चिकित्सकको सुझाव : मासु खाँदा सतर्क बनौं

|

काठमाडौं : नेपालमै पहिलो बर्ड फ्लूको भाइरस  (एच फाइभ एन वान)  मानिसमा देखिएको छ। पंक्षीमा मात्रै देखिने बर्ड फ्लूको भाइरस पहिलो पटक मानिसमा देखिएको हो । बर्ड फ्लूको भाइरस भेटिएका काभ्रेका २१ वर्षीय युवाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

गत चैत १२ गते सामान्य रुघाखोकी लागेपछि अस्पताल गएका ती युवकको १५ चैतमा उपचारकै क्रममा मृत्यु भएको थियो। यसअघि कुखुरा, हाँस र अन्य चरामा यो रोग देखा परेको थियो । तर मानिसमा यो रोगको भाइरस पहिलो पटक भेटिएको हो । 

स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाएका ती युवा एउटा पसलमा काम गर्थे । साधरणत: पशुपंक्षीसँग बढी उठबस हुने मानिसमा यो भाइरस सर्ने गर्छ । तर काभ्रेका ती युवा पोल्ट्री फर्ममा काम गर्दैनथिए । 

मानिसमा बर्ड फ्लू भाइरस देखिएपछि स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले अप्रत्यासित भन्दै सम्वेदनशील भएको जवाफ सञ्चारकर्मीलाई दिइरहेका छन् । काभ्रेका ती युवा गत १० चैतमा ज्वरो र खोकीको लक्षण देखिएपछि उपचारका लागि अस्पताल पुगेका थिए। अस्पतालले फ्लूको आशंकामा र्‍याल परीक्षणका लागि ११ चैतमा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो ।

त्यहाँ ती युवालाई इन्फ्लूएन्जाको औषधिसमेत दिएर उपचार सुरु गरियो । तर, श्वासप्रश्वासमा समस्या भई चैत १५ गते नै उनको उपचारका क्रममा मृत्यु भयो। उनलाई बर्ड फ्लू भाइरस लक्षण देखिएपछि जापानस्थित डब्लुएचओ कोलाबोरेटिङ सेन्टर फर इन्फ्लूयन्जामा र्‍यालको नमुना परीक्षणका लागि पठाइएको थियो। त्यहाँबाट चैत १७ मा आएको रिपोर्टमा बर्डफ्लू पुष्टि भएको हो।

विश्वका आठ सय ६० जनामा संक्रमण

सन् १९९६ मा पहिलो पटक यो भाइरस पत्ता लागेको थियो। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सन् २००३ देखि हालसम्म विश्वभर आठ सय ६० जनामा यो भाइरसको संक्रमण भएको तथ्यांक छ। बंगलादेश, पाकिस्तान, युगाण्डा हुँदै पछिल्लो पटक नेपालमा यो भाइरस मानिसमा देखिएको हो।

यो भाइरसको संक्रमण भएका मध्ये चार सय ५४ जनाको बिरामीको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाएको छ।

 सरकार भन्छ : अप्रत्याशित घटना

नेपालमा यसअघि मानिसमा स्वाइन फ्लू भाइरस देखिएको थियो । तर बर्ड फ्लू भाइरसले मानिसको ज्यानै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालकी सचिव डा. पुष्पा चौधरीले भनिन्, 'विश्वमै गम्भीर मानिएको यो भाइरसले मानिसको ज्यान लिएपछि हामी एकदमै गम्भीर भएका छौँ।‘

यता विश्वा स्वास्थ्य संगठन नेपालका प्रमुख डा.जोसले संसारमा थोरैमा देखिएको गम्भीर प्रकारको यो भाइरसबाट जोगिन सजग हुने बेला आएको बताए।

पशुसेवा निर्देशनालयका अनुसार यसअघि २०७५ फागुनमा काठमाडौंको ताक्रेश्वर र मकवानपुरको हेटौँडास्थित पोल्ट्री फर्मका कुखुरामा एच फाइभ एन वान भाइरस देखिएको थियो।

निर्देशनालयका महानिर्देशक डा. वंशी शर्माका अनुसार हालसम्म पोखरा, विराटनगर, काठमाडौं, सर्लाहीमा पटक पटक बर्ड फ्लू भाइरस देखिएको छ। ‘पछिल्लो दुई महिनायता तारकेश्वरबाट सुरु भएको बर्ड फ्लू हेटौँडा, सर्लाही र मोरङमा पनि देखा परेको छ', उनले भने । शर्माले यो सिजन मात्रै एक लाख बढी कुखुरा नस्ट गरिएको छ ।

