|

कञ्चनपुर : साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले राजनीति जान्नेहरूले नै देश बिगारेको आरोप लगाएका छन्।

बिहीबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारी बजारमा भ्रष्टाचार विरुद्धको अभियानका लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारका कारणले देशले विकासमा फड्को मार्न नसकेको बताए। नेपालभन्दा पछाडि परेका देशहरूले विकास र सुशासनमा प्रगति गरेर अगाडि बढेको तर बेइमान राजनीति गर्नेहरूका कारण देशले कोल्टे फेर्न नसकेको उनले बताए।  पचास वर्षसम्म देशको शासन गर्नेहरूले देश बिगारेको उनको भनाई छ। 

बढ्दो भ्रष्टाचारको अन्त्य गर्नका लागि आ-आफ्नो ठाउँबाट उठनु पर्ने चर्चा गर्दै उनले सदाचार पद्धतिमा विश्वास गर्ने क्षमतावान व्यक्तिहरूलाई राजनीति गर्ने ठाउँमा पुर्‍याउनु पर्ने बताए। 'जनताप्रति बेइमानी गर्दैनौं। राष्ट्रघात गर्दैनौँ भन्ने राजनीतिक नेतृत्व आवश्यक भएको छ' उनले भने। 

पार्टीका संगठन विभाग प्रमुख एवं राजनीतिक विश्लेशक मुमाराम खनालले लोकतन्त्रको आधार स्तम्भका रूपमा रहेका विधिको शासन, असल संस्कार र संस्कृतिको जग बस्न नसक्दा भ्रष्टाचारले प्रश्रय पाएको बताए। समावेशी, सहमतिका आधारमा मिलेरै संस्थागत रूपमै राजनीतिक संरक्षणमै भ्रष्टाचार भइरहेको उनको दावी छ।

 विकासको ७५ प्रतिशत बजेट भ्रष्टाचारमा जाँदा जनताको अवस्थामा परिवर्तन नभएको र बाटोघाटो र रोजगारीको अवस्था सुधार नआएको उनको भनाइ छ। 

'देशमा ठूलाठूला क्रान्ति भए जनताले परिवर्तनको ठूलो आशा राखे पनि राजनीतिक तहमा भ्रष्टाचार गर्ने संयन्त्र बनाइदा क्रान्ति गलत उद्देश्यका लागि भएको आभाष हुन थालेको छ।  नेताहरूको उन्नति त भयो। जनताको अवस्था उस्तै छ' उनले भने।  

पार्टीका केन्द्रीय सदस्य केशव दाहालले ३०/४० वर्ष कांग्रेस कम्युनिष्टले जनतालाई मीठा सपना देखाएर देश बदल्ने नाममा भ्रष्टाचारलाई प्रश्रय दिएको बताए। उनका अनुसार देशमा प्रति वर्ष रू ५० अर्बको भ्रष्टाचार हुने गरेको छ।

भ्रष्टाचार भएको रकम मुठ्ठी भर नेता र कर्मचारीको खल्तीमा जाने गरेको दावी गर्दै उनले चप्पल लगाएर हिँड्नेहरू अहिले सिंहदरबार अगाडि आलिसान घरमा बस्ने र कार चढेर हिँड्न थालेको बताए। अब जनताले यत्रो सम्पत्ति कहाँबाट आयो भनेर सोध्ने बेला आएको बताए। 

अभियानमा बालुवाटार जग्गाकाण्ड, एनसेल काण्ड, वाइडवडी काण्ड, आयल निगम काण्ड, सुनकाण्ड, फोर जि काण्डलगायत मुद्दाहरू पार्टीका नेताहरूले जनतालाई सम्झाउँदै हिँडेका छन्। अभियानको मूल नारा भ्रष्टाचारी जेल परून् भन्ने रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.