माओवादीको लाइन जनवादी गणतन्त्र हो

|

काठमाडौं : निश्चित रूपमा लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि गरिएको आन्दोलन सहज थिएन। तत्कालीन नेपालको परिवेशमा लोकतान्त्रिक गणतन्त्रको आन्दोलन आफैँमा जटिल थियो। २०६२/०६३ मा निरंकुशताविरुद्ध आन्दोलनको उभार उठ्यो। नागरिक आन्दोलनको जन्म भयो। यसतर्फ चर्चा नगरौं। तर अचानक २०६३ वैशाख १२ पछि हामी मौन रह्यौ। हामीमाथि प्रहार सुरु भयो। हामीलाई व्यक्तिगत रूपमा गरिएको गाली सह्‍य छैन। नागरिक आन्दोलनका अगुवा देवेन्द्रराज पाण्डेमाथि प्रहार भए। लोकतान्त्रिक गणतन्त्रको उपलब्धी हात पर्नु भनेको नेपाली जनताको जित थियो।

कांग्रेसलाई सक्ने खेल भयो

जनआन्दोलनले १२ बुँदे सहमतिलाई अनुमोदन नगरेको भए नेपाल रसातलमा भासिइसक्थ्यो। ती महान् जनताको भावना के छ? भावना के छ भन्‍ने सवालमा सबैले गर्व गर्न सक्नुपर्थ्यो। गणतन्त्र भनेको ग्लानी होइन। गौरव हो। यसलाई ग्लानीको रूपमा चित्रण गर्ने प्रयत्‍न भयो। कां‌ग्रेसले २‍०६२\०६३ को आन्दोलनको राजनीतिक नेतृत्व गरेको भनेर जनतामा जानसक्नुपर्थ्यो। एउटा वृत्तबाट सबैभन्दा ठूलो गल्ती के भयो भने यो माओवादीको गणतन्त्रको एजेन्डा हो भनेर कांग्रेसलाई नै सिध्याउने काम भयो। माओवादीको एजेन्डा जनवादी गणतन्त्र थियो। उनीहरू सत्ता पाएपछि अलमलिए। अहिले म यतातिर जान चाहिनँ। तर जनवादी गणतन्त्र भएको भए हामी पनि समाप्त हुने थियौँ।

रामवरणले हतार गरे

तत्कालीन सम्माननीय राष्ट्रपति रामवरण यादवज्यूले पुस्तक निकाल्नुभयो। राष्ट्रपति हुँदै पुस्तक निकाल्न हतार गर्नुभयो। पुस्तक आउँदा पुस्तकका लेखक भनिने व्यक्तिले आत्महत्या गरिसकेका थिए। कसलाई सोध्न जाने? उहाँले नागरिक अगुवा र गणतन्त्रका अगुवामाथि गाली बर्साउनुभएको छ। गणतन्त्रको सर्वोच्च पदमा बसेको मान्छेले गणतन्त्रका योद्धालाई सम्मान पो गर्नुपर्छ। यहाँहरूलाई लाग्दो हो किन कृष्ण पहाडी फलानोको विरोध गर्छ? किनभने यहाँ व्यक्तिगतरूपमा सिद्‍याउने काम भए। गणतन्त्रको आगमनसँगै धेरै मित्रहरूले पुस्तक निकाल्नुभयो।

प्रचण्डलाई सलाम गरिसके, प्रधानमन्त्रीका रूपमा। माओवादीका लडाकु सेनामा सम्मिलित भएर कर्णेल भइसके। तर गणतन्त्रको आन्दोलनमा हिँड्नेमाथि निरन्तर अपराध गरिस् भनेर प्रहार किन? त्यो प्रहारका शिकार धेरैजना हुनुभएको छ। जसमा नरहरि आचार्य पनि हुनुभएको छ। शान्ति समाजको तर्फबाट हामी विभिन्‍न ठाउँमा सभा सम्मेलन गर्दै हिड्थ्यौं। आफ्नै पार्टीका नेताले उहाँको कार्यक्रम वहिष्कार गर्नुपर्छ भन्थे। इतिहास आजको पुस्ताले बनाउँछ। भोलीको पुस्ताले लेख्छ र भावी पुस्ताले त्यसलाई पढ्छ। यो इतिहास बनाउँदा २०६२-६३ को आन्दोलन नेपाली कांग्रेसकै नेतृत्वमा भएको हो। जहाँ नागरिकहरू पनि सम्मिलित थिए। त्यसैले लोकतान्त्रिक गणतन्त्रको सवालमा गर्व गर्नुपर्छ। ग्लानीको भावनालाई त्याग्नुपर्छ।

