|

काठमाडौं : लामो समयदेखि भारतबाट अवैध लागूऔषध ल्याएर नेपालमा बिक्री गर्ने गिरोहका पाँच जनालाई प्रहरीले काठमाडौंको बिभिन्न ठाउँबाट आइतबार पक्राउ गरेको छ। प्रहरीले लागूऔषध मनाद्दिपक पदार्थको कारोबारमा संलग्नहरुलाई पक्राउ गरेको लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख डिआइजी जयबहादुर चन्दले जानकारी दिए।

ब्युरोको प्रहरी टोलीले काठमाडौं महानगरपालिका ६ बस्ने ४१ वर्षिया सुनिता परियार, चावहिल मैजुवहाल बस्ने ३२ वर्षिय अनुप बराइली, महांकाल बस्ने २६ वर्षिय आदर्श तामाङ, ललितपुर गावहाल बस्ने ३२ वर्षिय विष्णु रणपहेली र नारायणटार माकलवारीका ३० वर्षिय विजय तामाङलाई पक्राउ गरेको हो।

उनीहरुबाट प्रहरीले तीन हजार एक सय ८० एम्पुल लागूऔषध बरामद गरेको हो। प्रहरीले डाइजेपाम एक हजार ६० एम्पुल, बुप्रेनर्फिन एक हजार ६० एम्पुल र फेनार्गनका एक हजार ६० एम्पुल बरामद गरेको हो। 

बाराको भलुहिभरवलियामा पक्राउ परेका केशव महतो र राजेश दासलाई पक्राउ गरेपछि उनीहरुको बयानको आधारमा यी पाँच जना पक्राउ परेको डिआइजी चन्दले जानकारी दिए। ‘यिनीहरु एउटै समूहमा रहेर लामो समयदेखि लागूऔषध कारोबारमा संलग्न हुँदै आएका रहेछन्’, उनले भने ‘महतो र दास पक्राउ परेपछि उनीहरुकै बयानको आधारमा अन्य पाँच जना समातिएका हुन्।’

अहिले नेपाली समाजमा सबैभन्दा ठूलो समस्याको रुपमा नै यी लागूऔषध रहेको पनि उनले जानकारी दिए। ‘कोकिन, खैरो हेरोइन जस्ता लागूऔषध नेपाली युवाहरुले खर्च गरेर किन्न सक्दैनन् यो लागूऔषध १५–१६ सयमा नै पाइने भएकोले नेपाली युवाहरु धेरै जसो यही लागूऔषधका अम्मली छन्’ उनले भने– ‘यो मेडिकल ड्रग भएकोले पनि सजिलै उपलब्ध हुने गर्दछ।’

डाईजेपाम, बुप्रेनर्फिन र फेनार्गन मिलाएपछि मात्र लागूऔषध बन्ने गरेको पनि ब्युरोका एसएसपी गणेश केसीले जानकारी दिए। ‘छुट्टाछुट्टै रुपमा यसलाई पेनकिलरको रुपमा डाक्टरहरुले प्रयोग गर्दै आएका छन् तर तीन बटै मिलाएपछि यसले लागूऔषधको रुप लिन्छ’, उनले भने ‘छुट्टाछुट्टै हुँदा पक्राउ गर्न मिल्दैन तर तीन वटा भएपछि लागूऔषध हुने भएपछि पक्राउ गर्न मिल्छ।’

भारतमा नै उत्पादन हुने यी लागूऔषध बिराटनगर, विरगन्ज तथा भैरहवाको नाका हुँदै नेपाल भित्रिएर विक्रि वितरण हुने गरेको अनुसन्धानमा खुलेको जनाइएको छ। पक्राउ परेकाहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ अन्र्तगत मुद्दा दर्ता गरी कारवाही गरिने पनि जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.