|

काठमाडौँ : नयाँशक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बालुवाटारस्थित ललिता निवासको जग्गा किनबेचमा दोषी पाइए दण्ड भोग्न तयार रहेको बताएका छन् । 

सोमबारदेखि सुरु बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै भट्टराईले बालुवाटारको जग्गा किनबेच प्रकरण नेपालको जटिल कर्मचारी प्रणालीका कारण उत्पन्न भएको दाबी गरेका छन् । 

‘बालुवाटारको जग्गामा थुप्रै प्रधानमन्त्रीको नाम आएको छ । सन्त नेता कृष्णप्रसाद भट्टराई, इमान्दार भनिएका माधवकुमार नेपाल र म आफैँ बाबुराम भट्टराईको नाम ललिता निवास प्रकरणमा नाम आएको छ’, उनले भने, ‘यसबारे गम्भीरतापूर्वक छानबिन होस, यसमा कसैको पनि नियतवश संलग्ता पुष्टि हुन्छ भने दण्ड दिऊँ म पनि दण्ड भोग्न तयार छु ।’

नेता भट्टराईले सरकारी जग्गा हडप्ने काम गम्भीर हुँदै गएको पनि बताए । ‘हडपिएको खुलामञ्चबाट व्यापारीलाई हटाएर मात्रै हुँदैन । सार्वजनिक सम्पत्ति अतिक्रमण हुन दिनु नै हुँदैन’ , उनले भने, ‘काठमाडौँ कंक्रिटको जंगलमा परिणत हुँदैछ, यसमा ध्यान जाओस ।’ 

राज्य र समाजबीच अझै विभेद रहेको जिकिर भट्टराईले गरे । ‘राज्य सत्ताको दोहनकारी र दमनकारी चरित्रलाई जनसागरमा बिलीन नगराएसम्म लोकतन्त्र जीवन्त हुँदैन’, उनले भने, ‘कसैले पनि संघर्ष सकियो भन्नु हुँदैन त्यो लोकतान्त्रिक चरित्र विपरित हुन्छ ।’ 

संसद मणि हराएको नाग जस्तो, कस्तुरी हराएको मृग जस्तो, नुन नपुगेको तरकारी जस्तो भएको भन्दै यसलाई जीवन्त बनाउन बहस घनिभूत हुनुपर्ने जिकिर उनले गरे । 

तीन वर्षमा ६ प्रतिशत भन्दा बढी आर्थिक वृद्धि भएको भन्दै भट्टराईले सरकालाई बधाई पनि दिए । ‘तर सतहमा देखिएको वृद्धिदरले मात्रै हामी हौसिनु हुँदैन । यो वर्ष हामीले ६.८ प्रतिशत वृद्धिको प्रक्षेपण भएको यो राम्रो हो’, उनले भने, ‘तर अहिले पनि हामी गम्भीर आर्थिक संकटमै छौँ । सय रुपैयाँमा ९४ रुपैयाँको आयात र ६ रुपैयाँको निर्यात हुन्छ  यसलाएई नमिलाएसम्म हामी दीगो वृद्धिमा जाँदैनौ ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.