ट्याक्सी तारेको तीन हजार

|

संखुवासभा : भोजपुर जिल्लाले देशकै सर्वोच्च पदमा पुर्‍याउने धेरै व्‍यक्ति जन्मायो। तर,  भोजपुरवासीले विकासको महसुस गर्न पाएका छैनन्। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईको गृहजिल्ला भोजपुर जोड्ने अरुण नदीको लम्सुवाघाटमा पक्की पुल नहुँदा डुंगाको सहारामा सवारीसाधन तारिएको छ।

यात्रु तथा मालसामान तार्न डुंगाले केही दिनअघि एउटा ट्याक्सीसमेत तारेको छ। सवारीसाधन मात्र  होइन भोजपरका स्थानीय यसरी नै जोखिमपूर्ण यात्रा गर्ने गरेका छन्। ट्याक्सी तारेका प्रदीप तामाङले तीन हजार तिर्नुपरेको बताए। अरुण नदीमा पक्की पुल नहुँदा स्थानीयले दैनिक उपभोग्य सामग्रीसमेत महँगो शुल्क तिर्नुपरेको स्थानीयको भनाइ छ। भोजपुर र संखुवासभा जोड्ने अरुण नदीमा नौ वर्षअघि निर्माण थालिएको पुल अहिले अलपत्र अवस्थामा छाडिएको छ।

२०६७ सालमा तत्कालीन उपप्रधान तथा भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले शिलान्यास गरेको थिए। स्वच्छन्द निर्माण कम्पनीले २०६७ साल असार २५ गते सम्झौता गरेर काम थाले पनि नौ वर्ष बित्दा २० प्रतिशत मात्र काम भएको छ। 

लामो समय निर्माण कार्य रोकिएपछि केही डिजाइन परिवर्तन गरेर समय पनि थपिएको थियो। विभिन्न कारण देखाउँदै तीन वर्षअघि बीचमै काम छाडेर ठेकेदार भागेपछि पुल निर्माण अलपत्र बनेको हो। २०७२ असोजमा निर्माण सम्पन्न हुनुपर्ने १ सय ६७ मिटर लामो यो पुलमा ६ वटा पिलर आधा मात्रै उठाइएको छ। स्वच्छन्द निर्माण कम्पनीले २०६७ सालमा निर्माण सुरु गरिएको पुल निर्माण कार्य अहिले ठप्प छ।

पुलको जमिनमुनिको पिलर निर्माण गर्ने क्रममा १२ मिटरमै चट्टान भेटिएको भन्दै ठेकेदारले काम छाडेको हो। लामो समय निर्माण कार्य रोकिएपछि डिजाइन परिवर्तनका लागि समय पनि थपिएको थियो। १६ करोड ६३ लाखको लगानीमा निर्माण हुन लागेको पुल अहिले अलपत्र अवस्थामा छ। करोडौँ रुपैयाँको लागतमा निर्माण हुने भनिएको पुल अहिलेसम्म नबन्दा स्थानीय सास्ती भोगिरहँदा सरोकारवाला निकाय मौन छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.