|

काठमाडौं : सरकारले भोजपुरमा प्रहरीको गोलीबाट मंगलबार नेत्रविक्रम चन्द विप्लवका एकजना कार्यकर्ता मारिनुलाई दु:खद भनेको छ।

बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँसकोटाले यस्तो बताएका हुन् ।

'प्रहरीको रिपोर्टलाई आधिकारिक मान्‍ने हो विप्लवका एकजना कार्यकर्ताले ज्यान गुमाएको खबर सरकारले पाएको छ', बाँसकोटाले भने, 'हामी यस्ता घटना नहुन् भन्‍ने चहान्छौँ। हिंसा आजको आवश्यकता होइन। सबै कुरा सम्वादबाट हल गर्न नै गणतान्त्रिक व्यवस्था चाहिएको हो।'

विप्लवका नक्कली या सक्कली जो कार्यकर्ता भए पनि यस्तो घटना हुन नहुने बाँसकोटाको भनाइ थियो। 'उहाँहरु संवादमा आउनैपर्छ', बाँसकोटाले भने, 'तर हिंसाको बाटो नत्यागी वार्ता हुन सक्दैन। उहाँहरु संवादमा आउनुपर्छ, तर पहिले गलत बाटो छाड्न सक्नुपर्छ।'

मन्त्री बाँसकोटाले विप्लव समूहलाई वार्ताका लागि स्पष्टरुपमा कुरा राख्न पनि आग्रह गरे । 'उहाँहरुबाट स्पष्ट कुरा आउनुपर्छ, अब हिंसाको बाटो छाडौँ', उनले भने, 'यति हुन सकेमा बाँकी कुरा छलफलबाट मिल्छ र मिलाउन सकिन्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.