प्री बजेट छलफल हुनै पर्ने अडान

|

काठमाडौँ  :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्री बजेट छलफल नगरी नीति तथा कार्यक्रम ल्याउन नदिने भएको छ । आइतवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यस्तो निचोड निकालेको हो । 

संसदीय दलको बैठकपछि पत्रकारहरुसँग बोल्दै प्रमुख सचेतक बालकृष्ण खाँणले प्री बजेट छलफल नगरी सरकारले जनप्रतिनिधि र संसद्लाई बाइपास गर्न खोजेको आरोप पनि लगाएका छन् । 

'सरकारले प्री बजेट छलफल नगरी जनप्रतिनिधि र सदनलाई बाइपास गर्न खोज्यो', खाँणले भने, 'सोझै नीति तथा कार्यक्रम पास भएपछि त्यसकै आधारमा बजेट बन्छ । प्री बजेट छलफलको औचित्य रहँदैन । संसदीय मूल्य मान्यताको विरोधमा सरकार जाँदैछ ।'
 
प्रमुख सचेतक खाँणले प्री बजेट छलफल गरेर नीति तथा कार्यक्रम ल्याएपछि मात्रै बजेट आउनुपर्ने अडानमा कांग्रेस रहेको पनि बताए । ओली सरकार निरंशुक बन्दै गएको आरोप पनि कांग्रेसले लगाएको छ ।

'ओलीजी ज्ञानेन्द्र पथमै अगाडि बढ्नु भएको छ। समाचार छापिएकै कारण पत्रकार समातिँदैछन् । प्रजातन्त्रको सबैभन्दा महत्वपूर्ण अंश पत्रकारितामाथि आक्रमण भएको छ', प्रमुख सचेतक खाँणले भने, 'निरंकुशताको ढाकछोप गर्न पत्रकारमाथि हस्तक्षेप भइरहेको छ । जनताका मौलिक अधिकारलाई निष्तेज गर्ने सरकारी प्रयासलाई कांग्रेसले सहँदैन ।' 

काण्डै काण्ड

कांग्रेसले सरकारले चारैतिर काण्डै काण्ड गरेको आरोप पनि लगायो । 'पछिल्लो पटक खुला मञ्चलाई भूमाफियाले कब्जा गरे। बालुवाटार पनि भूमाफियामार्फत् नेकपा नेताले कब्जा गरेको देख्यौँ', उनले भने, 'फोरजी काण्डमा अर्बौँ रुपैयाँ भ्रष्टचार भएको छ । एनसेलबाट कर उठाउन सकेको छैन, एकपछि अर्को काण्ड मच्चाएको छ ।' 

संवैधानिक अंगलाई कम्जोर बनाउने काम भएको  खाँणले बताए । 'राजस्व अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभागलाई आफू मातहत ल्याएर प्रधानमन्त्री सर्वशक्तिमान हुन खोज्दैछन्', उनले भने, 'राष्ट्रिय सुरक्षा परिषद्‍मार्फत चल्ने सेनालाई पनि आफैँले चलाउन खोजेर पंगु बनाउने खेल भएको छ।'

अब कडा 

अहिलेसम्म आफूहरु शालिनरुपमा प्रस्तुत भएको खाँणले बताए । 'भोलीबाट संसदमा कडारुपमा प्रस्तुत हुन्छौँ, सरकारले सर्वसत्तावाद लागू गर्यो', उनले भने, 'कांग्रेस संसदीय शासन पद्धतिमा विश्वास गर्छ । हामी शालिनतापूर्वक प्रस्तुत भएका छौँ । सरकारले एक दलीय र निरंशुकतन्त्र बढाउन खोज्यो । अब हामी आक्रमकरुपमा प्रस्तुत हुन्छौँ ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.