|

धनकुटा : धनकुटामा जारी १४ औं संस्करणको शहीद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको बिहीबार भएको  दोस्रो सेमिफाइनल खेलमा विर्ता युनाइटेड क्लब झापालाई ० का विरुद्ध १ गोलले पराजित गर्दै विभागीय टीम सशस्त्र प्रहरी बल (एपिएफ)  फाइनलमा प्रवेश गरेको छ।

एपिएफका लागि खेलको ४४ औँ मिनेटमा जर्सी नं १० का रवि थिङले गरेको गोल निर्णयक बनेको थियो। निर्धारित ९० मिनेटको खेलमा लगातार एपिएफलाई दवावमा राखेको झापाले धेरै पटक गोल गर्ने अवसर पाएपनि बललाई जाली चुमाउन सकेन। दर्शकको पनि साथ पाएको झापाले कतिपय गोल गर्ने मौका चुकाउँदा पराजय व्यहोर्नु परेको हो।

झापाले गरेको दर्जन बढी प्रहारलाई एपिएफका गोल रक्षक अमृत चौधरीले उत्कृष्ट बचाउ गरे भने दोस्रो हाफको ३४ औँ मिनेटमा झापाका जर्सी नम्बर १२ का प्रवेश दनुवारले गरेको प्रहार पोलमा लागेर बाहिरिएको थियो।

खेलको म्याच अफ द म्यान एपिएफका गोलकिपर चौधरी घोषित भए। उनलाई प्रदेश सांसद कुशुम श्रेष्ठले पुरस्कृत गरिन्। प्रतियोगिताको फाइनल खेल शुक्रबार दाउफिन्स क्लब क्यामरुन एपिएफ बीच हुने भएको छ।

गत शनिबारदेखि जारी प्रतियोगितामा विभिन्न विभागीय तथा दुई अन्तर्राष्ट्रिय टिमसहित ८ टीमको सहभागिता रहेको आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए। प्रतियोगितामा विजेता टिमले चार लाख रुपैयाँ र ट्रफि तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउने छन।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई म्यान अफ दि म्याच, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र म्यान अफ दि सिरिज (सर्वोत्कृष्ट) खेलाडीबाट पुरस्कृत हुनेछन् भने उत्कृष्ट प्रशिक्षकलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.