काठमाडौं : चर्चित साढे ३३ किलो सुन तस्करीका मुद्दामा अनुचित प्रभावमा परेको पाइएपछि तीन न्यायाधीश लाई कारबाहीको सिफारिस गरिएको छ। न्यायपरिषदको मंगलबार बसेको बैठकले साढे तेत्तीस किलो सुन तस्करीका अभियुक्तको सुनुवाइमा अनुचित प्रभावमा परी मुद्दाको कारबाही गर्ने न्यायाधीशलाई कारबाहीका लागि सिफारिश गर्ने निर्णय गरेको हो।
परिषद बैठकले उच्च अदालत विराटनगरका न्यायाधीश साधुराम सापकोटा, थीरबहादुर कार्की र उमेशकुमार सिंहलाई कारबाहीका लागि प्रधानन्यायाधीश समक्ष सिफारिश गरेको हो।
परिषदका प्रवक्ता मानबहादुर कार्कीका अनुसार न्याय परिषद ऐन २०७३ को दफा ११ को १ (च) मा भएको व्यवस्थाअनुसार सापकोटा, कार्की र सिंहलाई कारबाही गर्न बैठकले सिफारिश गरेको हो। सो दफामा अनुचित प्रभावमा परी मुद्दाको कारवाही गरेको र दफा ११ (२) मा न्यायाधीशको आचारसंहिताको गम्भीर उल्लंघन गरेको हुँदा कारबाही किन नगर्ने भन्ने व्यवस्था छ।
परिषदले सोही प्रकारणमा उक्त अदालतका तत्कालीन मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेल, सारङ्गा सुवेदी र जनक पाण्डेलाई न्यायलयको मर्यादालाई श्रीवृद्धि गर्ने गरी प्रभावकारीरूपमा काम गर्न सेचत गराउने निर्णय गरेको छ। सोही प्रकरणका न्यायाधीश नागेन्द्रलाभ कर्ण र उमेशराज पौडेल अवकाश भइसकेकाले तामेलीमा राख्ने निर्णय भएकोसमेत प्रवक्ता कार्कीले जानकारी दिए।
सुन तस्करी मुद्दामा छानबिनका लागि न्यायपरिषद्ले गत चैत २५ गते सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसेको अध्यक्षतामा न्यायाधीश मीरा खड्का र विश्वम्भरप्रसाद श्रेष्ठ सदस्य रहेको समिति गठन गरेको थियो। उक्त समितिले अघिल्लो साता प्रधानन्यायाधीशसमक्ष प्रतिवेदन बुझाएको थियो। त्यसैगरी परिषद्को बैठकले काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बाँनियालाई सचेत गराउनेसमेत निर्णय गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।