फिचर

हिमाल चढ्न अविवाहित बसेको केटो !
SHARES

आजै हो मौरिस हर्जोगले विश्वकै जेठो हिमाल अन्‍नपूर्णमा पाइला टेकेको

जेठ २०, २०७६

    पोखरा : अन्नपूर्ण हिमाललाई मनास्लु हिमालपछिको ज्यानमारा (किलर माउण्टेन) पनि भनिन्छ। जति बेला मनास्लुलगायत हिमालको उचाई पहिचान भएको थिएन त्यतिबेला अन्नपूर्ण प्रथम (८०९१ मि.) नै विश्वकै सबैभन्दा अग्लो ८ हजार मिटरभन्दा अग्लो उचाइको हिमाल मानिन्थ्यो।  यो हिमालको पहिलोपटक सफल आरोहण गर्ने व्‍यक्ति हुन् फ्रान्सका नागरिक मौरिस हर्जोग। उनले १९९१ मा अन्नपूर्ण सफल आरोहण गर्दा सगरमाथाको पनि पहिचान भइसकेको थिएन।

    भारतलुम्बिनी हुँदै बाग्लुङबाट धौलागिरि

    मौरिस हर्जोगले नेपालमा सगरमाथा हिमाल आरोहणका लागि आरोहण अनुमति लिने सोच बनाएका थिए। एडमन्ड हिलारी र उनको टोलीले सगरमाथा चढ्ने सोच आफूहरूले बनाएको बताएपछि उनी तत्कालीन प्रधानमन्त्री मोहनशमशेर जवरासँग अनुमति लिएर नयाँ हिमालको खोजीमा कालीगण्डकीको तिरैतिर धौलागिरि भेगतिर लागे। मुस्ताङको टुकुचे हुँदै अन्नपूर्ण आधार शिविर पुगेका हर्जोग भारतबाट लुम्बिनी छिरेर बाग्लुङको बाटो अन्नपूर्ण पुगेको थियो।

    हर्जोगले अन्नपूर्णमा पहिलो पाइला नामको आफ्नो पुस्तकमै पनि लेखेका छन्, ‘हामीले अन्नपूर्ण हिमाल आरोहण गरेपछि फ्रान्सेलीहरू ८ हजार मिटरभन्दा अग्लो हिमालमा गए। हिमालमा फ्रान्सेली झन्डा फहराए, ती त्यत्रा हिमाल कसरी चढे, उनीहरू को हुन् ? भनेर हल्लीखल्ली मच्चियो ।  संसारभरिका मानिसको आँखा खुल्यो।’

    २५० जना भरिया र फ्रान्समा राष्ट्रिय उत्सव

    लुम्बिनीबाट पैदल यात्रा सुरु गरेर धौलागिरि आधार शिविर पुग्दा हर्जोगको साथमा दुई सय ५० जना भरिया थिए । जम्बो टोली लिएर मुस्ताङको टुकुचे पिक पुगेपछि स्थानीयले बाटो राम्रो नभएको र चढ्न नसक्ने बताउँदा पनि हर्जोगले यात्रा रोकेनन्।

    नेपालमा बर्खायाम सुरु हुने समय जुन ३ मा हर्जोगले अन्नपूर्णको सफल आरोहण पनि गरे। हिमाल आरोहणको लागि जुन महिना त्यति उपयुक्त पनि मानिँदैन। हर्जोगको टोलीले अन्नपूर्णको सफल आरोहण गरेर फर्केपछि विश्वभरी नै त्यसले हलचल नै ल्यायो।  हर्जोगको किताबमा उल्लेख भए अनुसार जब उनको टोलीले अन्नपूर्णको सफल आरोहण गर्‍यो र आफ्नो देश फर्कियो फ्रान्स सरकारले तीन दिन राष्ट्रिय उत्सवनै मनायो। 

    हात खुट्टा हिउँले खाइदियो

    पहिलोपटक ८ हजार मिटरभन्दा अग्लो हिमालको सफल आरोहण भएको दिन हो जुन ३। यै हिमालको सफल आरोहण गरेका मौरिस हर्जोगले बाँकी जिवन भने थप पिडामा बाँच्नु पर्‍यो। आरोहणको क्रममा आफ्नो दुवै हात र दुवै खुट्टा उनले गुमाएका थिए।

    हात खुट्टा हिउँले खाइदिएपछि शेर्पाहरूले उनलाई हिमालबाटै बोकेर म्याग्दीको नारच्याङमा पर्ने आधार शिविर झारेका थिए। पहिलोपटक आरोहण भएकै कारण पनि अन्नपूर्णलाई संसारकै जेठो हिमाल पनि भनिन्छ।

    अनि मोहन शमशेरले पदक दिए ...

    हर्जोगको टोलीले अन्नपूर्णको चुचुरोमा पाइला राखेको थाहा पाएका तत्कालीन प्रधानमन्त्री मोहन शमशेरले हर्जोगलाई भेट्ने भन्दै पत्र पठाएका थिए। हर्जोगसँगै आरोहण यात्रामा रहेका लुइस लचेन र चिकित्सक मार्सेलो सहितको टोली प्रधानमन्त्रीलाई भेट्न पुग्यो।

    उनीहरुले एक आपसमा खुसी साटासाट गरेका थिए। त्यतिबेला हर्जोग हिउँले हात खुट्टा गुमेको पीडामा थिए। मोहन शमशेरले ठूलो समारोहबीच गोरखा क्रस पदक प्रदान गरेर सम्मान गरे। 

    हिमाल चढ्न अविवाहित बसेको केटो !

