प्युठान : डोकोमा एउटी महिलालाई बोकेका छन्। चार पाँच जना पछिपछि। एक जना एक दिने शिशु बोकेर मुसुमुसु हाँस्दै छन्। डोकोमा महिला बोक्ने पुरुष पसिनाले भिजेका छन्। तै पनि उनको अनुहार खुसीले भरिएको छ।
गौमुखी गाउँपालिका–२ अर्खा भोवाङका थमन पुनले आफ्नी सुत्केरी श्रीमतीलाई डोकोमा बोकेर घरमा लैजाँदै थिए। उनीहरुको विवाह भएको २२ वर्षपछि पहिलो सन्तानको रुपमा छोरी जन्मिएको हो। ‘गाउँ एम्बुलेन्सको पहुँच छैन्, हाम्रो दुःख यस्तै हो,’ थमनले भने, ‘गाउँमा स्टेचर छ तर उकोलो र ओरालो भएका कारण डोको मै सजिलो हुन्छ।’
उत्तरी प्युठानमा सडक सञ्जाल नपुगेकाले बिरामीहरुलाई डोकोमा बोकेर स्वास्थ्य संस्थामा लैजानु पर्ने बाध्यता छ। नौबहिनी गाउँपालिका–१ स्याउलीबाङका नागरिक चार घण्डा हिँडेर मात्र मोटर बाटो भेट्टाउन सक्छन्।
अर्खा, रजवारा, लिघा, खबाङ, डामृ, पूजालगायतका गाउँमा बिरामीलाई डोेकोमा बोकेर स्वास्थ्य संस्था लानुपर्ने बाध्यता रहेको छ। भौगोलिक विकटता र एम्बुलेन्समा स्थानीयको पहुँच नहुँदा समस्या भोगिरहनु परेको स्थानीय प्रदीप तामाङले बताए। उत्तरी प्युठानका लागि भनेर भुतपूर्व सैनिकहरुको नेतृत्वमा खरिद गरिएको एम्बुलेन्स पनि बिग्रिएको छ।
दुर्गम गाउँमा एम्बुलेन्स सेवा पुर्याउन प्रयास भइरहेको गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताए। उनले भने, ‘बिग्रिएको एम्बुलेन्सको मर्मत गरेर भए पनि सञ्चालनमा ल्याउने छौँ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।