लाल आयोगको प्रतिवेदनले संसद् अवरुद्ध नहुने अपेक्षा

|

काठमाडौँ : सभामुख कृष्णबहादुर महराले बजेट अधिवेशनका क्रममा संसद् अवरुद्ध नहुने विश्वास गरेका छन्। वर्षे अधिवेशन सुरु हुन एक दिनअघि आइतबार पत्रकारहरूसँग कुरा गर्दै सभामुख महराले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई रचनात्मक प्रतिपक्षी बन्‍न पनि आग्रह गरे। 

सभामुख महराले बजेट अधिवशेनका क्रममा पूर्वन्यायाधीश गिरिशचन्द्र लाल आयोगको प्रतिवेदनबारे कुरा नउठ्ने पनि विश्‍वास गरे। मधेसवादी दलहरूले लामो समयदेखि पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्दै आएका छन्। 

लाल आयोगको प्रतिवेदन माग्दै आएका राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालसँग संवाद भइरहेको जानकारी पनि महराले दिएका छन्। पत्रकारहरूसँग कुरा गर्दै महराले संसद्‍मा रचनात्मक आलोचना गर्ने वातावरण बन्‍न भन्दै कसैबाट अवरोध नहुने अपेक्षा गरेका हुन्। 'संसद्‍मा रचनात्मक आलोचना गर्ने वातावरण हुन्छ', उनले कांग्रेसतिर लक्षित गर्दै भने, 'पहिले नीति तथा कार्यक्रम हेरौँ, त्यसपछि छलफल गरौँ।' 

अहिलेसम्मको परम्पराअनुसार प्री-बजेट छलफलपछि नीति तथा कार्यक्रम ल्याउने गरिन्थ्यो। तर, योपटक सरकारले नीति तथा कार्यक्रम ल्याएपछि मात्रै प्री-बजेट छलफलको तयारी थालेको छ। 

यस्तो छ तयारी 

बजेट अधिवेशन सुरु हुनुअघि सोमबार दिउँसो १ बजे सभामुखले कार्यव्यवस्था समितिको बैठक डाकेका छन्। त्यस बैठकमा संसदका सबै दलहरूसँग संवाद हुने भएको छ।  

अपराह्‍न ४ बजे बैठक सुरु हुनुअघि नै अहिले देखिएका विवादलाई साम्य पार्ने तयारीमा सभामुख जुटेका छन्। त्यही रणनीतिअनुसार सभामुखले भोलिको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र वाचनपछि दलका केही नेताहरूलाई बोल्न दिने तयारी गरेका छन्। 

के छ कार्यसूची 

भोलि बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा यसअघि निधन भएका पूर्वसांसद  दिवाकर गोल्छा, रुद्रमणि शर्मासहितको सम्झनामा शोक प्रस्ताव पारित गर्ने भएको छ। त्यसैगरी भोलिकै बैठकमा सभामुख- उपसभामुख नभएको बेला सभाको नेतृत्व गर्ने अध्यक्षमण्डल घोषणा हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.