सुर्खेत : अहिले नेपाली समाजमा कुनै फेसन छ भने त्यो हो वैदेशिक रोजगारीको फेसन। घरको खेतबारी बाँझै छोडेर के गाउँ के सहरका युवा सबै विदेशिने लहर नै छ।
नेपाली युवा रोजगारीका लागि सके कोरिया, जापान र युरोपतिर नसके खाडीतिर भए पनि पैसा कमाउन जानु विवशता जस्तै बनेको छ। विदेशमा पैसा नै फल्छ कि जस्तो बुझाइ हाम्रो समाजमा व्याप्त छ। तर, सुर्खेत भेरीगंगा नगरपालिका वडा १३ रामपुरका २५ वर्षीय युवा कमल बिसीको कथा र अनुभव भने अलि भिन्न रहेको छ। कमल बिसी मुखैमा आएको आकर्षणको वैदेशिक रोजगार त्यागेर बाख्रापालनमा जुटेका छन्। उनले कोरियाको भिसा त्यागेर गाउँमै बाख्रा फर्म गरेर बसेका हुन्।
बिसी घरको आर्थिक अवस्था कमजाेर भएकोले समाज र साथीभाइको कुराले कोरियन भाषा परीक्षा दिएर नाम पनि निकाले। एक डेढवर्ष कोरिया जाने पालो नआएपछि उनी भारतीय सेनाको तयारीमा जुटे। तर, त्यहाँ पनि सफल हुन सकेनन्। कोरियाको इपिएस भाषाको परीक्षामा नाम निकालेर भिसा पनि आइसकेको थियो। तर, उनले अन्तत: वैदेशिक रोजगारीमा नजाने निधो गरी बाख्रापालनमा जुटे। उनी भन्छन्,‘कोरियामा रोजगारीका लागि भिसा आइसकेको थियो तर म विदेश नजाने आफ्नै देशमा केही गर्छु भनेर बाख्रापालन सुरु गरेको हुँ।’
बाख्रापालनमा लागेपछि कोरियाको भिसालाई वास्ता गरिनँ
‘कोरिया भाषा दिएपछि भारतीय आर्मीको जागिरका लागि पनि धेरै तयारी गरेँ। तर, त्यसमा सफल हुन सकिनँ’ उनले भने, ‘अन्तत: विदेश जाने र जागिर खाने चाहनालाई त्याग गर्दै बाख्रापालन गर्न कसिएको हुँ।’ बिसीले थपे ‘बाख्रापालन सुरु गर्नै लाग्दा कोरियाको भिसा पनि आयो। तर, मैले भिसालाई वास्ता गरिनँ। अनि बाख्रापालनमा होमिएँ।’
कमलले भने, ‘अरूको देशमा गएर पसिना बगाउनभन्दा आफ्नै देशमा केही गर्ने निधो गरेँ। अनि सोहीअनुसार नै गाउँमा आएर बाख्रापालन गर्ने निधो गरेको हुँ।’ हाल उनले गाउँमै आधुनिक बाख्रा फर्मको नामबाट बोयर जातको बाख्रापालन गरेका छन्। उनले भने, ‘करिब १३ लाखको लगानीमा काम सुरु गरेको बाख्रा फर्ममा अहिले २४ लाखको लगानी भइसकेको छ।’
बिबिएस अध्ययन गर्दै कमलले बाख्रा फर्म गरेको ३ वर्ष पुग्नै लागेको छ। आफूसँग भएका बोयर जातका बोकाले गाउँमा बालका रूपमा पनि सर्भिस दिँदै आएको र जसबाट वार्षिक ५० देखि ६० हजारसम्म आम्दानी हुने उनको भनाइ छ। उनको बाख्रा फर्मबाट अहिले कैलाली, झापा, इलाम, पाल्पा बाँके र बर्दियाबाट किसान आएर बोयर जातका बोका लिने गरेको उनले बताए।
वार्षिक ८ देखि १० लाखसम्म आम्दानी
१०० प्रतिशत बोयर बोकालाई डेढ लाखदेखि ३ लाखसम्म मूल्यपर्ने उनले बताए। ‘१०० प्रतिशत बोयर जातका बोकाको माग धेरै छ। साथै पचहत्तर प्रतिशतका बोका र माउ बाख्राको माग पनि उत्तिकै छ’, उनले भने, ‘मागअनुसार पुर्याउन गाह्रै छ’ उनले वार्षिकरूपमा ८ देखि १० लाखसम्म आम्दानी हुने कुरामा ढुक्क रहेको बताए।
बिसीले बाख्रापालनका लागि ४ बिघा जग्गामा सिजनल घाँसका साथै विकासी घाँस पनि उत्पादन गरिरहेका छन्। बरु हामीले बारीमा बाली लगाउँदैनौँ उनले भने, 'घाँस त अनिवार्य लगाउनैपर्याे।' साथै उनले धानको ढुटो पनि किनेर ल्याने गरेका छन्। अहिले युवा सरकारी जागिर खानको लागि तँछाडमछाड गरिरहेका छन्। तर, कमल बिसीलाई कुनै पनि जागिरको मोह छैन। 'म यसमा नै खुसी छु। जीवन निर्वाहका लागि जागिर नै खानुपर्छ भन्ने छैन,' उनले भने, 'म यदि जागिर पाए भने पनि खान्न घरमै उद्यमी बनेर काम गर्नेछु।'
उनी विदेश जाने युवालाई विदेश नजान सल्लाह दिन्छन्। विदेश जान गरिने लाँखौँ खर्चले यहाँ नै कुनै व्यवसाय गरे विदेशमा कमाइने पैसो यही कमाइन्छ,’ उनले भने ‘मासिक ४० हजार त घरमै बसीबसी कमाउन सकिन्छ। त्यसैका लागि किन विदेश जाने?’ उनले थपे ‘विदेशबाट फर्केका केही साथीहरू पनि अब यतै कुनै उद्यम गर्ने योजनामा छन्। मैलै आवश्यक सरसल्लाह दिने गरेको छु’ उनले भने, ‘म जे गर्छु नेपालमै गर्छु‘ भन्ने मेरो सिद्धान्त हो। म त्यहीअनुासार गर्छु। अरूलाई पनि त्यही सिकाउँछु।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।