|

वासिङ्गटन : अमेरिकाको प्रतिष्ठित टाइम म्यागजिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई 'इन्डियाज डिभाइडर इन चिफ' को संज्ञा दिएको छ।

भारतमा लोकसभाको चुनाव चलिहरेका बेला टाइमले मोदीको व्यक्तित्वबारे विवादास्पद शीर्षसहित कभरमा फोटो प्रकाशित गरेको हो। 

टाइमले भनेको छ, 'के विश्वको सबैभन्दा ठुलो लोकतन्त्र फेरि मोदीलाई पाँच सालको अवसर दिनका लागि तयार छ ?' म्यागजिनले आफ्नो कभर पेजमा 'इन्डियाज डिभाइडर इन चिफ' शीर्षक दिएर मोदीको फोटो छापेको हो। मोदीमाथि आधारित यो लेख आतिश तासिरले लेखेका छन्। 

यसभन्दा पहिले टाइमले सन् २०१४, २०१५ र २०१७ मा प्रधानमन्त्री मोदीलाई विश्वका १०० सर्वाधिक प्रभावशाली मानिसको सूचीमा सामेल गरेको थियो।

असफल भएपछि राष्ट्रवादको सहारा

म्यागजिनले सन् २०१४ मा जनतालाई आर्थिक सुधारका ठुला-ठुला सपना देखाएका मोदी अहिले यसबारेमा कुरा गर्नै नचहाने अवस्थामा रहेको दाबी गरेको छ। 'अहिले उनको सबै जोडबल हरेक असफलताको दोष कांग्रेसलाई थोपर्न र जनताबीच राष्ट्रवादको भावना सञ्चार गर्नुमा रहेको छ', टाइमले भनेको छ, 'भारत-पाकिस्तानबीच चलिरहेको तनावको फाइदा उठाउन पनि उनले कुनै कसर बाँकी राखेका छैनन्।'

२०१४ मा 'मसिहा' अहिले केबल नेता

म्यागजिनले यो पटक पनि मोदीले चुनाव जितेर सरकार बनाउने सम्भावना रहेको संकेत गरेको छ। तर अब उनीसँग २०१४ को जस्तो चमत्कारिक छवि नरहेको दाबी टाइमले गरेको छ। टाइमले सन् गुजरातका मुख्यमन्त्री मोदीले २०१४ मा जनताको आक्रोशलाई पहिचान गरेर २८२ सिट जित्न सफल भएको जनाएको छ। 'देशमा लामो  समय शासन गर्ने कांग्रेस केवल ४४ सिटमा समेटियो', टाइमले भनेको छ, 'यहाँसम्मकि उसलाई विपक्षी नेता बन्‍न लायक सिट पनि मिल्न सकेन ।'

'त्यो बेला मोदी 'मसिहा' थिए, जनताका आशाका केन्द्र थिए। एकातर्फ उनलाई हिन्दुका सबैभन्दा ठुला प्रतिनिधि मानिन्थ्यो। अर्कातर्फ मानिसले दक्षिण कोरियाको जस्तै विकासको आशा गरेका थिए। अहिले त्यसको उल्टो उनी केबल एक राजनीतिज्ञमा सीमित भएका छन्। जसले आफ्ना कयौँ वाचा पुरा गर्न चुकेका छन्।'

मोदीको कार्यकालमा अविश्वास बढ्यो

म्यागजिनका अनुसार भारतीय जनताले सुरुमै एक उत्कृष्ट भारतको अपेक्षा गरेका थिए। तर मोदीको कार्यकालमा अविश्वासको यात्रा सुरु भयो। हिन्दु-मुस्लिमबीच तीब्र गतिमा सौहार्दता घट्यो। गाईको नाममा एक वर्ग विशेषमाथि निशाना बनाइयो। 

सबैभन्दा महत्वपूर्ण त सरकारले यी कुरामा कुनै ठोक कदम नै चालेन, उल्टै चुप बस्यो। म्यागजिनका अनुसार आफ्नो असफलताका लागि मोदीले सधैँ कांग्रेसमाथि दोष थोपरिरहे। 

