फिचर

सात घण्टा पुरिएका सुकराम, बने सबैको प्रेरणाका स्राेत
SHARES

बैशाख १२, २०७६

    पोखरा : गोरखा बारपाकका सुकराम घले खाना खाएर आराम गरिरहेका थिए। २०७२ वैशाख १२ को बिहान ११ बजेर ५६ मिनेटमा सुरुमा ठूलो आवाज आएको थियो। बम पड्केजस्तै। त्यसपछि काँप्न थाल्यो गोरखाको बारपाक। यही शक्तिशाली भूकम्पले बारपाकसहित देशका विभिन्न स्थानमा जनधनको ठूलो क्षति पुर्‍यायो।

    त्यही भूकम्पमा परेर सुकरामले एउटा हात गुमाए। बारपाक पनि उनीजस्तै थलियो। भूकम्प गएको चार वर्ष बिते पनि सुकरामको मन मष्तिस्कमा ती क्षण ताजै छ। भूकम्पले थिलथिलो पारेको बारपाक र सुकरामको कथा उस्तै छ। 

    अचेल काठमाडौंबाट बारपाकसम्म सिधा बस चल्छ। बारपाकमा बसहरू राख्नका लागि गाउँलेहरूले नै सार्वजनिक जग्गाको सदुपयोग गरी बसपार्क बनाएका छन्। त्यही बसपार्कको मुखैमा छ ओबिना होटल। सुकरामको जिन्दगी अहिले चार लाख रुपैयाँ ऋण लिएर सुरु गरेको त्यही होटलमा आउने ग्राहकलाई खाजा खुवाएरै बित्छ। भूकम्पपछि बारपाकमा गैरसरकारी संस्थाहरूको घुइँचो लागेको थियो। त्यो क्रम अहिले पनि कम छैन। त्यही संघसंस्थाका कर्मचारीलाई खानाखाजा खुवाउने मात्रै होइन, बास बसाल्ने कोठाको पनि बन्दोबस्ती सुकरामले मिलाउँदै आएका छन्। 

    कालो दिनको सम्झना

    विदेशबाट फर्किएर गाउँमै मजदुरी गर्ने सुकराम त्यो दिन घरमै थिए। ‘मलाई त्यो दिन कसैले काममा बोलाएनन्’ उनले भने, ‘एकछिन आराम गर्छु र भकारी बुन्नुपर्ला भनेर बसेको थिएँ। एक्कासी जमिन हल्लियो।' ‘गटट्, गटट् गर्न थाल्यो’, उनले त्यो कहाली लाग्दो दिन यसरी स्मरण गरे, ‘कता जाऊँ कता जाऊँ भयो, उठेर धारातिर गएँ, त्यहींको ट्वाइलेटको खाँबो समातेर उभिँदा पनि हल्लाइरह्यो। मलाई लडाइदियो।’ भूकम्पको अर्काे झट्का नआउँदै उनी फेरि ट्वाइलेटबाट घ रफर्कन मात्रै के लागेका थिए, दायाँ र बायाँ भएका घरले थिचिहाल्यो।

    मध्याह्न १२ बजेदेखि साँझ साढे ६ बजेसम्म उनलाई घरले थिचिरह्यो। त्यसपछि मात्रै आफूलाई कोही खोज्न आएको पत्तो पाए। दुई घरले थिच्दा उनको देब्रे हातले काम गर्न छोडिसकेको थियो। दाइ, दुई जना साला र अर्काे एक जना साथीले आफूलाई खोजिरहेको सुकरामलाई थाहा भयो। तर, उनीहरूले सुकराम पुरिएको ठाउँ पत्ता लगाउनै सकेनन्। बाहिर कोही हिँडेको जस्तो छनक पाएपछि उनी भित्रबाटै कराउने र बल गर्थे। तर उको बोली सुन्ने कोही भएन। ‘तिनीहरूले निकालेनन् भने मर्छु भनेर डराइरहेको थिएँ,’ उनले सम्झिए। आधा घण्टापछि दाइले त्यहाँ केही ढुंगा र काठ पन्छाए। दाइले सुके भनेर बोलाए। त्यो आवाज सुकरामको कानमा ठोक्कियो। खोज्ने क्रममा उनी माथि भएको ढुंगाहरूमाथि नै दाइहरूको टोली उभिए। उनलाई खपिनसक्नुभएको थियो।

