बिक्रेता संघ भन्‍छ- उत्‍पादन कम भएर मूल्‍य बढेको हो

|

चितवन : ‘आम्मामामा… कति महँगो! नुनभन्दा चर्को टमाटर कसरी खानु?’ उनी अच्चम्मित थिइन् टमाटरको भाउ सुनेर। पसलेको भनाइ विश्वास नलागेझैँ गरी फेरि सेधिन् ‘होर भन्या, त्यति त होइन होला भाइ?’ किनेर खान गाह्रो पर्नेभयो अब’ चितवनको भरतपुर महानगरपालिका १० की सविता नाम बताउने महिलाले पसलेसँग गरेकी संवादको एक अंश हो यो। जतिबेला ती महिला एउटा खुद्रा तरकारी पसलमा टमाटर किन्दै थिइन्।

पछिल्ला केही दिनयता चितवनको तरकारी बजारमा टमाटरको मूल्य छोइनसक्नुभएको छ। अहिले चलेको टमाटरको मूल्य यस वर्षकै महँगो भएको सम्बन्धित व्यापारी र उपभोक्ताहरू नै बताउँछन्।

मूल्य अत्यधिक महँगो भएपछि यसको चर्चा अहिले घरको भान्सा कोठादेखि सामाजिक सञ्जाल हुँदै सरोकार निकायसम्म चुलिएको छ। साथीभाइ भेट हुँदा टमाटरको मूल्य पनि कुराकानीको एउटा प्रसंग उठ्ने गरेको छ।

१ केजी टमाटरको १०० रुपैयाँसम्म

कृषकबाट व्यापारी हुँदै उपभोक्तासम्म पुग्दा टमाटरको मूल्य साँचै नुनजस्तै चर्को हुने गरेको पाइन्छ। केही दिनयता चितवनको खुद्रा बजारमा १ केजी टमाटरको उपभोक्ताले १०० रुपैयाँसम्म तिर्नुपरेको छ। खुद्रा व्यवसायीले टमाटर तरकारी बजारबाट होलसेलमा ५० देखि ६५ रुपैयाँसम्ममा खरिद गरेर उपभोक्तालाई १०० रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन्।

निजी क्षेत्रले भरतपुर महानगरपालिकासँगको समन्वयमा कालीमाटीपछिकै ठूलो महानगर फलफूल तथा तरकारी थोक बिक्री बजार क्षेत्रपुरमा गत वर्षको असोज ७ गतेबाट सञ्चालनमा ल्याएको हो। २२८ वटा स्टल रहेको सो बजारमा तरकारी होलसेल ८० वटा, फलफूलका होलसेल ७० वटा, खुद्रा ४० वटा र २८ वटा फलफुल र तरकारीबाहेकका कृषि उपजका स्टल रहेका छन्।

यस्तै, किसानले आफ्ना उत्पादन आफैँ बिक्री गर्नसक्ने गरी कृषि अक्सन बजारका रूपमा १० वटा निःशुल्क स्टल राखिएका छन्। ती स्टलमार्फत किसान आफैँले दैनिक २५ क्विन्टरसम्म टमाटर बिक्री गर्नेगरेको अक्सन बजार सञ्चालन समितिका सदस्य तथा कृषक रामचन्द्र रेग्मी बताउँछन्।

उनका अनुसार अधिकांशको बारीबाटै बिक्री हुन्छ। मूल्य बढेसँगै कृषकले अहिले प्रतिकेजी न्यूनतम ५० देखि ७५ रुपैयाँसम्म पाउँछन्। यो बजारमा कृषकका लागि डिजिटल काँटा राखिएको छ। ती काँटा प्रयोग गरेबापत समितिलाई किसानले एकपटकमा ५ रुपैयाँ बुझाउनुपर्छ।

टमाटर एक मूल्य अनेक

किसानको उत्पादनलाई उक्त अक्सनबजार र होलसेल बजारबाट किनेर व्यवसायीले हाटबजार तथा खुद्रा पसलमा लगेर बेच्ने गरेका छन्। एकै किसिमको टमाटर मूल्य पनि फरकफरक तिर्नुपर्छ।

खुद्रा व्यापारी देवीलाल रिमालले भरतपुर १८ गञ्जानगरको हाटबजारका लागि २० क्रेटभन्दा बढी गाडीमा लोड गर्दै थिए। अक्सन बजारमा किसानले ल्याएका टमाटर प्रतिकेजी ५० रुपैयाँले किनेर हाटबजारमा लगेर प्रतिकेजी ८० देखि ९० रुपैँयासम्ममा बिक्री गर्ने उनले बताए।

सँगै रहेकी अर्की महिलाले त्यही टमाटर प्रतिकेजी १०० रुपैयाँमा बिक्री गर्ने बताए पनि रिमालले हाटबजारमा उपभाक्ताले सस्तो खोज्ने गरेको बताए। यस्तै देवघाटका खुद्रा व्यापारी राजेन्द्र मिश्र पनि होलसेल पसलबाट टमाटर किन्दै थिए। उनले छानेर थोरै लाने भएकाले ७० रुपैयाँ प्रतिकेजीमा किने। लगेर उपभोक्तालाई प्रतिकेजी १०० रुपैयाँमा बिक्री गर्ने मिश्र बताउँछन्।

