|

मोरङ:  किशोरीलाई डर, त्रास देखाएर अवैध यौन धन्दामा लगाउने होटल सञ्चालकसहित तीनजना जेल पुगेका छन् । विराटनगरस्थित वेलकम होटेल सञ्चालिकासहित तीनजनालाई मोरङ अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

त्यही काण्डमा मुछिएकी एकजनालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। अदालतको ४ नम्बर इजलासमा भएको थुनछेक बहसपछि न्यायाधीश दीपक खनालको आदेशमा होटेल सञ्चालिका विराटनगर– ३ की ४६ वर्षीय शुसीला ढुंगेल (अधिकारी), विराटनगर –७ घर भई सिराहाको लहान बस्ने ३२ वर्षीय नुर जमाल र बूढीगंगा गाउँपालिका–३ का ३५ वर्षीय आशीष महतोलाई पुर्पक्षका लागि थुनामा पठाइएको हो। त्यस्तै सिराहा धनगढीमाई नगरपालिका-११ का २८ वर्षीय सन्तोष कुमार परियारलाई १ लाख रुपैयाँ धरौटीमा छोड्न अदालतले आदेश दिएको छ।

मंगलबार साँझसम्म अदालतले तोकेको धरौटी रकम बुझाउन नसकेपछि परियारलाई थुनामा पठाइएको जिल्ला अदालत मोरङका श्रेस्तेदार इश्वरमणि ओझाले जानकारी दिए।  

अदालतको आदेशपछि उनीहरू जिल्ला कारागार मोरङमा छन्। मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम उनीहरूलाई थुनामा राख्न अदालतले आदेश दिएको हो।

वेलकम होटेलमा काम गर्न बसेकी किशोरीलाई होटेलमा आउने ग्राहकसँग मोटो रकम लिएर संचालिक सुशीला र आशीषले धम्क्याएर पटक-पटक यौन धन्धामा लगाउने गरेको अदालतमा पेस गरेको अभियोग पत्रमा उल्लेख छ। 

होटेलमा आएका ग्राहकसँग यौन सम्पर्क गराए बापत सञ्चालिकाले ५ हजारदेखि ७ हजार रुपैयाँसम्म लिने गरेका प्रहरीको अनुसन्धानबाट खुलेको छ। ती किशोरीलाई होटेलमा आउने सन्तोषकुमार परियार, कटहरी गापा-३ का सुजीतकुमार चौधरी र विराटनगर– ६ का ४१ वर्षीय वसन्त राजवंशीले जर्वजस्ती करणी गरेको अभियोग पत्रमा उल्लेख छ। 

प्रहरीले अनुसन्धान सकेपछि १२ वैशाखमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङमा मिसल बुझाएको थियो। सरकारी वकिलको कार्यलाले गत बिहीबार दुईजनालाई फरार प्रतिवादी बनाएर ‘मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणीमा मुद्दा दर्ता गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.