ६ जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। अन्य घाइतेहरूको डडेल्धुरास्थित डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। बस सडकबाट ६० मिटर तल खसेको जनाइएको छ।

क्षमताभन्दा बढी यात्रु र सामान बोक्दा बस दुर्घटना

भार क्षमताभन्दा बढी यात्रु र सामान बोक्दा बस दुर्घटना भएको प्रहरीले बताएको छ। ३२ जना भार क्षमता भएको बसमा ५० बढी यात्रु र व्यावसायिक प्रयोजनका लागि सयौं क्विन्टल सामान बोकेर धनगढीबाट बझाङका लागि छुटेको थियो।

अत्याधिक भारका कारण बस दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका इन्चार्ज देवबहादुर खत्रीले बताए। चालकको लापरबाहीले पनि दुर्घटना भएको उनको बुझाइ छ।

धनगढीबाट मंगलबार साँझ ४ बजेतिर हिँडेको बस १३ घण्टापछि डडेल्धुराको साहुखर्क पुगेको देखिन्छ। अत्तरियादेखि ४ घण्टामा पुग्न सकिने दुर्घटनास्थल पुग्न निकै समय लागेको बसका यात्रु बझाङ कोटभैरवका धर्मसिंह रोकायाले बताए।

उनका अनुसार व्यावसायिक प्रयोजनका लागि बझाङ लैजान लागेको समानको विषयमा विवाद हुँदा अत्तरियामा मात्र ३ घण्टा बस रोकिएको थियो। अत्तरियामा रहेका ट्रफिक प्रहरीसँग सेटिङ मिलाएपछि राति अबेर बस हिँडेको थियो।

डडेल्धुरामा ९ सवारी दुर्घटनामा ३१ जनाको मृत्यु

चाल आर्थिक वर्षको हालसम्म ९ सवारी दुर्घटनामा ३१ जनाले ज्यान गुमाएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले दिएको जानकारी अनुसार ठूलासाना दुर्घटनामा परी हालसम्म ३१ जनाले ज्या गुमाएका हुन्।

उक्त दुर्घटनामा २६ जना गम्भीर घाइते भएका छन् भने ६५ जना घाइते भएको ट्राफिक प्रहरीको तथ्यांक छ। पहाडमा धेरै घुम्ती र साधुरो सडकका कारण दिनप्रति दिन दुर्घटना बढिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका इन्चार्ज खत्रीले बताए।

‘चालक र गाडीधनीको लापरबाहीले पनि दुर्घटना बढेका हुन्। ट्राफिकलाई छलेर उनीहरुले गाडी चलाउने गर्दछन्’ उनले भने,-‘ट्राफिक चेक पोस्ट् आउँदा यात्रु झार्ने र पछि थप्ने गर्दा दुर्घटना बढेका हुन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.