मासु खाँदा सतर्क बनौँ : चिकित्सक

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाका अनुसार एभियन इन्फ्लूएन्जा टाइप ए नामक सुक्ष्म भाइरसबाट लाग्‍ने प्राणघातक रोग हो बर्ड फ्लू। यो भाइरसले अतिचाँडो आफ्नो वंशाणुगत स्वरुपमा परिवर्तन गर्नसक्ने क्षमता राख्छ। यस क्रममा शरीरका कोषसँग समायोजन भएर नयाँ किसिमका हानिकारक जीवाणु जन्मन्छ । जुन पशुबाट मानिसमा सर्छ।

मानिसमा कसरी सर्छ?

बर्ड फ्लू संक्रमित पंक्षीहरुको प्रत्यक्ष सम्पर्कमा आउँदा यो भाइरस स्वस्थ व्यक्तिको शरीरमा पस्छ। संक्रमित पंक्षीले १० दिनसम्म रोग सार्न सक्ने भएकाले पंक्षीहरु मारेर सुरक्षित ढंगले गाडिन्छ । 

पंक्षीबाट मानिसमा सर्ने यो भाइरस मानिसबाट मानिसमै सर्ने कुरा आजसम्म एकिन हुन नसकेको चिकित्सकहरु बताउँछन् । रोगी पंक्षीको मासु, अण्डा, सुलीलगायत पदार्थबाट यो रोग सर्छ। मासु चालाउँदा वा खोरमा काम गर्दा पनि यो रोग सर्छ। बसाइँ सर्ने चराको शरीरमा बर्ड फ्लूका जीवाणु सुरक्षित रहन्छन्। फिरन्ते चराको सम्पर्कबाट स्थानीय चरामा बर्ड फ्लू सर्छ। बर्ड फ्लूका भाइरस एउटा मानिसबाट अर्कोमा सरेको तथ्य भने भेटिएको छैन। तर पंक्षीबाट मानिसमा सर्ने गर्छ। मानिसमा यो रोग लागेमा मृत्यु हुने खतरा ६० प्रतिशत रहन्छ।

कुखुराको मासु कति  सुरक्षित ?

धेरैले बर्ड फ्लू देखिएपछि पंक्षी (विशेषगरी कुखुरा) को मासु खानु हुँदैन भन्‍ने भ्रम छ । तर ठ्याक्कै त्यस्तो नहुने डा बाँस्तोलाले बताए। ‘राम्रोसँग सफा गरेर ७० डिग्री भन्दा माथिको तापक्रम मासुलाई पकाएर खाँदा केही जोखिम हुँदैन', बाँस्तोलाले भने । 

तर पोल्ट्री फर्ममा र मासु पसलमा काम गर्नेहरुले विशेष ध्यान दिनु पर्ने उनको भनाइ छ। ‘मानिसमा बर्ड फ्लू सर्ने पंक्षीबाट हो', उनले भने, 'जसले गर्दा प्रोल्ट्री फर्म र मासु पलमा काम गर्नेले विशेष ध्यान दिनु पर्छ।‘

बर्ड फ्लूका लक्षण

बर्ड फ्लू संक्रमित पंक्षीहरु १० दिनपछि मर्न थाल्छन्। यस्ता पंक्षीको सम्पर्कमा आएका मानिसमा सुरुमा ज्वरो आउने, टाउको दुख्ने र रुघा लागेजस्तो लक्षण देखिन्छ । त्यससँगै नाक सुख्खा भइ सिँगान नबग्ने र श्वास फेर्न गाह्रो हुन्छ ।

कसरी जोगिने ? 

  • कुखुरा लगायत पक्षीहरुको खोरमा काम गर्दा माक्स र पञ्चा लगाउने।
  • रोगग्रस्त पंक्षीबाट जोगिनु नै सबैभन्दा उत्तम उपाय हो ।
  •  कुखुरा लगायत पंक्षीको सम्पर्कमा आउँदा सावधानी अपनाउने।
  • घरपालुवा पशुमा यसको लक्षण देखिए तुरुन्त पशु स्वास्थ्य कार्यलयमा खबर गर्ने।
  • संक्रमित कुखुरका अन्डा र मासु नखाने, दाना र सुली नछुने ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.