|
File Photo

धनगढी : सुदूरपश्चिम प्रदेशका एकजना पनि मन्त्री समयमा उपस्थित नभएपछि बुधवारको प्रदेशसभा बैठक स्थगित गरिएको छ। चौथो अधिवेशनको पाँचौँ बैठक बुधबार दिउँसो २ बजे आह्वान गरिएको थियो।

सत्तारुढ दलका सांसद र मन्त्री नै समयमा उपस्थित नभएपछि बैठक १ घण्टालाई स्थगित गरेर दिउँसो ३ बजेलाई आह्वान गरियो। दोस्रो पटक पनि तोकिएको समयमा मन्त्री उपस्थित नभएपछि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका निमित्त सचिव तेज प्रकाश जोशीले बताए। बिहीबार दिउँसो २ बजे बस्ने गरी बुधबारको बैठक स्थगित गरिएको उनले जानकारी दिए।

‘प्रदेश सभाको बैठक सञ्चालनको लागि सरकारको प्रतिनिधि, एक जना मन्त्री आवश्यक हुन्छ’ निमित्त सचिव जोशीले भने, ‘निर्धारित समयमा सरकारका मन्त्री उपस्थित हुन सक्नु भएन, त्यसैले बैठक स्थगित गरिएको हो।’ 

सभामुख अर्जुन बहादुर थापाले बैठक स्थगित गर्नु पहिले नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी राजपाले बैठक बहिष्कार गरेर निस्किएका थिए। २ बजेभन्दा पहिले संसद् भवनमा पुगेका उनीहरू ३:३५ बजे सांसदबाट निस्किएका हुन्।

बैठकबाट निस्किँदै गर्दा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद भरत बहादुर खड्काले सरकारले संसद्को गरिमा नबुझेको आरोप लगाए।

'संसद्मा आगामी आर्थिक वर्षको बजेटमा छलफल भइरहेको छ। सरकारलाई योभन्दा ठूलो महत्त्व के हुन सक्छ’ सांसद खड्काले कड्किँदै भने, ‘सरकारबाट संसद्को उपहास भएको छ। हामी खेद प्रकट गर्दछौँ।’

बुधवार प्रदेशसभा बैठकमा अर्थ विकास तथा प्राकृतिक स्रोत साधन समितिका सभापति हर्क बहादुर कुँवरले ‘सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ दफावार पछिको प्रतिवेदन पेस गर्ने कार्य सूची रहेको थियो। त्योसँगै आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति माथिको छलफलका रहेको थियो।

सरकारकै मन्त्री समयमा उपस्थित नभएपछि दुवै प्रभावित भएको हो। बुधवार अर्थ विकास तथा प्राकृतिक स्रोत साधन समितिको ११ बजे बैठक भनेर सदस्यहरूलाई बोलाइएको थियो तर उक्त बैठक पनि स्थगित भयो।

बैठक बोलाएर स्थगित गरिएको भन्दै प्रतिपक्षी दल राजपाका सांसद कृष्णराज चौधरीले आक्रोश व्यक्त गरे। उनले भने, ‘मलाई बैठक छ भनेर बोलाउने बैठक नबस्ने यो के तरिका हो। समितिको बैठकमा पनि त्यस्तै, संसद् बैठकमा पनि त्यस्तै सरकार यसमा गम्भीर होस्।’

प्रदेश सरकारले भने संसदीय दलको बैठकका कारण संसद् बैठकमा उपस्थित हुन ढिलाइ भएको बताएको छ। सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले बैठक लम्बिएका कारण ढिलाइ भएको बताए। ‘हामी संसद्मा पुगेका छौँ। कहिले काहीँ केही ढिलो हुन सक्छ यसलाई खेलाचि सम्झनु भएन’ मन्त्री शाहले भने, ‘प्रतिपक्षी किन जानुभयो यस विषयमा छलफल गर्छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.