|

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले सोमबार हुने संसद बैठकमा भिडन्त हुन सक्ने बताएका छन्। युवा संघले गरेको कार्यक्रममा गौतमले सत्तारुढ दलले संसदमा संविधान संशोधन विधेयक पेश गर्न लागेका कारण आफूहरु भिडन्त गर्न तयार रहेको बताए।

'भोलि संसदमा सरकारले एमालेसँग भिडन्त गर्ने खबर आएको छ। कांग्रेस, मधेसवादी र माओवादीको तयारी एमालेसँग भिडन्त गर्ने खबर पाएका छौं' उनले भने 'उनीहरुसँग तालिमप्राप्त मान्छे छन्। तरदुई चार जना त हामी पनि पछार्न सक्छौं।'

सरकारले संसदमा संविधान संशोधन विधेयक दर्ता गरेदेखि एमालेले लगातार संसद बैठक अवरोध गर्दै आएको छ। तर शनिबार साँझ सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा मधेस केन्द्रित दलको बैठकले विधेयक अगाडि बढाउने निर्णय गरेपछि गौतमले भिडन्तको अवस्था आउन सक्ने बताएका हुन्।

अहिले मधेसवादी दलहरु एमालेमुक्त मधेस बनाउछौं भनेर लागिरहेको भन्दै उनले त्यस्तो सोचाइ मानसिक विचलनको उपज बाहेक केही नभएको टिप्पणी गरे। 'के मधेस विदेशबाट आउँदा गोजीमा बोकेर ल्याइएको हो' उनले प्रश्न गरे।

नेपालमा अहिलेको मोडलको संघीयता नटिक्ने भन्दै उपाध्यक्ष गौतमले त्यसको असर देखिन थालिसकेको बताए। अहिलेको मोडलको संघीयताले देशलाई भड्खालोतर्फ लगेको भन्दै उनले बेलैमा उपयुक्त मोडल छनोट गर्नुपर्ने बताए।  

'संघीयता भनेको द्वन्द्वको समाधान हो तर हाम्रो देशको संघीयताले द्वन्द्वको सिर्जना गरिरहेको छ। यही मोडलका कारण नेपालमा अर्को भयंकर द्वन्द्व हुन सक्छ' उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.