|

पोखरा : गण्डकी प्रदेशका उद्योग, वन तथा वातावरणमन्त्री विकास लम्सालले सरकारले सोचेअनुसार विकास निर्माणको काम गर्न नसकिएको बताएका छन्।

प्रदेश मन्त्रालयले आयोजना गरेको समीक्षा तथा योजना तर्जुमा गोष्ठीको पोखरामा उद्घाटन गर्दै मन्त्री लम्सालले कर्मचारीरूको असहयोगका कारण विकासमा साझेदारीका लागि समस्या परेको बताए। ‘वर्षौंसम्म नीति निर्माणमा बसेका कर्मचारीहरू गोष्ठी र छलफलहरूमा यो भएन भनेर भाषण गरेको देख्दा अचम्म लाग्छ,’ मन्त्री लम्सालले भने, ‘विभिन्न बहानामा काम हुन नदिने र परिपाटी अहिले पनि विद्यमान छ। मेरै मन्त्रालयको कामप्रति म आफू नै सन्तुष्ट हुनसक्ने स्थिति छैन।’ 

कर्मचारीहरू पुरानै तरिकाले चल्ने र नयाँ तरिका अपनाउन नखोज्नाले समस्या आएको मन्त्रीको आरोप छ। ‘पुरानै परिपाटीलाई निरन्तरता दिन संघीयता आएको हैन,’ मन्त्री लम्सालले भने। वस्तुको उत्पादन र बजारीकरणको व्‍यवस्था मिलाउने योजना निर्माण गर्न गोष्ठीको आयोजना भएको मन्त्री लम्सालको भनाइ छ।

प्रदेश सरकारले एक स्थानीय तह एक उद्योग ग्राम निर्माण गर्न लागेकोले सोहीअनुसारको काममा लाग्न र जनताको जीवनस्तरको विकासतर्फ सोच्न पनि कार्यक्रममा सहभागी कर्मचारीहरूलाई मन्त्रीले निर्देशन दिए।

गोष्ठीमा मन्त्रालयका महाशाखा प्रमुख नारायण आचार्यले मन्त्रालयले आगामी दिनमा कस्तो योजना बनाउने भन्नेबारे सही र प्रभावकारी सुझाब दिन सहभागीहरूलाई अनुरोध गरे। नेपाल सरकारका सह–सचिव दिनेश भट्टराईले मन्त्रालय र मातहतका कार्यालयका काम र कर्तव्‍यबारे सहजीकरण गर्नेछन्। दुई दिनसम्म चल्ने गोष्ठीमा गण्डकी प्रदेशका ११ जिल्लाका मन्त्रालयअन्तर्गतका उद्योग अधिकृतहरूको सहभागिता रहेको छ। उद्योग ग्राम चलाउन उद्योग अधिकृतहरूलाई कसरी उपयोग गर्न सकिन्छ भनेर गोष्ठीको आयोजना भएको मन्त्रीले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.