|

काठमाडौं : यो महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’ मा दार्जिलिङ र सिक्किमको संगम हुने भएको छ। यसका निम्ति दार्जिलिङबाट संगीतकार शान्ति ठटाल आफ्नो टिमका साथ काठमाडौं आइपुगेकी छिन्। उनले गान्तोकका आफ्ना दुई गायिका विमला सेन्चुरी प्रधान र अञ्‍जली प्रधानलाई साथमा ल्याएकी छिन्।

शान्ति ठटाल नेपाली संगीतका सबै विधामा क्रियाशील सफल संगीतकार हुन्। उनले फुटकर गीतबाहेक काव्य-संगीत अथवा क्यान्टटा, गीति नाटक, चलचित्रलगायत विविध विधामा सफलता प्राप्त गरेकी छिन्। शान्ति ठटालका साथमा पलेँटीमा सहभागी हुन आएका विमला सेन्चुरी प्रधान र अञ्‍जली प्रधान संगीतकार शान्ति ठटालकै सानिध्यमा रहेर निखारिएका कण्ठ शिल्पी हुन्। विमला सेन्चुरीले गाएको चलचित्र ‘बाँच्न चाहनेहरू’  का गीत ‘नयाँ नयाँ घामको किरण’  र ‘मिठो मिठो तिम्रो साथ मिठो’  सर्वकालिक गीतहरूको पङ्तिमा पर्दछन्। ठटालकै संगीतका ती गीत अहिले सुन्दा पनि उत्तिकै आकर्षक र मनमोहक छन्।

सन् २००५ मा थालिएको पलेँटीको मञ्चमा शान्ति ठटालले यस अघि पनि बेलाबखत आफ्ना सृजना प्रस्तुत गर्दै आएकी छिन्। उनले सन् २००६ को पलेँटीमार्फत आफ्नो जीवनकै पहिलो एकल गायन प्रस्तुत गरेकी थिइन्। पलेँटीले नेपाली आधुनिक संगीतमा चर्चित र लोकप्रिय रहेर पनि दर्शक, श्रोतासामु एकल प्रस्तुति गर्ने मौका नजुरेका र ओझेलमा रहेका कलाकारहरूलाई प्रस्तुत गर्दै आएको छ। ‘पलेँटीमार्फत शान्ति दिदीसँग संगत गर्न पाउनु संगीत महाविद्यालयमा पढ्नुजत्तिकै हो। उहाँको सृजनशीलताले सँधै क्रियाशील हुन प्रेरित गर्छ। आठ दशक पार गरिसक्नुभएको शान्ति दिदीको सृजनात्मक सक्रियता देख्दा साँच्चै लोभ लाग्छ।’ पलेँटी संयोजक

आभासले भने।

यही महिनाको १७ गते शुरु हुने शान्ति ठटालसँगको पलेँटी ३ दिनसम्म चल्ने छ। पलेँटी शान्ति ठटालसँगको सांगीतिक यात्रामा आधारित हुनेछ। कार्यक्रमलाई पलेँटीको शुरुवातदेखि नै संचालन गर्दै आएका संगीतकर्मी आभासले शान्ति ठटालसँगको संगतका सन्दर्भ सहित आफ्ना सम्झना सुनाउँदै ठटालसँग अन्तर सम्वाद पनि गर्नेछन्। ‘मैले शान्ति दिदीलाई सन् १९९४ मा पहिलोपटक भेटेको हुँ। त्यसयता कैयौँपटक उहाँसँग सांगीतिक, साहित्यिक र सामाजिक विषयमा विचार विमर्श भए। उहाँमा मैले कहिल्यै नकारात्मक सोचको झल्को समेत पाएको छैन। त्यही सकारात्मक भावको आभा यसपालिको पलेँटीमा पनि फैलनेछ।‘ ठटालबारे आभासको थप टिप्पणी थियो।

पलेँटीका निम्ति गीत छनोट गरिरहेकी संगीतकार ठटाललाई यसपालिको आगमनबारे सोध्दा भनिन् ‘म यसभन्दा पहिले पनि धेरै खेप पलेँटी कार्यक्रममा संलग्न भइसकेकी हुँ। तर, म जतिखेप यहाँ आउँछु हरेकपटक नयाँ सांगीतिक ऊर्जा भेट्छु। आफ्नो उमेर पनि बिर्सन्छु। जाँगर बढ्छ। पलेँटी त मलाई आफ्नै घरको बैठक जस्तो पो लाग्छ।‘ आफ्ना धुनहरू गुनगुनाइरहेका दुई गायिकातिर हेर्दै ठटाल थप टिप्पणी गर्छिन्, ‘झन् यसपालि त मेरा दुई छोरी जस्ता गायिका साथमा आएका छन्। यिनको मप्रतिको माया र संगीतप्रतिको मोहले मलाई झन् उत्साही बनाएको छ।'

ठटालको छेउमै गीतको डायरी लिएर बसेकी गायिका विमला सेन्चुरी मुसुक्क हाँस्दै भन्छिन्, ‘शान्ति दिदीसँग सांगीतिक संगत गर्न नपाएको लामो समय भएको थियो। पलेँटीले यति सुन्दर मौका जुराइदियो। सारा घरेलु  नियमितताबाट टाढा रहेर संगीतमा रमाउन पाउँदा खुशीको सीमा नै छैन।' अर्की हँसिली गायिका अंजली प्रधान विमलाको कुराले उत्साहित हुँदै भन्छिन् ,‘यो त जीवनकै अद्भूत अनुभव हो। यसरी शान्ति आन्टीसँग हरदम संगीतकै बारेमा कुराकानी गर्दै गाउँदै बस्न पाउनु हाम्रो अहोभाग्य हो। हामी कति भाग्यमानी।’ 

कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा आयोजना हुने पलेँटीमा  ठटाल र उनको टीमलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान, प्रकसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिनेछन्। शुरुमा अँग्रेजी महिनाको अन्तिम शुक्रवार एक दिन मात्र हुने गरेको पलेँटी कार्यक्रम केही महिनादेखि महिनाको अन्तिम सप्तान्त शुक्रवार, शनिवार र आइतबार गरी तीन दिन संचालन हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.