यस्तै, भरतपुर १२ मालपोत चोकमा खुद्रा तरकारी व्यापार गर्दै आएका ढाकाराम सुवेदीले होलसेलमा प्रतिकेजी ८५ सम्ममा खरिद गरी उपभोक्तालाई १०० रुपैयाँमा बिक्री गर्ने गरेको सुनाउँछन्। उनका अनुसार टमाटर महँगो भएपछि ग्राहकले पनि मितव्ययिता अपनाउँछन्। उनले भने, ‘पहिले १ केजी लाने ग्राहक आधा केजी र आधा केजी लाने ग्राहक अहिले एक पाउमा झरेका छन्।’ भरतपुर १२ की गीतारत्न साहले आफूले केही दिनयता दैनिक रूपमा प्रतिकेजी १०० मा किनेर खाइरहेको बताए।

किन बढ्यो मूल्य?

जिल्लामा उत्पादन कम हुनु र उत्पादन भएका पनि कम गुणस्तरको हुँदा टमाटरको मूल्य पछिल्ला दिनमा आकासिएको फलफूल तथा तरकारी थोक बिक्रेता संघ चितवनका निवर्तमान अध्यक्ष थिरप्रसाद धितालको भनाइ छ।

'यो सिजन टमाटर कम उत्पादन हुने सिजन पनि हो' धितालले भने, 'यति मात्र होइन। भारतमा भएको चुनावका कारण सीमानाकामा कडाइ हुँदा भारतीय टमाटर सहजरूपमा नेपाल आउन नसक्दा पनि मागअनुसार आपूर्ति कम भएर मूल्य बढेको हो।’

जिल्लाका पूर्वीचितवन र पश्चिम चितवनका विभिन्न स्थानबाट टमाटर बजारमा आउने गरे पनि सधैँको तुलनामा कम भएको उनको भनाइ छ। उनका अनुसार पुसदेखि जेठ १५ सम्म चितवनको उत्पादनले बजारको माग धान्ने गरेकोमा यसवर्ष चाँडै सकिँदै गएको छ। अब छिमेकी जिल्ला धादिङलगायत विभिन्न स्थानबाट आउने र भारतीय टमाटर पनि भित्रिन थालेकाले मूल्य विस्तारै घट्ने उनको विश्वास छ। 

शीतभण्डारको पहल

कृषकले उत्पादन गरेका वस्तु राख्नका लागि शीत भण्डार नहुँदा बजारमा मूल्य तीव्र उतारचढाव हुने गरेको छ। धेरै उत्पादन हुँदा खेरजाने डरले सस्तोमा भए पनि बिक्री गर्नुपर्ने बाध्यता र थोरै उत्पादन हुँदा उपभोक्ताले चर्को मूल्यमा किन्नुपर्ने अवस्थाको अन्त्यका लागि शीतभण्डार स्थापना गर्न पहल भइरहेको धितालको भनाइ छ। शीतभण्डारका लागि प्रदेश सरकार र भरतपुर महानगरसँग कुरा गरेको उनले बताए। फलफूल तथा तरकारी बजारमा एउटा शीतभण्डार बन्नसके मूल्यको अस्वाभाविक उतारचढाव केहीहदसम्म नियन्त्रणमा आउने धितालले बताए।

यस्तै, थोक बिक्रेता बाबुराम घिमिरेका अनुसार यो सिजनमा भारतमा टमाटर प्रतिकेजी ३० रुपैयाँ भारु पर्छ। ढुवानी खर्च ८ रुपैयाँ र भन्सारमा ३ रुपैयाँ तिरेर पसलमा आइपुग्दा ५० देखि ६५ रुपैयाँसम्म पर्नेगरेको छ। चितवनका थोक बिक्रेताले बुटवल लगायतका सहरबाट पनि तरकारी ल्याउने गरेका छन्। केही दिनअघि टमाटरको होलसेल मूल्य प्रतिकेजी ८० रुपैयाँसम्म पुगेको थियो।

तरकारी बजारमा मूल्य उतारचढाव भइरहने भए पनि केही खुद्रा पसलले सोहीअनुसार बिक्री वितरण नगर्दा उपभोक्ता चर्को मूल्यमा पर्ने गरेका छन्। उनले भने, ‘उपभोक्तासँग नजिक हुने भनेको खुद्रा व्यापारीहरू हुन्, उनीहरूले मुख्य बजार र उपभोक्तबीचको पुलको काम गर्ने भएकाले ठिक्क नाफा खाएर बेच्नुपर्छ।’

 बजार मूल्यलाई सधैँ सन्तुलन कायम राख्न कृषकलाई बिउविजन, परामर्श, बजारको मागअनुसार आपूर्ति, अनुगमन, कृषकको उत्पादनलाई बजारीकरण र आवश्यक समन्वय एकद्वार प्रणालीबाट गर्नुपर्ने बाबुरामको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.