|

काठमाडौं : युवा लेखक राज सरगमको उपन्यास ‘छाउघर’ बजारमा आएको छ। मंगलबार हाँस्य कलाकार हरिवंश आचार्य, पूर्व मिस नेपाल माल्भिका सुब्बा र मदन पुरस्कार विजेता अमर न्यौपानेले मंगलबार संयुक्तरुपमा पुस्तकको विमोचन गरे। 

छाउघर एउटा १२ वर्षे किशोरीको कथा हो, जसलाई छाउ भएका कारण घरबाट टाढा, एकान्त छाउगोठमा बस्न बाध्य पारिन्छ। २२ दिन छाउगोठमा बस्दा ती किशोरीको मनमा उठेका मनोभाव, मनोदशालाई लेखकले छाउघरमा बुनेका छन्।

महिलाको रजस्वलालाई सुन्दर रुपमा उपन्यासमा उतारेकोमा लेखकलाई धन्यवाद दिँदै माल्भिका सुब्बाले टिप्पणी गरिन्, ‘जुन प्रकृतिको देनले मलाई आमा बन्न सक्ने बनायो, त्यसलाई समाजले छिःछि दुरदुर गर्छ।’

उनले उपन्यासको मुख्य पात्रको कलाको विद्रोहको सिलसिला जोड्दै थपिन्, ‘छाउ नबार्ने समुदायबाट विवाह गरेर छाउ बार्ने समुदायमा आएको मलाई महिनाको ५ दिन दास भएको जस्तो लाग्छ।’

उनले थपिन्,  ‘छोराको पास्नीमा म नछुने भएको थिएँ। तर, छोरालाई पहिलोपटक खाना खुवाउने आमाको हक छोडिनँ। मैले मेरो छोरालाई खाना खुवाएँ, रातो टीका लगाइदिएँ। तर, मलाई पितृ दोष लागेन, हाम्रा कुल रिसाएनन्।’ 

कार्यक्रमका अर्का टिप्पणीकार अमर न्यौपानेले प्रत्येक अक्षरलाई छुँदै कुनै उपन्यासलाई धैरेपछि पढ्न पाएको बताए। उनले भने, ‘महिलाको संवेदनशील विषयमा संवेदनशीलताकासाथ, त्यो पनि पुरुष भएर, लेख्न सक्नु सानोतिनो उपलब्धी होइन।’

पुरुष भएर महिलाबारे लेख्न सकिँदैन भन्ने आमधारणाको खण्डन गर्दे बालविधावामाथि लेखिएको मदन पुरस्कार विजेता उपन्यास सेतो धर्ती उपन्यासका लेखक उनले भने, पुरुष भएर महिलाबारे लेख्न सकिँदैन भनिन्छ। त्यस्तो होइन। छाउघरको त्यसको उदाहरण हो। यो पुस्तक पढ्दा पुरुषले लेखेको भन्ने ‘फिल’ नै हुँदैन।’ 

भाषिक पहिचानलाई छाउघरले स्थापित गर्छ भन्दै उनले भने, ‘छाउघरमा आञ्चलिक भाषाको अधिक प्रयोग भएको छ। कति ठाउँमा बुझिदैन पनि। तर, भाषिक ‘रिदम’का कारण बुझिएझैं लाग्छ।’ 

छाउप्रथालाई पुरुषले भन्दा महिलाले नै प्रश्रय दिएता पनि छाउप्रथा उन्मुलनका निम्ति पुरुषहरु पनि अग्रसर हुनुपर्छ हरिवंश बताए।

उनले थपे, ‘मेरो पुरुषहरुलाई अनुरोध, रजस्वला भएका महिलाहरुलाई घरमा छोडेर आफूहरु छाउगोठमा गएर बस्नुस्। अनि त्यहाँबाट सुरु हुन्छ साँचो परिवर्तन।’ 

कार्यक्रममा प्रकाशक अजित बरालले भने, ‘छाउघरले महिलाको पिरियड (छाउ) लाई हेर्ने मेरो दृष्टिकोण नै परिवर्तन गरिदियो। र, मलाई लाग्छ पिरियडलाई हर्ने आममानिसको दृष्टिकोण पनि यसले बदल्ने छ।’ 

फाइनप्रिन्टले प्रकाशन गरेको 'छाउघर' को मूल्य ३०० रुपैयाँ राखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.