|
फाइल फोटो

काभ्रेपलाञ्चोक  : बनेपामा आजदेखि चण्डेश्वरी जात्रा शुरु भएको छ। प्रत्येक वर्ष यहाँका बासिन्दाले मनाउने यो पर्वमा यतिबेला चण्डेश्वरी मन्दिर परिसर बेहुलीझैँ सिङ्गारिएको छ। तीन दिनसम्म मनाइने उक्त जात्रामा यहाँका मानिसमा नयाँ उमङ्ग र उत्सव देखिन्छ। बनेपालीका लागि यो जात्रा महान् चाड दशैँजस्तै लाग्ने गर्दछ। जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन्।

वैशाख शुक्ल पूर्णिमा, जसलाई चण्डीपूर्णिमा नाम दिइएको छ, यही अवसरमा प्रत्येक वर्ष बनेपाको चण्डेश्वरी मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ। यसपालि यो मेला आइतबारसम्म लाग्नेछ। पूर्णिमाको अघिल्लो दिन हनुमान ढोकाबाट ल्याइने तरबार (खड्ग)सँगै जात्रामा सरकारको तर्फबाट समेत पूजा गर्ने व्यक्तिको सहभागिता रहनुले पनि बनेपाली यसको महत्वले अझ व्यापकता पाएकामा गर्व गर्छन्। जात्रा अवधिभर बनेपाका सबै नेवार समुदायका घरमा भोज गरिन्छ। बुढापाकाले टोलटोलमा बसी भजन गाउँछन्। सडक, गल्लीमा भीड हुन्छ।

शक्तिकी अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवीको पूजा गर्न टाढादेखि भक्तजन आउने स्थानीय वृद्ध जगतबहादुर मानन्धरले बताए। उनका अनुसार जात्रामा सामेल हुन पाउँदा ‘मागेको पुग्ने’ कुरामा विश्वास गर्छन्। जात्रामा पूर्णिमाको दिन तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ। यतिबेला रथ तान्ने र घचेट्नेको उत्साहमा थप ऊर्जा प्रदान गर्दै बजारका हरेक घरका झ्यालझ्यालबाट उनीहरुलाई साहस थपिदिने काम पनि हुन्छ भने हरेक घरमा तयार पारिएका प्रसाद झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउँछन्।

पूर्णिमाको भोलिपल्ट बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधि गरिएको स्थान भन्ने विश्वास गरिन्छ, त्यहाँ रथ पुर्‍याउने र भव्य स्वागत सत्कारकासाथ पूजाआजा र बलि दिने परम्परा रहेको स्थानीय इतिहासविद् ज्ञानकाजी मानन्धर बताउँछन्। उनका अनुसार जात्राको शुरुदेखि नै ठाउँठाउँमा बलि दिइन्छ। बनेपा नगरपालिकाले जात्रामा आर्थिक सहयोग पनि गर्दै आएको छ।

चण्डेश्वरी जात्राको महत्व ठूलो भएको जनाउँदै बनेपा र आसपासमा रहेका सङ्घ–संस्था तथा विद्यालय जात्रा अवधिभर बन्द गरिन्छन्। बनेपाबाट जहाँसुकै स्थानमा बसाइँ गएकाहरु पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्छन्। यहाँ छुटाउनै हुँदैन भन्ने जनविश्वास रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.