|

कञ्चनपुर : भीमदत्त नगरपालिका–८ वनगाँउ भगवती टोल जाने बाटो नजिक पूर्व–पश्चिम राजमार्गमा शुक्रवार बिहान स्काभेटरले अटोलाई ठक्कर दिँदा भएको दुर्घटनामा परी मृत्यु भएका तीन जनाको सनाखत भएको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार मृत्यु हुनेहरुमा बैतडी देहीमाण्डौंका २८ वर्षीय कृष्ण बोहरा, भारतको सहरनपुरका तिलप्रसाद र कास्कीको पोखराको पृथ्वीचोकका ३५ वर्षीया बीना रिजाल रहेका छन्।

भीमदत्तनगर बाट गड्डाचौकी जाँदै गरेको से १ क ७३३ नम्बरको स्काभेटरले विपरीत दिशाबाट आउँदै गरेको म १ ह ७६३ नम्बरको अटोलाई ठक्कर दिँदा उनीहरुको घटना स्थलमै मृत्यु भएको हो।

अटोमा सवार २५ वर्षीया लक्ष्मी बोहरा, उनका अढाई वर्षीय छोरा विशान्त र कञ्चनपुरको बेलडाँडीका सन्तोष लुहार घाइते भएका छन्। घाइते तीनै जनाको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि कैलालीको सेती अञ्चल अस्पताल लगिएको छ। 

अटो चालक भीमदत्त नगरपालिकाको गडडाचौकीका प्रेम थापाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि भारततर्फ लगिएको छ। सोही दुर्घटनामा गरी घाइते भएका साइकल यात्री जगदीश पार्कीको महाकाली अञ्चल अस्पतालमा उपचार भैरहेको छ। पार्कीको खुट्टामा चोट लागेको छ। अवस्था समान्य रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.