|
File Photo

बाँके : नेपालगन्ज उप–महानगरपालिका–४, बसपार्क नजिक ग्यारेजमा पार्किङ गरिराखेका बसमा आगलागी भएको छ। बस मर्मत गर्ने क्रममा ग्यारेजमा आगलागी हुँदा मर्मत गर्न पार्किङ गर्न राखिएका चारवटा बसमा आगलागी भएको छ।

नेपालगन्ज बसपार्कबाट बाइपास हुँदै कारकाँदो चोक निस्कने सडकमा कृष्णबहादुर पुनले सञ्चालन गरेको ग्यारेजमा बस मर्मत गर्ने क्रममा आगलागी भएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

उनका अनुसार आगलागीमा दुई वटा बस जलेर नष्ट भएका छन् भने दुई बसमा आंशिक क्षति भएको छ। आगलागीमा परी ना ४ ख ७०२४, ना ५ ख २४६५ मा पूर्णरूपमा क्षति भएको छ भने ना ६ ख ९११६, क.प्र.०२.००१ ख ००१२ नम्बरका बसमा आंशिक क्षति भएको छ।

प्रहरी नायव उपरीक्षक सापकोटाले बसमा वेल्डिङ गर्दै गर्दा हावा चलेका कारण आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र नेपालगन्ज उप–महानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.