मोदीले जनताको कुरा सुन्‍नु भन्दा पनि आफूलाई सर्वेसर्वा ठानेको टाइमले उल्लेख गरेको छ। 'जब संकट आइ लाग्छ तब उनी आफूलाई गरिबको छोरो भन्न चुक्दैनन्।'

राजनीति आफैँ वरिपरि घुमाए

मोदीले राजनीतिलाई आफ्नो वरिपरि घुमाउने कोशिश गरे। 'त्यही भएर भाजपाका एक युवा नेता  तेजस्वी सूर्या भन्‍ने गरेका छन्, 'यदि तपाईं मोदीको साथमा हुनुहुन्‍न भने देशको साथमा पनि हुनुहुन्‍न।'  

मोदीले तीन तलाक समाप्त गरेर मुस्लिम महिलाको हिरो बन्‍ने कोशिश गरे । तर तस्विरको स्वरुपले महिलाको सुरक्षाको मामिलामा भारतलाई सबैभन्दा तल पुर्‍याइदिएको छ। साम्प्रदायिक खाडलाका साथै जातिवादी खाडल झनै बढ्दै गएको छ।

नोटबन्दीले मार्‍यो 

टाइमले मोदीले लगभग हरेक क्षेत्रमा आफ्नै खुसीले निर्णय गरेको लेखेको छ। हिन्दुत्वका प्रबल समर्थक स्वामिनाथन गुरुमूर्तिलाई रिजर्भ बैंक अफ इन्डियाको बोर्डमा सामले गरे। उनकोबारेमा कोलम्बियाका अर्थशास्त्रीले भनेका थिए, 'यदि उनी अर्थशास्त्री हुन् भने भरतनाट्यम डान्सरमा मात्रै।'

म्यागजिनले गुरुमूर्तिले नै कालोधनसँग लड्नका लागि नोटबन्दीको सुझाव दिएको दाबी गरेको छ। यसको मारबाट भारत अझै उठ्न नसकेको पनि टाइमले लेखेको छ। 'मोदीले अब सत्तामा टिकिरहन राष्ट्रवादलाई नै गतिलो विकल्प बनाएका छन्', टाइमले भनेको छ, 'उनी भारत-पाकिस्तानबीच चलिरहेको तनावको फाइदा लिन पनि चुकेका छैनन्। अब मोदीले आर्थिक विकासको विकल्पमा राष्ट्रवादको हतियार मतदातामा तेर्स्याइसकेका छन्।'

विपक्षी एजेन्डा : मोदी रोकौँ

सन् २०१७ मा उत्तरप्रदेशमा चुनाव जितेपछि मोदीले योगी आदित्यनाथलाई त्यहाँको कमान सुम्पेका थिए। 'योगीले सीधै हिन्दु- मुस्लिम विभाजनको वकालत गर्दै आएका छन्। तर मोदीलाई विपक्ष कमजोर भएको फाइदा मिलेको छ', टाइमले भनेको छ, 'विपक्षको केवल एउटै एजेन्डा मोदीलाई कसैगरी रोक्ने मात्रै हो।'

दोस्रो कार्यकाल सम्भव

टाइमका अनुसार मोदीलाई आफूले सन् २०१४ का बाचा पुरा नगरेको राम्ररी थाहा छ। 'तर उनी आफ्नो 'व्हाइट हाउस' मा बसेर आफ्ना सबै असफलताको दोष विपक्षी कांग्रेसलाई थोपर्न कुनै कसर बाँकी राख्दैनन्', टाइमले भनेको छ।

टाइमले मोदीलाई दोस्रो कार्यकाल सत्तामा पुग्न ठुलो अड्चन नरहेको जिकिर गरेको छ। 'तर आफ्नो असफलताको सजाय सारा दुनियाँलाई दिन मोदी तयार रहेको अवस्थाका लागि जनताले आफूलाई तयार राख्‍न भने जरुरी छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.