|

काठमाडौं : जोरपाटीको नयाँ बस्तीमा ट्याक्सी चालक राजकुमार लामाको हत्या यौन सम्पर्क गर्न नदिदा भएको रहस्य खुलेको छ। लामाले स्थानीय होटलमा काम गर्ने युवतीसँग यौन सम्पर्कको प्रस्ताव गर्दा विवाद हुँदा उनको हत्या भएको रहस्य खुलेको हो। 

‘लामाले पैसा दिई होटलमा काम गर्ने युवतीसँग यौन सम्पर्क गरेका रहेछन्’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने ‘दोस्रो पटक पनि प्रयास भएपछि विवाद भएको रहेछ रक्सीले मातिएका लामालाई युवतीले धकेलेर लडाएपछि त्यहीँ रहेका अर्का युवक मागधन राईले टाउकोमा ढुंगा प्रहार गर्दा मृत्यु भएको रहेछ।’

प्रहरीका अनुसार ट्याक्सी चालक लामा साढे चार बजे नै संगीता राई थिङको हेलम्बु होटलमा तोङ्बा खान गएका थिए। त्यही क्रममा होटलमा काम गर्ने युवतीसँग चिनजान भयो। लामाले त्यहाँ बसेर धेरै बेर मादक पदार्थ सेवन गरे। त्यसपछि लामाले युवतीलाई ट्याक्सीमा लिएर दोहोरी साँझतर्फ गए। तर केही बेर गुडेपछि ट्याक्सी बिग्रियो। त्यसपछि उनीहरु फेरि हेलम्बु होटलमा फर्किए। करिब साँढे नौ बजे रेष्टुरेन्ट फर्किदा सबै सुतिसकेकोले लामा र युवतीबीच शारीरिक सम्पर्क भएको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ।  

लामाले फेरि अर्को पटक पनि शारीरिक सम्पर्कको प्रयास गर्दा युवतीले नमानेपछि धकेलाधकेल भयो। रक्सीले मातेका लामा भुईमा लडेका थिए। भुईमा लडेका लामालाई होटल सञ्चालक संगीताका भाई मागधनले टाउकोमा ईट्टा प्रहार गरे। त्यसको केही समयपछि संगीताले प्रहरीलाई खबर गरी लामालाई अस्पताल पठाएका थिए।

टाउकोमा गम्भीर चोट लागेको नेपाल मेडिकल कलेज अत्तरखेल लैजाँदा बाटोमा नै मृत्यु भएको थियो। नयाँबस्तीमा रहेको कुमारी मन्दिर अगाडि धनप्रसाद शाहीको घरको भुई तल्लामा रहेको संगीता राई थिङले सञ्चालन गरेको हेलुम्बु रेष्टुरेन्टको पछाडि पट्टीको धारा छेउमा लामा राती १० बजेर ४५ मिनेटमा अचेत अवस्थामा फेला परेका थिए।

उनको हत्यामा संलग्नको अभियोगमा प्रहरीले सोलु कांकुका ३४ वर्षिया संगीता राई थिङ, ढलानको काम गर्ने २६ वर्षिय मागधन राई, रंगको काम गर्ने २० वर्षिय अरुण माझी काभ्रे घर्तीछापकी २० वर्षिया माया तामाङ र २२ वर्षिया दिया माझीलाई पक्राउ गरेको छ।

दोलखा भीमेश्वर १२ घर भई गोकर्णेश्वरको नयाँ बस्तीमा बस्दै आएका ३६ वर्षिय लामाले बा २ ज २२३ नम्बरको ट्याक्सी चलाउदै आएका थिए। नयाँबस्ती प्रहरी चौकी अगाडि घटना भएपछि स्थानीयवासीले सुरक्षा नभएको भन्दै मंसिर २६ गते महानगरीय प्रहरी विट, नयाँबस्ती तोडफोड गरेका थिए। स्थानीय वासिन्दाले विटमा आगजनी गर्नुका साथै पाँच वटा मोटरसाइकल जलाएका थिए। 

२०७३/०८/२९ साँझ ९ बजे अद्यावधिक गरिएको

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.