|

काठमाडौं : पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विगतमा अर्थमन्त्री डा. युवराज खतिवडा राजनीतिक आग्रहबाट संचालित भएको भन्दै अबका दिनमा त्यस्तो व्यवहार नदेखाउन सुझाव दिएका छन।

प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा आफ्नो धारणा राख्दै कार्कीले अर्थमन्त्री डा. खतिवडालाई राजनीतिक आग्रह र पूर्वाग्रहबाट मुक्त हुन सुझाव दिएका हुन।

अर्थमन्त्री खतिवडाले विदेश जाँदा नेपालको इतिहासमा लगातार तेस्रो वर्ष ७ प्रतिशत आर्थिक विकास गर्न सफल भएको भन्ने अभिव्यक्ति दिएको तर २०७४ सालमा स्वेत पत्र जारी गरेर देशको अर्थतन्त्र टाट पल्टिएको घोषणा गर्नु गलत भएको धारणा राखेका थिए। उनले राजनीतिक पूर्वाग्रह देखाएर मुलुकमा मिथ्यांकका रूपमा प्रस्तुत गर्ने र विदेशमा सोही कुरालाई प्रगतिको रूपमा लेख्ने गर्नु ठीक नभएको धारणा राखे।

कार्कीले भने, 'मुलुकको ढुकुटीको चाबी बोकेको सरकारको अर्थमन्त्रीले राजनीतिक आग्रह र पुर्वाग्रहभन्दा माथि उठेर यथार्थवादी हुनु जरुरी छ। आफूबाहेक अरु सबै खराब हुन भन्ने दर्शनले अर्थतन्त्रलाई सही बाटो दिन सक्दैन।'

सरकारले यत्रतत्र जथाभावी कनिका छरे जसरी बजेट छरेर भोटको राजनीतिलाई सुरक्षा गर्ने अस्त्रको रूपमा लिएको भन्दै कार्कीले त्यसतर्फ गम्भीर ध्यानाकर्षण गराएका थिएर।

सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी बजेट तर्जुमा गर्ने, कृषि उत्पादनमा वृद्धि, आयात निरुत्साहीत र निर्यात वृद्धि, व्यापार घाटा कम गर्ने तथा राजश्व प्रणालीलाई लगानी मैत्री बनाउने भनिएपछि प्राथमिकतामा नपरेको भन्दै यसबारे स्पष्ट योजना आउनुपर्नेमा कार्कीले जोड दिए। बजेटको अनुशासन कायम भएको भन्ने सरकारको दाबी सही नभएको कार्कीको टिप्पणी थियो।

कार्कीले नाराको आधारमा नभएर वास्तविकताको आधारमा मुलुकको अर्थतन्त्र अगाडि बढाउन सरकारले कदम चाल्नुपर्ने धारणा राखेका थिए। ठूला योजना बजेट अभावमा अगाडि बढ्न नसकेको कार्की भनाइ थियो।

सम्बन्धित समाचारः 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.