'व्यक्तिसँग रिस उठ्दैमा पत्रकारले सभ्यताको सीमा नाघ्‍न मिल्दैन'

|

ललितपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द विप्लवलाई के माग राखेर बम पड्काएको? भनेर प्रश्न गरेका छन्। उनले नेपाललाई विकास हुन नदिने तत्व अहिले पनि सक्रिय रहेको दाबी गरेका थिए।

राष्ट्रिय मानवअधिकार आयोगको १९ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'हिजो बम पड्काउने आतंककारी समूहलाई सोध्न चाहन्छु, माग के हो?'

प्रधानमन्त्रीले संविधान बमोजिम भएको निर्वाचनबाट सरकार निर्माण भएको उल्लेख गर्दै प्रश्न गरे, 'अब के चाहियो?'

सिलिण्डर बम हानेर आतंकित पार्ने र लुटपाटका लागि क्रान्तिको नाम लिने यो मानव अधिकारका लागि खतरनाक पक्ष भएको प्रधानमन्त्रीको भनाइ थियो। विप्लव समूहको उद्देश्य पैसा उठाउने बाहेक केही पनि नभएको प्रधानमन्त्रीको भनाइ थियो।  नेपाललाई अशान्तितिर लैजाने प्रयासलाई सरकारले रोक्ने प्रधानमन्त्रीको भनाइ थियो। नेपाललाई विकास हुन नदिने तत्व अहिले पनि सक्रिय रहेको बताउँदै प्रधानमन्त्रीले त्यस्ता क्रियाकलाप सफल हुन नदिने बताए।

एक अर्को प्रसंगमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले प्रेस स्वतन्त्रतामा  शतप्रतिशत ग्यारेन्टी गर्ने बताए। संविधानमै रहेको प्रेस स्वतन्त्रताको व्यवस्थालाई  सरकारले सम्मान गर्ने उनले बताए। 'प्रेस स्वतन्त्रताको सम्बन्धमा संविधानले व्यवस्था गरेभन्दा सरकार एक अक्षर पनि तलमाथि गर्दैन', प्रधानमन्त्री ओलीको भनाइ थियो।

प्रधानमन्त्रीले पत्रकारितामा विसंगति देखिएको भन्दै सुधारको आवश्यकता औंल्याएका थिए। 'समाचार सत्यमा आधारित हुनुपर्छ, कसैलाई व्यक्तिगत रूपमा रिस उठेको भरमा सभ्यताको सीमा नाघ्न मिल्दैन', प्रधानमन्त्री ओलीले भने, 'सभ्य ढंगले समाचार प्रस्तुत गर्नका लागि नेपाली भाषामा शब्दको भण्डार छ।'

नेपाललाई मानवअधिकारमा कमजोर भएको देश हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता थियो। उनले मानवअधिकारलाई एउटा पक्षबाट मात्रै हेर्न नमिल्ने बताउँदै विभिन्न पक्षबाट हेर्नुपर्ने धारणा राखे। मानव अधिकारको प्रश्न लोकतन्त्रमा नै हुने बताउँदै तानाशाहीमा मानव अधिकार भन्ने शब्द नै नहुने उनको भनाइ थियो। 'तानाशाहीमा मानवअधिकारको चर्चै हुँदैन', उनले भने।

हरेक घरमा हुने महिला र बालबालिकाको मानवअधिकार उल्लंघनका घटना रोकिनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो। उनले घरघरमा मानवअधिकारको संरक्षण हुनुपर्नेमा जोड दिएका थिए।

भिडियोः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.