माओवादीलाई वैशाख ११ मन पर्दैन

माओवादीको कुरा गर्ने हो भने प्रस्ट रूपमा वैशाख ११ गते उनीहरूलाई मन पर्दैन। लाखौँ जनता सडकमा आएर यो परिवर्तनलाई सुनिश्चित गरे। त्यो लोकतान्त्रिक गणतन्त्रको सुरुवात त्यहीँबाट भएको हो। उनीहरूले लोकतान्त्रिक गणतन्त्रको 'लिगेसी'लाई 'क्लेम' गर्ने भए आज एमालेमा बिलय हुँदैन थिए। त्यस कारण लोकतान्त्रिक आन्दोलनको नेतृत्व स्वर्गीय गिरिजाप्रसाद कोइरालाले गर्नुभएको हो। कांग्रेसका साथीहरूले लोकतान्त्रिक गणतन्त्र हामीले ल्याएको छाती पिटेर भन्‍न सक्नुपर्छ। यसमा नै कांग्रेसको भविष्य उज्वल छ। कांग्रेसले नरहरि आचार्यबारे गर्व गर्न सक्नुपर्छ। किनभने उहाँको नीतिले जितेको हो। तर उहाँ पार्टीमा पराजित हुनुभयो। तर इतिहासमा विजेता नै हुनुहुन्छ। त्यसमा कांग्रेसका साथीहरूले गर्व गर्नुपर्छ।

गणतन्त्रमा किन गनगन ?

लोकतान्त्रिक गणतन्त्रको सवालमा इतिहासको रिक्तता छ। त्यसलाई भर्न नरहरि आचार्यको पुस्तक आएको छ। २०६२-६३ को आन्दोलनबाट मात्र लोकतान्त्रिक गणतन्त्र आएको होइन। यो इतिहासको संश्लेषण हो। २००७ सालदेखिको परिवर्तनको  एउटा कालखण्डको निकास मात्र हो यो। यो आम जनताको स्वामित्व हो। नागरिक आन्दोलनको नेतृत्व डा.देवेन्द्रराज पाण्डेले गर्नुभएको थियो। धेरै साथीहरूले आन्दोलनमा लामो समय बिताउनुभयो। उनीहरूको भौतिक अवसानपछि दुई थोपा आँसु चुहाएर उनीहरूको सम्मान हुन सक्दैन। सम्मान गर्न नसके गाली नगर्नुस्। गाली हामीलाई स्वीकार्य छैन। प्रचण्डलाई नमस्कार गर्दै चाकडी गर्नुहुन्छ। स्वयम् तपाईंले नै माओवादीका लडाकू र बन्दुकधारीहरूलाई क्रान्तिकारी भन्‍नुहुन्छ भने  गणतन्त्र आयो भनेर किन गनगन गर्नुहुन्छ?

संस्कारमा गणतन्त्र आएन

गणतन्त्र भनेको संस्कृति हो। यो हामीले स्वीकार्नुपर्छ। यो संस्कृति हामीले ल्यायौँ। गणतन्त्रमा कानुन भन्दा माथि कोही हुन सक्दैन। गणतन्त्रमा पीडकहरू हुँदैनन्। पीडितहरूको मर्म बुझ्‍ने मान्छेहरू हुन्छन्।  सम्माननीय राष्ट्रपति गणतन्त्रको प्रतिनिधिमूलक सर्वोच्च पद हो। आज त्यही पदले आकाशमा, जलमा,थलमा सर्वत्र नागरिकलाई दु:ख दिएका कुरा बाहिर आएका छन्। सत्तामा बसेपछि गल्ती हुन्छ। धेरै गल्ती भएका छन्। हिजो राजा महाराजाले माफी माग्‍नु हुँदैन भन्थे। तर आज नेताहरू किन माफी माग्दैनन्? चरित्र, संस्कार र संस्कृतिमा चाहिँ गणतन्त्रको  आएन।

लोकतन्त्रको विकल्प लोकतन्त्र

हुलाक बदलियो। हुलाकी बद्लिएन। यस्तो पद्धतिले व्यवस्थालाई खान्छ। कहिलेसम्म यो पद्धति चल्छ? सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूकैबारेमा कुरा गर्दा उहाँ यो परिवर्तनको सबैभन्दा ठूलो विरोधी हुनुहुन्थ्यो। तर आज उहाँ प्रधानमन्त्री हुनुहुन्छ। र, त गणतन्त्र सुरक्षित छ। उहाँले त्यो पद ओगट्नु भएको छ र त गणतन्त्र सुरक्षित छ। होइन भने यो गणतन्त्र धरापमा फसिसकेको हुने थियो। त्यसैले गणतन्त्रको विकल्प निर्दलीयता, राजतन्त्र होइन। लोकतन्त्रको विकल्प भनेको सम्भवतः लोकतन्त्र नै हुन्छ। समस्या लोकतन्त्रमा छैन, गणतन्त्रमा छैन। समस्या हाम्रो सोचमा छ। त्यसैले गणतन्त्र संस्थागत हुन सक्यो सकेन ? यो बहस हुन बाँकी विषय हो।

(कांग्रेस नेता नरहरि आचार्यको कृति 'गणतन्त्रको यात्रा : बन्दी वृत्तान्त' विमोचन कार्यक्रमा नागरिक अगुवा पहाडीको मन्तव्यको सम्पादित अंश)

प्रस्तुति : राजु पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.