    उनीहरूले म त्यही ढुंगामुनि रहेको थाहा पाएछन्। त्यसपछि ढुंगा पन्छाएपछि मेरो टाउको देखेछन्। मलाई थिचेको ढुंगा सालोले फाले र मलाई अँगालो हालेको सम्झनामा उनलाई ताजै छ। उनीहरूले ममाथि भएका बडेमानको ढुंगो त निकाले तर मेरो देब्रेहात थिचेको ढुंगा निकाल्न सकेनन्। लामो समयको प्रयासपछि ‍निकाले पनि उनको देब्रे हातले भने काम गर्न छाडिसकेको थियो। 'त्यो दिन त्यसरी नै रुँदै कराउँदै बित्यो,' उनले ती दिन सम्झिए, 'भोलिपल्ट नेपाली सेनाको हेलिकोप्टर बारपाक आयो।'

    त्यही हेलीमा राखेर उनलाई पोखरा लगियो। गाउँभरी नै घाइते नै घाइते। अरुलाई पनि सुकरामसँगै लगियो। पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि उनलाई पुर्‍याइयो। पोखरा पुगेको तीन दिनपछि डाक्टरहरूले उनलाई हात काट्नुपर्छ नत्र थप दु:ख हुन्छ भने। ‘हात नकाटे तपाईलाई हामीले अरु उपचार गर्न सक्दैनौँ,’ त्यो बेला डाक्टरले भनेको सम्झँदै उनले भने, ‘म त झन् छाँगोबाट खसेजस्तै भएँ।' यही हातले दु:ख गरेर परिवार पालेको मान्छे। हातै नभएपछि के गर्ने र कसरी गरिखाने भन्ने सोच्दासोच्दै जिन्दगी नै फाल्नुभन्दा ठिकै छ हात फाल्ने निधो गरे। त्यसपछि उनी डक्टरहरूकै सिफारिसमा काठमाडौं हिँडे।

    पोखरामा हुँदा उनको साथमा एकसुको पैसा थिएन। ‘गोरखाकै एक जनाले १७ हजार रुपैयाँ दिनुभयो, अनि एम्बुलेन्समा काठमाडौं गएँ’, उनले सुनाए, ‘वीर हस्पिटलमा मजस्ता घाइते थुप्रै थिए, अप्रेसन गर्ने पालो कुर्नुपर्‍यो।’ दाइ र गाउँलेको कथाब्यथा सुनेर साउदी अरबबाट आएका उनका काइँला भाइ अस्पताल नै भेट्न पुगे। ‘दाजुभाइ अँगालो हालेर यति रोयौँ कि सीमै छैन’ उनले सम्झे। भाइले डक्टरहरूसँग रोइकराइ गरेर पालो मिलाए।

    भूकम्पको केन्द्र विन्दुमै भूकम्प अशक्त बनाइसकेको सुकरामलाई अप्रेशन गर्न जाने बेलैमा फेरि भूकम्पले झैं हल्लायो। त्यो दिन वैशाख २९ को थियो।  यस दिन पुन: गएको अस्पतालमा झन् घाइते थपिए। बल्लबल्ल पाएको पालो पनि फेरि भूइँचालोकै कारण फुत्कियो। ३१ गते चाहिँ हात मात्रै बेहोस् बनाएर अप्रेसन गरियो। त्यो दु:खद् दिन सम्झिँदै उनले भने, ‘मेरै आँखा अगाडि हात भुइँमा झर्‍यो।’

