|

भरतपुर : भरतपुर अस्पतालमा महिला र अशक्त बिरामीलाई लक्षित गरेर छुट्टै टिकट काउण्टर सञ्चालनमा ल्याइएको छ। अस्पतालको सेवा प्रभावकारी बनाउन आइतबारदेखि छुट्टै टिकट काउण्टर सञ्चालनमा ल्याएको भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेले जानकारी दिए। 

हाल सञ्चालनमा रहेका टिकट काउण्टरलाई व्यवस्थित गर्दै महिला र ज्येष्ठ नागरिक तथा अशक्तलाई छुट्टै टिकट काउण्टरको व्यवस्था गरिएको उनले बताए। भरतपुर अस्पतालले नियमित रुपमा पाँचवटा टिकट काउण्टर सञ्चालनमा ल्याइरहेको छ।

'काउण्टर व्यवस्थापनपश्चात् बिरामीले आधा घण्टाभन्दा बढी कुर्नु पर्दैन', बगालेले भने, 'ओपिडी पनि व्यवस्थित गर्ने योजनामा छौँ।' उनले बीमाका बिरामीको उपचार र औषधि वितरणमा समेत सहजता प्रदान गरिरहेको बताए। बीमाको औषधि वितरणमा पनि काउण्टर थप गर्ने तयारी गरेको उनले जानकारी दिए।

भरतपुर अस्पतालमा दैनिक ७०० भन्दा बढी बीमाका बिरामी उपचारका लागि आउने गरेका छन्। गर्मी समयमा बिरामीको चाप बढेपछि सीमित स्रोत साधनलाई व्यवस्थापन समस्या परेको अस्पताल प्रशासनले जनाएको छ। भरतपुर अस्पताल केन्द्रीय अस्पतालमा स्तरोन्नति भए पनि दरबन्दी भने जिल्ला अस्पतालको छ।

गर्मी समयमा दैनिक एक हजार ५०० बिरामी भरतपुर अस्पतालको ओपिडीमा उपचारका लागि आउने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.