|

काठमाडौं : प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई जथाभावी मिडियाबाजी नगर्न निर्देशन दिएको छ । 

सचिव कोइरालाले समितिमा छलफलमा रहेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफलमा रहेका व्यवस्थालाई लिएर सञ्चारमाध्यममा बोलेपछि समितिले सचेत गराएको हो । 

समिति सभापति शशी श्रेष्ठले निर्देशहन दिँदै भनिन्, ‘जे कुरा सचिवले सञ्चारमाध्यममा भन्नु भएको छ, त्यो राम्रो छैन। सरोकारवाला मन्त्रालयको जिम्मेवार पदमा बस्नु भएको छ। यस्तो काम नगर्न ध्यानाकर्षण गराउँदछु।’

समिति सदस्य दिलेन्द्रप्रसाद बडूले पनि कोइरालाले दिएको अभिव्यक्तिमा कडा आपत्ति जनाए। ‘समितिले पास गरिनसकेको विषयलाई जसरी प्रचार गरिएको छ, त्यो राम्रो होइन’, उनले भने, ‘सचिवले पनि अभिव्यक्ति दिएका छन् । यसमा बन्देज लगाउनुपर्छ।’ 

सचिव कोइरालाले केही सञ्चारमाध्यममा परराष्ट्रको सचिवमा अन्य सेवाबाट पनि सचिव बन्न पाउनुपर्ने अभिव्यक्ति दिएका थिए । 

यसबारेमा नेकपाकी सांसद पम्फा भुसालले पदोन्नतिबाट नभइ क्लस्टरबाटै जानुपर्ने धारणा राखिन्। ‘समितिले गर्न लागेको व्यवस्था ठीक हो । सचिव–सचिवको लडाइँ बाघको युद्ध जस्तो भयो, ऐन बनाउने काम छलफल समितिको दायित्व हो’, उनले भनिन्, ‘कर्मचारी बाहिर धेरै नबोल्नुस् । ऐन कानुन तपाईँले बनाउने होइन। हामीले बनाउने हो, तपाईँले पालना गर्ने हो ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.