    पुन: बारपाक 

    अप्रेसन गरेर फर्किंदा बारपाकको फेदी बालुवा गाउँमा परिवारै सुकरामलाई लिन झरेका थिए। छोरालाई देखेर उनले मन थाम्न सकेनन्। त्यही परिवारको साथ छोड्न नसकेर विदेशबाट गाउँ फर्केर मजदुरी गरेका सुकराम भूकम्पले थप पीडामा पारिदियो।  दरौंदीको किनारमा बाबुछोरा अँगालोमा बाँधिएर आँशुको भेल बगाएपछि मान्द्रेको उकालो लागे। उनले भने, ‘आमा मलाई देख्नेबित्तिकै रुन थाल्नुभयो।’

    भेना बाँचेको भन्दै सालासाली खुसी छन्, दाजु बाँचेकोमा भाइ र भाइ बाँचेको भन्दै दाइहरू। पत्नी र छोराछोरी झन् खुसी। पालमुनि ओत लागेरै भए पनि परिवार बस्यौं। गाउँका कतिपयले ज्यान गुमाएका थिए, सुकराम त कम्तीमा बाँचे भन्ने भयो। तर, उनलाई बाँचेर पनि कति पीडा थियो भन्ने उनैलाई थाहा छ। 

    दु:ख परेको बेलामा कोही आफ्नो हुँदैन भन्ने उनलाई थाहा त थियो तर, त्यस्तो बेहोरेका थिएनन्। ‘बल्लतल्ल हात फालेर एक हाते भएर गाउँ फर्केको मात्रै के थिएँ साहु आए,’ उनले भने, ‘मैले केही समय पहिले एक लाख ऋण लिएको साहु आएका थिए।' यो अपांग भयो, अब पैसा तिर्न सक्दैन भनेर उनी आएका रहेछन्। केही समय पछि तिर्छु भनेर फर्काएँ। 

    ‘अरु मरेर त गए भने म त बाँचेको छु, के न केही गर्नुपर्छ भनेर होटल खोल्ने निर्णय गरेँ’ उनले भने ‘व्यवसाय गर्ने र त्यो पनि होटल खोल्ने भन्ने आँट चाहिँ साउदीकै अनुभवले दिलायो।’  कुकिङ भने भारतमा सिकेका थिए। सासुससुराले त छोरीज्वाइँ दुवै पाल्छौं भनेकै थिए। सुकरामलाई आफू केही गर्नै नसक्ने त होइन है भन्ने लागेको थियो।

    व्यवसाय गर्छु भनेपछि ससुराले ५० हजार रुपयाँ हालिदिए। साढुदाइ पर्नेले दुई लाख रुपैयाँ सापटी दिए। त्यसपछि टहरा ठडियो। ‘मैले पहिल्यैदेखि चिनेको साहुसँग ८० हजारको सामान उधारो मागेर राखें’, उनले सुनाए, ‘त्यो तीन महिनामै तिरेपछि अचेल उधारो ल्याउँदै बेच्दै, पैसा तिर्दै चल्न सजिलो भएको छ।’ अहिले उनको ब्यवसाय पनि राम्रो भएको छ। उनलाई अब साथ दिने तीन हात भए। उनका एक हात र पत्नि मायादेवीको दुई हात। 

    पहिले उनलाई मान्ने मान्छेहरू अपांग भनेर हेपेको उनले कहाँ बिर्सेका छन् र। अपांगले केही गर्न सक्दैन। संस्थाहरूले धेरै सहयोग गरे भन्ने पनि सुन्छन्। तर उनले जे गरेका छन् आफ्नै पौरखले गरेका छन्। उनी आफ्नै पौरखमा बाँचेका छन्। आजकाल बेलाबेला गुरुरु जमिन हल्लाउँदै पराकम्प आउँदा भने उनी पनि झसक्क हुन्छ। 

सन्तोष अधिकारी

अधिकारी थाहाखबरको  पोखरा संवाददाता हुन्। उनी यसअघि थाहाखबरका लागि गोरखा संवाददाता थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]