|

काठमाडौं : अवैध तरिकाबाट युवतीहरुलाई विदेश पठाउने गिरोहका तीन जनालाई आइतबार प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको छ। प्रहरीले नवलपरासी दुम्कीवासका ३५ वर्षीय राजकुमार खरेल, ताप्लेजुङ फुलबारीका पुरन सुब्बा भन्ने पूर्णबहादुर लिम्बु र रुपन्देही गगोलियाका हरिप्रसाद थारुलाई पक्राउ गरेको हो। 

उनीहरुले कुवेत पठाइदिन्छौं भनी नेपालको सुनौली–बेलहिया नाकाबाट भारतको नयाँ दिल्ली, श्रीलंका, दुबई हुदै ओमानमा नेपाली युवती ओसारपसार  गर्दै आएको  केन्द्रिय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी दिइन। आर्थिक रुपमा विपन्न रहेका नेपाली युवतीहरुलाई बैदेशिक रोजगारमा आकर्षक तलब हुने प्रलोभन देखाउँदै ओमान पुर्‍याउने खुलासा भएको उनले बताइन्।

‘युवतीहरुलाई विदेश पठाएर शारिरीक तथा मानसिक यातना दिने गरेको अनुसन्धानमा खुलेको छ’, एसपी चौधरीले भनिन्– ‘यौनजन्य क्रियाकलापमा समेत सहभागी गराउने उद्देश्यले मानव बेचबिखन तथा ओसारपसारको काम गर्दै आएका रहेछन्।’ 

तीन जनाले भिन्दा भिन्दै जिम्मेवारी लिएर नेपाली युवतीहरुको ओसारपसार गर्दै आएका थिए।  खरेलले युवतीहरुलाई प्रलोभनमा पारेर भारतीय सिमासम्म पठाउने, लिम्बुले पासपोर्ट लगायतका कागजपत्र संकलन गर्ने र टिकटको समेत व्यवस्था गरेर कागजपत्रहरु दिल्ली पठाउने र थारुले सुनौली बेलहिया नाकाबाट युवतीहरुलाई भारत पुर्‍याएर  भारतीय  दलालको जिम्मा लगाउने काम गर्दै आएका थिए।

उनीहरुले राहदानीलगायतका कागजपत्रहरु सुरुमै काठमाडौंबाट दिल्ली कुरियर गर्ने  र युवतीहरुलाई भने सुनौली नाकाबाट दिल्ली पुर्‍याएर भारतीय दलाललाई जिम्मा लगाउने गरेको अनुसन्धानमा खुलेको एसपी चौधरीले जानकारी दिइन्। 

भारत पुगेका युवतीहरुलाई १५–१६ दिन राखेर श्रीलंका पठाउने र श्रीलंका २२–२५ दिन राखेर कुबेत पठाउने गरेको अनुसन्धानबाट खुलेको छ। यस्तै  कुबेतबाट फेरी श्रीलंका ल्याएर १५–२० दिन राखी  दुबई हुँदै ओमान पठाउने गर्दै आएका थिए।

काठमाडौंदेखि ओमानसम्म पुर्‍याउनको लागि विभिन्न स्थानमा मानव तस्करहरुको संयन्त्र बनाई योजनाबद्ध ढंगले तस्करी गर्दै आएको एसपी चौधरीले जानकारी दिइन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.