    हिमाल चढ्ने भोक र तिर्खाले खारिएका हर्जोगलाई आफु मरिहाले परिवारको विचल्ली हुने डर पनि थियो। उनले आफ्नो पुस्तकमा भनेका छन्, ‘हिमाल चढ्दा के हुन्छ, हुँदैन भनी अविवाहित बसेँ। अन्नपूर्ण चढेपछि गएर विहे गरेँ।’

    विदेशीले नेपालमा पाएको गोरखा क्रस पदक अहिलेसम्म पनि अरूले पाएको छैन। नेपालबाट फर्कँदा भारतको नयाँदिल्लीमा सामान्य उपचार गरेर उनी आफ्नै जन्मथलो लागेका थिए। फ्रान्समा पनि राम्रो उपचार नभएपछि उनी अमेरिका गएका थिए। त्यहाँ उनले कृत्रिम हातखुट्टाको सहारा पाए। 

    उपचार भने उनी बाँचुन्जेल गरिराख्नुपर्‍यो। २०६९ सालमा ९३ वर्षमा उनको निधन भएको थियो। हिमाल चढेर विश्व इतिहास बनाएकै कारण फ्रान्स सरकारले उनलाई झण्डै एक दशकसम्म खेलकुद मन्त्री, झण्डै दुई दशक सांसद र समोनी सहरको मेयर चुन्यो।

    स्थानीय र एक्यापको संरक्षण पहल

    अन्नपूर्ण हिमाल रहेको ठाउँ हो म्याग्दीको अन्नपूर्ण ४ नारच्याङ। ढिलै भए पनि स्थानीयहरू अहिले मौरिस हर्जोगले यात्रा गरेको पद यात्रा र अन्नपूर्ण हिमालको प्रचारमा जुटेका छन्। पदमार्ग धमाधम बनाइरहेका छन्। विभिन्न सरकारी निकायहरुबाट सहयोग लिइका छन्।

    ‘ढिलै भए पनि स्थानीयहरूले यसको प्रचारप्रसार गर्नुपर्छ भनेर बुझेर काम सुरु गरेका छन्,’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का सूचना अधिकारी तथा संरक्षण अधिकृत ऋषि बरालले भने, ‘एक्यापले पनि यसक्षेत्रको पशुपक्षीको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा सहयोग गरेको छ।

    पदमार्ग बनाउन, अप्ठ्यारो ठाउँमा पुलहरू हाल्न, पोर्टर हाउस बनाउन सहयोग गरेको छ। यो पदमार्ग अन्यत्रभन्दा भिन्न रहेकोले अब पक्कै पनि पर्यटकहरु यस क्षेत्रमा आउनेछन्।’

    गाउँहरुले जुटे

    अहिले गाउँलेहरुले एक्याप, पर्यटन बोर्ड, पर्यटन मन्त्रालयलगायत पर्यटनसँग संघसंस्थाहरूसँग सहयोग लिएरै भए पनि विश्वकै जेठो हिमाल जाने पदमार्ग सुधार गरिरहेका छन्। पहिलो चरणमा ट्रयाक पत्ता लगाएका उनीहरूले अहिले धमाधम गोरेटो बाटो बनाइरहेका छन्।

    ‘हामीले यो ठाउँको प्रचार गर्नै सकेका रहेनछौँ भन्ने महसुस भएको छ,’  नारच्याङका होटल व्‍यवसायी टेकबहादुर पुन भन्छन्, ‘पर्यटकहरू मौरिस हर्जोग हिमाल चढेको आधार शिविरसम्म जान खोज्छन्। तर, हामीले त्यहाँसम्म जाने बाटो र व्‍यवस्थापन मिलाउन नसक्दा हामी पछि पर्‍यौँ। अब ढिलो भयो भनेर हामी अहिले कस्सिएका छौँ।’

    नारच्याङबाट हिँडेर चार दिनमा अन्नपूर्ण हिमालको आधारशिविर पुग्न सकिन्छ।  मौरिस हर्जोग हिमाल चढ्न गएको पूरै बाटोबाट अहिले मानिसहरू ओहोरदोहोर गर्न सक्दैनन्। मुस्ताङको टुकुचे हुँदै आधारशिविर जानेबाटो तारेभीरहरू रहेकोले सबैभन्दा उपयुक्त नै नारच्याङ हुँदै जानेबाटो रहेको स्थानीय तेजबहादुर गुरुङ बताउँछन्।

    यसअघि टुकुचेको बाटो भएर आधारशिविर उक्लेका धेरै आरोही तथा भरियाहरु भीरबाट लडेर ज्यान गुमाएको स्थानीय बताउँछन। उनै गुरुङको नेतृत्वमा अन्नपूर्ण हिमाल जाने छोटो बाटो खोजियो। अहिले त्यै बाटोलाई सहज बनाउन लागिएको छ।

सन्तोष अधिकारी

अधिकारी थाहा खबरका  पोखरा समाचारदाता हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]