थाहा संवाद

संघीयताबारे बामदेव गौतमको निष्कर्षः 'विष ओकल्नुपर्छ नत्र समाप्त भइन्छ'
SHARES

फेरि एकात्मकमै गए हुन्छ

पुस ३, २०७३

    संविधान संशोधन विधेयकको विरोधमा सडकदेखि संसदसम्म आन्दोलन गरिरहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेका प्रमुख नेताहरुले हिजोआज संघीयतामा गएर गल्ती भएको बताउँदै आएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले केही समयअघि एमालेले संघीयता बाध्यतावश स्वीकार गरेको बताएका थिए। आइतबार काठमाडौंमा भएको एउटा कार्यक्रममा एमाले उपाध्यक्ष बामदेव गौतमले नेपालले अपनाएको संघीयताले मुलुक टुक्रिने भन्दै यो लागू हुनै नसक्ने दावी गरे। संघीयताले मुलुकमा द्वन्द्व सिर्जना गरेको टिप्पणी गर्दै गौतमले संघीयतालाई ‘विष’ को संज्ञा दिए। संघीयतासहितको संविधान कार्यान्वयन गर्नुपर्ने बेलामा किन एमालेका नेताहरु संघीयता ठिक भएन भनिरहेका छन्? थाहा सञ्चार नेटवर्कका दीपेन्द्र कुँवरले नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमसँग कुराकानी गरेका छन्।



    तपाईँले संघीयता नेपालका लागि विष भयो भन्नुभएछ। अब यो विष खाने कि ओकल्ने?

    विष त ओकल्नुपर्छ। विष निल्नुहुँदैन। विष खायो भने त समाप्त भइन्छ। 

    भनेपछि अब संघीयताबाट फर्किने हो?

    जुन ढाँचाको संघीयता हामीले अबलम्बन गर्‍यौँ, त्यो ढाँचा हाम्रो देशमा कुनै पनि हालतमा लागू गर्न सकिन्न। संसारमा हामीबाहेक २६ ओटा देश संघीयतामा गएका छन्। कैयन् यस्ता खालका देश छन्, एउटै देशभित्र १०/१२ ओटा मोडालिटी पनि अबलम्बन गरेका छन्। कतिपय देशहरुले पुरै राष्ट्र राष्ट्रबीचको एकताको रुपमा संघीयता अबलम्बन गरेका छन्। कतिपयले राज्य राज्यको बीचको एकताको रुपमा संघीयता अबलम्बन गरेका छन्। अमेरिका भारतजस्ता देश फेरि एकात्मक अवस्थामा फर्किने तयारी गरिरहेका छन्। यस्तो किसिमको अवस्था छ। हामीले संघीयतामा जाने घोषणा त गरिसक्यौँ राम्रो भए पनि नराम्रो भए पनि। त्यसलाई हाम्रो देशको विशेषताअनुसार लैजानुपर्छ। तर हाम्रो विशेषतामा सुहाउने किसिमको भएन। 

    अब यसलाई कसरी सच्याउने? कसरी फर्किने त?

    मैले भन्ने गरेको छु- यसलाई संरचनामा संघीयतामा जाने तर सारमा यसलाई विकेन्द्रीकरणमा लैजाने। सम्पूर्ण अधिकारहरु विकेन्द्रीकरणको आधारमा तल्लो तहमा लैजाने। हामी केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहको संघीयतामा गएका छौँ। यसमा जाउँ तर नेपालको विशेषतामा यो क्लस्टर खोज्ने कामचाहिँ विलकुल नगरौँ। त्यो क्लस्टर खोज्ने हो भने जसको नाममा क्लस्टर हुन्छ, त्यसले अर्को जातिलाई समाप्त पार्ने काम गर्छ। संसारभरी त्यस्तै भएको छ। हाम्रोमा पनि त्यस्तै हुन्छ। तर त्यस्तै किसिमको गर्ने गरी अगाडि आयो। एउटा बहुराष्ट्रिय राज्य भएको देशमा जस्तो किसिमको संघीयता हुन्छ त्यस्तो किसिमको परिकल्पना गरियो, जो हाम्रो देशसँग मिल्दैन। त्यसैले हामी फरक किसिमले जानुपर्छ। 

    तपाईँले भनेअनुसारको विकेन्द्रीकरणमा जाने हो भने त संघीयता किन भन्न पर्‍यो र? जनतालाई यस्तो अधिकार दिने भनेर प्रष्ट गरेर गए भयो।

    हुन्छ हुन्छ। सबैले यो मान्ने हो भने त फेरि एकात्मकमै गए हुन्छ मेरो विचारमा। तर सबै त्यसरी जान सकिँदैन। जसले संघीयताका निम्ति मरिहत्ते गरेका छन्, उनीहरुको निम्ति त चाहियो संघीयता। मलाई लागेको कुरा त्यो हो। हाम्रो देशको जस्तो अन्तर्सम्बन्धको अवस्था छ, हाम्रो समाज अन्तर्निर्भरताको समाज हो। एउटा समुदाय अर्को समुदायसित, एउटा जाति अर्को जातिसँग, एउटा भाषा अर्को भाषासँग अन्तर्निर्भरतामा विकसित भैरहेको समाज हो। यसमा तपाईँले एउटा एउटा क्लस्टर भनेर त्यहाँ मधेसी, त्यहाँ थारु, त्यहाँ लिम्बु, त्यहाँ मगरात, त्यहाँ तमुवान, अर्को ठाउँमा नेवार भन्नुभयो भने जुनजुन ठाउँमा तपाईँले भन्नुभएको छ, त्यहाँ भाषाको आधारमा मधेस भन्ने बाहेक अन्य क्लस्टर भन्नेहरु अल्पमतमा पर्ने हुन्छ। 

    यसरी गएर गल्ती गरियो भन्ने निष्कर्षमा पुग्नुभयो?

    यसरी गएर गल्ती भयो त।

    अब तपाईँले पार्टीभित्रबाट सच्याउन पहल गर्नुहुन्छ? एमाले यो ढंगले अघि बढ्छ?

    एमाले अहिले आउँदैन। म अहिले एकेडेमिकल्ली (प्रज्ञिक हिसाबले) मात्र भनिरहेको छु। 

    पार्टीभित्र राख्नु हुन्छ कि हुन्न यो विषयलाई?

    आवश्यकता पर्‍यो भने म पार्टीभित्र पनि राख्छु। 

    सुन्नुस् कुराकानीको अडियोः

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]