निर्मला पन्त, कुमार पौडेल र ज्ञानेन्द्र शाहीबारे सोधिएका प्रश्नको गृहमन्त्रीले दिए जवाफ
निर्मला पन्त, कुमार पौडेल र ज्ञानेन्द्र शाहीबारे सोधिएका प्रश्नको गृहमन्त्रीले दिए जवाफ
काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले विकास र समृद्धिका लागि शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गरिने बताएका छन्।
आगामी आर्थिक वर्षका लागि गृहमन्त्रालयका लागि छुट्याइएको विनियोजन विधेयकको छलफलका क्रममा संघीय संसद प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले आगामी वर्षका लागि सुरक्षा निकायलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्री थापाले भने, 'सुरक्षा निकायमा लामो समयदेखि अवरुद्ध वितृ विकासका काम भएका छन्। आगामी आर्थिक वर्ष विकास र समृद्धिका लागि शान्ति सुरक्षाका लागि पूर्ण प्रत्याभूति गर्दै गृह प्रशासन थप सुदृढ हुनेछ।'
गत वर्ष यातायात क्षेत्रमा रहेको सिन्डिकेट तोड्न सकरात्मक प्रयास गरेको, ठेक्का लिएर काम नगर्ने ठेकेदारलाई कारबाहीको प्रयास थालिएको तथा अन्तर्राष्ट्रिय सिन्डिकेट अन्त्यका लागि सकरात्मक पहल गरेको मन्त्री थापाले बताए। उनले आगामी वर्ष 'प्रविधिमा आधारित सुरक्षा व्यवस्थामा जोड दिइ विशेष कार्यक्रम संचालन गरिने' योजना रहेको सुनाएका थिए।
मुलुकको सुरक्षासँगै काठमाडौंको सुरक्षालाई विशेष ध्यान दिएर सिसिटिभी जडान गर्नका लागि ६ करोड विनियोजन गरिएको गृहमन्त्रीको भनाइ थियो। उनले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको सुरक्षा व्यवस्थालाई थप व्यवस्थित बनाउन थप १४ करोड विनियोजन गरिएको पनि जानकारी दिए।
सुरक्षा व्यवस्थालाई प्रविधि मैत्री बनाउने योजना सुनाएका गृहमन्त्री थापाले मोलबाइल एप्स निर्माण भइरहेको बताए।
त्यसैगरी सीमा सुरक्षा र सीमा स्तम्भका सम्बन्धमा नेपाल सरकार र छिमेकी भारत र चीनका अधिकारीबीच समन्वय गरिरहेको बताएका थिए।
मुलुकभर नयाँ प्रहरी चौकी स्थापनाको माग आइरहेको बताएका गृहमन्त्रीले आवश्यकता र जनताको मागका आधारमा सुरक्षा चौकी विस्तार गरिने योजना रहेको बताए।
नयाँ डाटा सेन्टर स्थापना, समग्र अध्यागमन सुधार, कारगार सुधारका योजना रहेको गृहमन्त्री थापाले जानकारी दिए। त्यसैगरी राष्ट्रिय परिचयपत्र वितरण गरेर सबै नेपालीको सूचना प्रणाली एकीकृत गर्ने कार्यक्रमका लागि पनि यथेस्ट रकम विनियोजन गरिएको उनले जानकारी दिए।
गृहमन्त्रीलाई कांग्रेस सांसद डिला संग्रौला पन्त, दिलेन्द्रप्रसाद बडू, रामबहादुर विष्ट र सांसद रेनुका गुरुङले निर्मलाका दोषी पत्ता नलागेको, सुन तस्करी, कुमार पौडेलको मृत्यु, दार्चुलामा दम्पतिको हत्या र सीमानामा सुरक्षाकर्मीलाई अत्याधुनिक हतियार दिनेबारे गृहमन्त्रीको जवाफ माग गरेका थिए।
जवाफमा गृहमन्त्री थापाले निर्मला पन्तको हत्यारालाई खोज्ने क्रम जारी रहेको बताएका थिए। उनले भने, 'निर्मला पन्तको हत्यारालाई कानुनको कठघरामा ल्याउनका लागि अनुसन्धान जारी रहेको छ।'
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका सप्तरी इन्चार्ज कुमार पौडेलको प्रहरीसँगको मुटभेडमा मारिएकोबारे छानबिन हुने बताएका उनले सुन तस्करीको जालो तोडिएको जवाफ दिए।
त्यसै गरी भ्रष्टाचारको विरोधी भनिएका ज्ञानेन्द्र शाहीलाई पक्राउ गरेकोबारे सोधिएको प्रश्नमा कानुनअनुसार गरिएको गृहमन्त्रीको जवाफ थियो। शाहीले निराधार आरोप लगाएको उजुरी परेपछि पक्राउ गरिएको गृहमन्त्रीले जवाफ दिएका थिए।
नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अत्याधुनिक उपकरण दिने योजना रहेको गृहमन्त्रीले जानकारी दिए। उनले भने, 'प्रहरीलाई उपकरण दिने र आधुनीकिकरण गर्ने योजना ल्याउँदै छौँ। आधुनिक प्रहरी संगठन बनाउने योजना रहेको छ।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।